खाना पकाउने ग्यासमा कालोबजारी ?
सुर्खेत: नेपाल आयल निगम सुर्खेतका अनुसार जिल्लामा पर्याप्त मात्रामा खाना पकाउने ग्यास (एलपी) आपूर्ति भइरहेको छ । तर आम उपभोक्ताले भने घण्टौं लाइन बस्दा पनि एक सिलिण्डर ग्यास पाउन सकिरहेका छैनन् । पछिल्ला केही दिनयता वीरेन्द्रनगरमा ग्यास बिक्री हुने पसलहरूमा उपभोक्ताको लामो लाइन देखिन्छ । ग्यासका लागि बिहान २ बजेदेखि नै उपभोक्ताहरू खाली सिलिण्डर बोकेर पसलहरूमा पुग्ने गरेका छन् । त्यसमध्ये केहीले पाउँछन्, केही भने रित्तै फर्किन बाध्य छन् ।
आयल निगमले पर्याप्त मात्रामा आपूर्ति भइरहेको दाबी गर्ने तर उपभोक्ताले सहज रूपमा नपाउने अवस्था बनेपछि सुर्खेतमा खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको आशंका गरिएको छ । कतिपय उपभोक्ताहरूले समेत निर्धारित मूल्यभन्दा बढी मूल्य तिरेर ग्यास खरिद गरेको समेत बताएका छन् । जसले ग्यासमा कालोबजारीको शंकालाई थप मलजल गरेको छ ।
१४.२ केजीको ग्यासको तोकिएको खुद्रा मूल्य दुई हजार ६० रूपैयाँ छ । तर दुई हजार चार सय वा दुई हजार पाँच सय रूपैयाँ तिर्नु परेको गुनासो उपभोक्ताहरूले गरेका छन् । एकातर्फ ग्यासका लागि रातिदेखि लाइन लाग्नुपर्ने अवस्था छ । अर्कोतर्फ बढी मूल्य तिरेर ग्यास उपलब्ध भइरहेको छ । तर सम्बन्धित निकायले यसको उचित अनुगमन, निरिक्षण र नियन्त्रण गर्न सकेका छैनन् ।
नागरिक दबाबपछि बिहीवार ग्यास बिक्रेता पसलहरूमा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र नेपाल आयल निगम सुर्खेतको संयुक्त टोलीले सुर्खेतका एलपीजी ग्यासका डिलर, डिपो तथा वितरक पसलहरूमा अनुगमन गरेको हो । बजारमा एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्ने गुनासो आएपछि आपूर्ति, मौज्दात र वितरण अवस्थाको स्थलगत निरिक्षण गरिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जनाए ।
सम्बन्धित निकायलाई बजार अनुगमनमा निस्कनका लागि भने नागरिक दबाब परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुदिप पुरीसहितका युवाहरूले बिहीवार आयल निगम र प्रशासनमा पुगेर ग्यासमा भइरहेको कालोबजारी र उपभोक्ताले पाइरहेको सास्तीका बारेमा ध्यानाकर्षण गराएका थिए । नागरिकहरूले घण्टौ लाइन लाग्दा पनि ग्यास नपाइरहेको देखेपछि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको पुरीले बताए । ‘ग्यास आइरहेको छ तर उपभोक्ताले पाइरहेका छैनन्’ उनले भने, ‘तोकिएको भन्दा बढी मूल्य तिरेपछि सहजै ग्यास पाइने अवस्था देखिएपछि कालोबजारी भइरहेको अनुमान गर्न सकिन्छ । त्यसैले अनुगमन गरेर कालोबजारी रोक्न र नागरिकलाई सहज रूपमा ग्यास उपलब्ध गराउन दबाब दिएका हौँ ।’ उनीहरूको दबाबपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
यसैबीच आयल निगमको सुर्खेत कार्यालयले भने ग्यास आपूर्तिमा कुनै अभाव नरहेको जनाएको छ । भारतबाट एलपी ग्यास आवश्यक परिमाणमा निरन्तर आयात भइरहेको र कुनै अभाव नरहेको भन्दै निगमले बजारको मागलाई सहज बनाउन दैनिक आयात परिमाणमा वृद्धि गरिएको समेत दाबी गरेको छ । अभाव हुन सक्ने मनोवैज्ञानिक त्रासका कारण उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सञ्चित गर्ने प्रवृत्ति बढेको पनि निगमले जनाएको छ । ‘आम उपभोक्ताहरूलाई तोकिएका अधिकृत बिक्रेताहरूबाट मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न हार्दिक अनुरोध गरिन्छ’ निगमले अनुरोध गरेको छ । कसैले तोकिएको मूल्यभन्दा बढी रकम लिएको पाइएमा, उपभोक्तालाई मौज्दात रहँदारहँदै नदिएमा वा अनाधिकृत संचित गरेको जानकारी प्राप्त हुना साथ स्थानीय प्रशासन वा नेपाल आयल निगमको कार्यालयमा सम्पर्क गर्न पनि अपिल गरिएको छ ।
निगमका अनुसार ‘एक व्यक्ति, एक सिलिन्डर’ को नियम लागू गर्दै शुक्रवार (आज) देखि अधिकृत बिक्रेताहरूमार्फत विभिन्न कम्पनीका कुल दुई हजार नौ सय २२ सिलिन्डर ग्यास बिक्री–वितरणको व्यवस्था मिलाइएको समेत जनाइएको छ । कार्यालयले पछिल्लो समय ग्यास आपूर्ति संख्या पनि बढाइएको बताएको छ । नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपक कुमार घिमिरेका अनुसार गत चैतमा २२ हजार सिलिण्डर ग्यास सुर्खेत भित्रिएको थियो । त्यसपछि वैशाखमा २६ हजार, जेठमा ३२ हजार, असारमा ३८ हजार आठ सय ७८ सिलिण्डर ग्यास आएको छ । उनले उपभोक्ताहरूलाई नआत्तिन र बढी मूल्य तिरेर ग्यास खरिद नगर्न समेत आग्रह गरे ।
प्रकाशित मितिः ८ श्रावण २०८३, शुक्रबार ०९:१२

साझा बिसौनी ।