सौर्य प्रणालीमार्फत उज्यालिए सडक
सुर्खेत: यतिबेला कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सडकमा रातको समयमा झिलिमिली देखिन्छ । वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सौर्य प्रणालीमार्फत बत्ती जडान गरिएसँगै उज्यालो देखिएको हो ।
वीरेन्द्रनगरमा सुरक्षित सडक अभियान अन्तर्गत मुख्य बजार क्षेत्र तथा राजमार्गमा सौर्य (सोलार) बत्ती जडान गर्ने काम धमाधम भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । जसमा करिब पाँच सयभन्दा बढी साना सोलार बत्ती र हाइमार्स लाइटहरू प्रयोगमा ल्याइएका छन् । विशेष गरेर धुलियाबिटदेखि बाङ्गेसिमलसम्म र भित्री गल्लीहरूमा बत्ती जडान गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । रातिको समयमा आवातजावत सहज बनाउन र सहरलाई सुरक्षित तथा वातावरणमैत्री बनाउने उद्देश्यले सौर्य प्रणालीमार्फत उज्यालो वीरेन्द्रनगरको अवधारणा ल्याएको उनको भनाइ छ ।
नगरपालिकाले वातावरणमैत्री ऊर्जा र सुरक्षित सहर निर्माण गर्ने अभियानअन्तर्गत रत्न राजमार्ग तथा बजार क्षेत्रमा अत्याधुनिक प्रविधिमा आधारित सोलार बत्ती जडानको कार्य थालेको हो । पहिलो चरणअन्तर्गत धुलियाबिटदेखि बसपार्कसम्म ९५ लाख ७६ हजार लागतमा एक सय ४३ सोलार बत्ती जडानको कार्य सकिएको नगरपालिकाका बरिष्ठ इन्जिनियर यज्ञबहादुर कार्कीले बताए । दोस्रो चरणअन्तर्गत बसपार्कदेखि मंगलगढी, यरी चौक, मुलपानी चौक, हिलेखाली चौक हुँदै रेडियो नेपालसम्म ९८ पोलमा सोलार बत्ती जडान गरिएको छ । कुल ८४ लाख लागतमा सौर्य बत्ती जडान गरिएको उनले जानकारी दिए ।
त्यस्तै, तेस्रो चरणअन्तर्गत धुलियाबिटदेखि सुब्बाकुना र रेडियो नेपालदेखि बाङ्गेसिमलसम्म १२० वटा सोलार प्रणाली जडान गरिएको इन्जिनियर कार्कीले बताए । इञ्जिनियर कार्कीका अनुसार जडान गरिएका सोलार प्रणाली अँध्यारोमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने अटो स्वीच प्रविधिमा आधारित छ । सोलार प्रणालीमा आधारित सडक बत्ती जडान पश्चात विद्युत खपत कम हुँदा यसले दीर्घकालीन रूपमा लागत घटाउने नगरपालिकाको विश्वास छ ।
नगरपालिकाले यस अघि वीरेन्द्रनगरका मुख्य चोकहरूमा हाइमार्स लाइट जडान गरिसकेको छ । सडक बत्ती जडान भएसँगै सडक दुर्घटना न्यूनिकरण, पैदल यात्रुहरूको सुरक्षा र बजार क्षेत्रको निगरानीमा सहयोग पुग्ने नगरप्रमुख ढकाललको विश्वास छ । त्यस्तै मंगलगढी चोकदेखि लाटीकोइली शिवमन्दिरसम्म ८५ वटा सडक बत्ती जडान गरिएको नगरपालिकाले जनाएको छ । सोलार बत्ती जडान गरिएको क्षेत्रमा अब सिसी क्यामेरा जडान, सडकको मर्मत सम्भार र सार्वजनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढाउने योजना रहेको नगरप्रमुख ढकालले बताइन् । नगरका अन्य क्षेत्रका सडकलाई उज्यालो बनाउने कार्यक्रम पनि अघि बढेको भन्दै उनले ‘उज्यालो सहर’ कार्यक्रमअन्तर्गत नगरका १२ वडामा करिब पाँच हजार बल्ब दिने योजना बनाएको सुनाइन् । वडा नम्बर १ देखि १२ का विभिन्न चोकलाई उज्यालो बनाउँने योजना मुताबिक विद्युत प्राधिकरणसँग सम्झौता गरेर पाँच हजार बल्ब दिने तयारी गरिएको उनले जानकारी दिइन् । उज्यालो नगरपालिकाको अभियानले नागरिक पनि उत्साहित बनेका छन् ।
यस्तै, सुर्खेतको वीरेन्द्रनगर बजारमा पहिलो पटक ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रचोकमा जोडिएको ट्राफिक बत्तीलाई सञ्चालनमा ल्याइएको हो । सवारी चाप र दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जडान गरिएको नगरपालिकाले जनाएको छ । वीरेन्द्रचोकबाट सुरुवात गरिएको ट्राफिक बत्ती अन्य क्षेत्रमा पनि विस्तार गरिने नगर प्रमुख मोहनमाया ढकालले जनाइन् । ट्राफिक लाइट सञ्चालनमा आएसँगैमुख्य सडकहरू व्यवस्थित भएको र पैदलयात्रीहरूको सुरक्षित र सहज बनाउन सहयोग पुगेको उनको भनाइ छ ।
प्रकाशित मितिः २० श्रावण २०८३, बुधबार ०५:०५
साझा बिसौनी ।