जगदुल्ला ‘ए’ मा अर्को उपलब्धि

सुर्खेत: डोल्पास्थित जगदुल्ला– ‘ए’ जलविद्युत आयोजनाका लागि ग्रिड जडान सम्झौता भएको छ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग ग्रिड कनेक्सन एग्रिमेन्ट (जीसीए) गरेको हो ।

यो सम्झौतासँगै आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने औपचारिक प्रक्रिया अघि बढेको हो । जलदुल्ला ‘ए’ एक सय २४ मेगावाट क्षमताको आयोजना हो । कम्पनीका अनुसार यस सम्झौताले आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय ऊर्जा सुरक्षामा योगदान पु¥याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । जगदुल्ला– ‘ए’ आयोजना कम्पनीले निर्माण गरिरहेको एक सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनाको सेमी–क्यासकेड परियोजना हो ।

माथिल्लो आयोजनाको टेलरेस सुरुङबाट निस्कने पानीलाई पुनः प्रयोग गरेर विद्युत उत्पादन गरिने भएकाले नयाँ हेडवक्र्स निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन । यसले लागत तथा निर्माण समय दुवैमा दक्षता हासिल गर्ने अपेक्षा गरिएको छ । आयोजनाको विस्तृत अध्ययन सम्पन्न भइसकेको छ । प्रस्तावित आयोजना डोल्पाको मुड्केचुला गाउँपालिका र जाजरकोटको नलगाड नगरपालिकामा पर्नेछ । मुड्केचुला गाउँपालिका–१, २, ३ र ४ तथा नलगाड नगरपालिका–१३ आयोजना प्रभावित मुख्य क्षेत्र हुन् ।

विद्युत उत्पादनसँगै आयोजनाले स्थानीय पूर्वाधार निर्माणलाई पनि समान प्राथमिकता दिएको छ । जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई आंशिक–जलाशय आयोजना विकास गरिरहेको कम्पनीले आफ्नै लगानीमा भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल निर्माण गरिसकेको छ । त्रिवेणी–मुड्केचुला–जगदुल्ला सडकखण्डको कठिन भिर छिचोलेर सडक निर्माण गर्नुका साथै पहुँच मार्गमा १० वटा बेली ब्रिजसमेत निर्माण भइसकेका छन् ।

प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार यी संरचनाले आयोजना मात्र नभइ स्थानीय समुदायको दैनिक जीवनमा समेत प्रत्यक्ष परिवर्तन ल्याएका छन् । ‘करोडौँ रूपैयाँमा निर्मित यी संरचनाले आयोजनालाई मात्र नभइ स्थानीय बासिन्दालाई समेत प्रत्यक्ष लाभ पुर्याइरहेका छन्,’ उनले भने, ‘विगतमा घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यतालाई हटाउँदै यातायातको पहुँच सहज बनाएका छन् ।’

केही वर्षअघिसम्म सुर्खेतबाट डोल्पा पुग्न तीन दिनभन्दा बढी समय लाग्थ्यो भने वर्षायाममा आवागमन प्रायः ठप्प हुने अवस्था थियो । अहिले भने एकै दिनमा यात्रा सम्भव हुने अवस्था बनेको कम्पनीको दाबी छ । आयोजनाले निर्माण गरेका सडक र पुलकै कारण डोल्पाको सदरमुकाम दुनैबाट काठमाडौंसम्म रात्रिबस सञ्चालन हुने वातावरणसमेत तयार भएको छ ।

कार्यकारी अधिकृत सापकोटाका अनुसार सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा कम्पनीले जगदुल्लाबाट १०६ मेगावाट र जगदुल्ला– ‘ए’ बाट १२४.३५ मेगावाट गरी कुल २३०.३५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । हाल १०६ मेगावाट क्षमताको जगदुल्ला आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा अधिग्रहण, विद्युत खरिद सम्झौता (पिपिए), वित्तीय व्यवस्थापन, उत्पादन अनुमतिपत्र प्राप्त भइ आयोजनाको मुख्य सुरुङ निर्माणसमेत सुरु भइसकेको छ । मुडकेचुला गाउँपालिका–४ इलमा आयोजनाको मख्य सुरुङमार्ग (टनेल) निर्माणको काम सुरु भएको हो ।

मुख्य निर्माण कम्पनीसँग २६ साउन २०८२ मा सम्झौता भएपछि भौतिक निर्माण कार्य अघि बढेको थियो । यस्तै, १२४.३५ मेगावाट क्षमताको जगदुल्ला–‘ए’ आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न भइसकेको छ । वातावरणीय अध्ययन, जग्गा अधिग्रहण, पिपिए, वित्तीय व्यवस्थापन तथा अनुमतिपत्र सम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनासम्बन्धी सर्वेक्षण, डिजाइन तथा लागत अनुमान नेपाल विद्युत प्राधिकरणको परामर्शदाता एनइए इन्जिनियरिङ कम्पनीमार्फत नेपाली इन्जिनियरहरूले नै तयार गरेका हुन् । आयोजनाको कुल लागत २३ अर्ब रूपैयाँ रहेको छ । करिब १६ अर्ब ६६ करोड रूपैयाँ ऋण लगानी स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ ।

प्रकाशित मितिः   २१ श्रावण २०८३, बिहीबार १२:५२