प्रदेशमा पनि अस्थिरता

कर्णालीले पायो पाँचौँ मुख्यमन्त्री

सुर्खेत: कर्णाली प्रदेश पनि अस्थिरताको सिकार भएको छ । संघीयता कार्यान्वयनसँगै बनेको प्रदेश सरकारले स्थायित्व पाउन सकेको छैन । छोटो समयमै नेतृत्व फेरबदल हुँदै आएको छ ।

पार्टी एकता र विभाजनदेखि सत्ता सहकार्यमा हुने फेरबदलले सरकार पनि बदलिने गरेको छ । २०७४ फागुन ३ गते तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट महेन्द्रबहादुर शाही कर्णालीको पहिलो मुख्यमन्त्री बनेका थिए । उनले सबैभन्दा बढी झण्डै चार वर्ष सरकारको नेतृत्व गरे ।

त्यसो त शाहीको ४४ महिने कार्यकाल पनि सहज अवस्थामा अघि बढेन । नेकपा (एमाले) को समर्थनसहित उनी मुख्यमन्त्री बनेका थिए । त्यसको तीन वर्षभित्रै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अप्ठ्यारोमा परेका शाहीले नेपाली कांग्रेससँग सहकार्य गरेर सत्ता जोगाए । शाहीको पद जोगाउन एमालेका चार जना प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ समेत गरेका थिए ।

प्रदेश सभाबाट विश्वासको मत लिँदा नेपाली कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिअनुसार २०७८ कार्तिकमा उनले पदबाट राजीनामा दिए । पाँच वर्षे कार्यकाल बिताउन पाएनन् । शाहीपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही कर्णालीको दोस्रो मुख्यमन्त्री भए । पहिलो कार्यकालमै कर्णालीले दुईजना मुख्यमन्त्री पायो ।

पहिलो कार्यकालदेखि नै अस्थिरताको सिकार बनेको कर्णाली प्रदेश सरकार दोस्रो कार्यकालमा पनि अस्थिरताबाटै गुज्रिएको छ । दोस्रो कार्यकालको चार वर्षमा कर्णालीले थप तीन जना मुख्यमन्त्री पाएको छ ।

२०७९ मा भएको निर्वाचनको नतिजापछि तत्कालिन माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री भए । त्यसपछि २०८१ चैत २७ गते नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल कर्णालीको चौँथो मुख्यमन्त्री भए । सुरुवातमा नेकपा (माओवादी केन्द्र) को समर्थनमा कँडेल मुख्यमन्त्री बनेका थिए । त्यसको केही महिनामै सत्ता गठबन्धन बदलिएपछि कांग्रेसको समर्थनमा कँडेल मुख्यमन्त्रीमा पुनः अनुमोदित भएका थिए ।

सत्ता साझेदार कांग्रेसले नेकपासँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री कँडेलले केही दिनअघि मात्रै पदबाट राजीनामा दिएका थिए । एमाले र नेकपाका केन्द्रीय नेतृत्वबीच प्रदेशमा सहकार्य गर्ने सहमति बनेपछि मंगलवार मात्रै कर्णाली प्रदेशले पाँचौँ मुख्यमन्त्री पाएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका छन् । नेकपा र नेकपा (एमाले)बीच सत्ता सहकार्यको सहमति भएपछि उनी मुख्यमन्त्री बनेका हुन् । शाहीले नेकपाका १४ र एमालेको १० सांसदको समर्थनसहित मंगलवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि मंगलवार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए । संविधानको धारा १६८ (२) अनुसार प्रदेश जोशीले बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई सरकार गठनका लागि आह्वान गरेका थिए । सोहीअनुसार दाबी पेस भएसँगै प्रदेश प्रमुख जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

२०७९ मा भएको प्रदेशसभाको निर्वाचनमा शाही मुगुको प्रदेशसभा क्षेत्र नं. २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको गठबन्धनको सहयोगमा विजयी भएका थिए । उनले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् । कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका शाही अहिले एमालेकै समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित मितिः   १३ श्रावण २०८३, बुधबार १३:४६