बदलिएला ‘मृत्युमार्ग’को परिचय ?
- कर्णाली राजमार्ग अनुगमनमा मन्त्री लम्सालसहितको टोली
सुर्खेत: संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सडक निरिक्षरणका लागि कर्णाली आउनुभन्दा दुई साताअघि मात्रै कर्णाली राजमार्गमा अकल्पनीय दुर्घटना भएको थियो । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सडकबाट कर्णाली नदीमा खस्यो । यात्रुसहित नदीमा खसेको गाडी अहिलेसम्म फेला परेको छैन । त्यसमा सवार चार जनाको शव फेला परेको छ । एक जनाको अवस्था अझै अज्ञात छ ।
त्यसको ठीक दुई सातापछि पूर्वाधार विकासमन्त्री लम्साल कर्णालीका सडक अनुगमनमा निस्किएका छन् । शुक्रवार सुर्खेतबाट कर्णाली प्रवेश गरेका उनी जुम्ला पुगिसकेका छन् । उनले आइतवार जुम्लास्थित कर्णाली राजमार्ग, नाग्मगमगडी सडक र डोल्पा जोड्ने सडक अनुगमन गरे । गुठिचौर पाटनमा पुगेर उनले गोठालासँग भेटघाट समेत गरेका छन् । गोठालाहरूले पक्की सडक बनाइदिन आग्रह गर्दा मन्त्री लम्सालले ढुक्क रहन आश्वास समेत दिए । उनले गुठिचौरलाई सुन्दर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आकर्षणको केन्द्र बन्नेमा जोड दिए ।
मन्त्री लम्सालले जुम्लामा वर्षौंदेखि अलपत्र अवस्थामा रहेका भौतिक संरचनाको समेत प्रत्यक्ष अनुगमन गरेका छन् । मन्त्री लम्सालले भने, ‘कर्णालीको सबै जिल्लाको सबै सडकको अनुगमन हो । सबै सडकमा बजेट हालेको छ । हामीले हालेको बजेट पुग्यो कि पुगेन । बजेट थप गर्नुपर्छ कि भनेर कर्णालीका जिल्लाहरूमा आइपुगेका छौँ ।’ चुनौतीहरू पहिचान गरेर आगामी वर्षमा थप प्रभावकारी योजना बनाउने उनले बताए ।
जुम्लामा मन्त्री लम्सालले यसअघि खारेज भइसकेको संघीय खानेपानी कार्यालय फेरि स्थापना गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘संघीय खानेपानी कार्यालय आइसक्यो । केही दिनमै काम सुरु हुन्छ ।’ पानी पर्दै कर्णाली यात्रामा निस्किएकोले कर्णालीको दुःख प्रत्यक्ष रूपमा अनुभूत गर्ने मौका मिलेको मन्त्री लम्सालले बताए । ‘बर्खामै आइयो एकदम ठीक भयो । सडक हेर्दै कर्णालीको सास्ती भोग्दै पुगियो । अब योजना तर्जुमा गर्न सहज हुनेछ,’ मन्त्री लम्सालले भने ।
आफ्नो मन्त्रालय माताहतका कार्यालयहरूको अवस्था अवलोकन गर्नुका साथै सेवाग्राहीका समस्या समेत सुनेका थिए । अनुगमनका क्रममा उनलाई सबैजसो स्थानीयबासीले कर्णाली राजमार्गको स्तरोन्नति गर्न माग गर्दै स्याउको माला समेत लगाइदिएका थिए । उनीहरूले बर्खाले कर्णाली राजमार्गमा निरन्तर पहिरो जाने भएकोले स्याउको निर्यातमा असहज हुने भन्दै दुई लेनको पक्की सडक बनाइदिन समेत माग गरेका थिए । उनी मुगु हुँदै हुम्लासम्म पुगेर फर्किन कार्यतालिका छ ।
मन्त्री लम्सालको कर्णाली भ्रमणको मुख्य उद्देश्य यहाँका सडक पूर्वाधारको स्थलगत निरिक्षण गर्नु हो । ‘मृत्युमार्ग’ को पहिचान बनाएको कर्णाली राजमार्गको सुधार र स्तरोन्नतिका लागि उनी आफै अनुगमनमा आएका हुन् । कर्णाली राजमार्गमा बर्सेनि हुने सडक दुर्घटनाले सम्भवतः मन्त्री लम्साललाई पनि झस्काएको हुनुपर्दछ । त्यसैले पनि केही दिनअघि प्रतिनिधिसभाको बैठकबाटै उनले कर्णाली राजमार्गको सुधारको योजना घोषणा गरेका थिए ।
पछिल्ला केही वर्षको तथ्यांक मात्रै हेर्ने हो भने पनि कर्णालीमा सडक दुर्घटनाको अवस्था भयावह देखिन्छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा एक हजार चार सय ४५ सडक दुर्घटना भएका थिए, जसमा एक सय १२ जनाले ज्यान गुमाएका छन् । दुई हजार ७७ जना घाइते भएका छन् ।
त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ४० सडक दुर्घटना हुँदा एक सय ३९ जनाको मृत्यु भएको थियो । दुई हजार आठ जना गम्भीर घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/०८३ मा पनि प्रदेशभर एक हजार पाँच सयभन्दा बढी सडक दुर्घटना भएका छन् । जसमा एक सय ३२ जनाले ज्यान गुमाउँदा दुई हजार दुई सय ८१ जना सामान्यदेखि गम्भीर घाइते भएको प्रहरीको तथ्यांकले देखाउँछ ।
प्रकाशित मितिः ४ श्रावण २०८३, सोमबार ०५:०५

साझा बिसौनी ।