बृहत् सडक योजना

कर्णाली प्रदेश पूर्वाधार विकासमा पछाडि छ । अन्य प्रदेशको तुलनामा कर्णालीमा निकै कम पूर्वाधार विकास भएको छ । त्यसमाथि सडकको पहुँच नै पर्याप्त छैन । बनाइएका सडकले पनि सुविधाका साथसाथै समस्या पनि निम्त्याइरहेका छन् । समयमै सुधार र स्तरोन्नति हुन नसक्दा सहज यातायात सुविधाका लागि बनाइएका सडक नागरिकको ज्यान लिने बाटो बनेका छन् । यहाँका प्रमुख राजमार्गहरू नै स्तरोन्नति हुन सकेका छैनन् । त्यसमाथि बर्सेनि सडक दुर्घटनाबाट धेरै कर्णालीबासीको ज्यान जाने गरेको छ । दुर्घटनाको संख्या यति भयावह छ कि कर्णाली राजमार्गलाई ‘दुर्घटनामार्ग’ वा ‘मृत्युमार्ग’ समेत भन्ने गरिएको छ । यसले कर्णालीका सडक मार्गको अवस्था दर्शाउँछ ।

कर्णालीका सडक वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा छन् । कर्णाली राजमार्ग, भेरी करिडोर, कर्णाली करिडोरलगायतका प्रमुख सडकमार्ग नै जीर्ण अवस्थामा छन् । ुधारका लागि बर्सेनि बजेट विनियोजन भएपनि पर्याप्त भएको छैन । यद्यपि, पछिल्लो समय प्रदेश र संघीय सरकारले समेत कर्णालीका सडक स्तरोन्नतिको योजना अघि सारेका छन् । प्रदेश सरकारले सुरुवातदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको छ । संघीय सरकारले पनि कर्णालीको सडक सुधारका लागि प्राथमिकतामा राख्न थालेको छ । अहिलेको संघीय सरकारले पनि कर्णालीको सडक स्तरोन्नतिको योजनालाई प्राथमिकता दिएको छ । सोहीअनुसार संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशका प्रमुख सडकको अनुगमनमा निस्किएका छन् । मन्त्री लम्सालले गत असार ४ गते बसेको प्रतिनिधिसभा बैठकमा अबको तीन वर्षपछि कर्णालीका जिल्ला र पालिका जोड्ने सडकलाई डबल लेनमा विस्तार गर्ने घोषणा गरेका थिए । सोही घोषणा कार्यान्वयनका लागि मन्त्री लम्साल आफै स्थलगत अनुगमनमा निस्किएका हुन् । त्यतिबेलै उनले कर्णालीका सडकको स्थलगत अनुगमन गर्ने घोषणा समेत गरेका थिए ।

मृत्युमार्गको पहिचान बनाएको साविक कर्णालीका केही जिल्ला जोड्ने कर्णाली राजमार्गको अवस्था हालसम्म दयनीय छ । हरेक वर्ष टुक्रे बजेट विनियोजन हुँदा सडक सुधार र स्तरोन्नतिको काम हुन सकेको छैन । हुन त अहिले पनि नयाँ सडक निर्माण, पुरानाको स्तरोन्नतिका लागि काम नभएको होइन । हरेक वर्ष सरकारले बजेट छुट्याएर काम भइरहेको छ । तर त्यो पर्याप्त छैन । त्यसमाथि भौगोलिक रूपमा विकट पहाडी र हिमाली क्षेत्रका सडकमा सुरक्षाका लागि थप उपाय अबलम्बन गरिएको छैन । जसले गर्दा बर्सेनि ठूलो संख्यामा सडक दुर्घटना हुने गरेको छ । यो अवस्थामा सुधार ल्याउनका लागि पनि तीनै तहका सरकारले संयुक्त रूपमा कर्णालीका सडक स्तरोन्नतिको बृहत् योजना बनाएर कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   ३ श्रावण २०८३, आईतवार ०५:०३