संकटमा कँडेल सरकार

अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस–नेकपा तालमेल

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले मुख्यमन्त्री कँडेलविरुद्ध बिहीवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

पूर्वसहमतिअनुसार नेतृत्व छोड्न नमानेपछि कँडेल नेतृत्वको प्रदेश सरकार संकटमा परेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेसकै नेतृत्वमा कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । कांग्रेसले साथ छोडेपछि कँडेल संकटमा परेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १० जना सांसद, नेपाली कांग्रेसका पाँच जना र राजकुमार शर्मासहितले हस्ताक्षर गरेर कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेपालको संविधानको धारा १८८ को उपधारा ४ र ५ बमोजिम यो प्रस्ताव दर्ता गरिएको नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

नेकपा (एमाले) संसदीय दलका नेता कँडेल २०८१ मा मुख्यमन्त्री हुँदा दुई दलबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार कँडेलले सरकारको नेतृत्व छोडेर कांग्रेसलाई हस्तान्तरण गर्नुपर्नेमा नगरेपछि कांग्रेस बुधवार मात्रै सरकारबाट बाहिरिएको थियो । कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका थिए । त्यसपछि बिहीवार कांग्रेस र नेकपाका सांसदले मुख्यमन्त्री कँडेलको विरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।

पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको विषयमा मतभेद देखिएको थियो । अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस चिढिएको हो । कांग्रेस सरकारको नेतृत्व हस्तान्तरण गर्न एमालेलाई आग्रह गर्दै आएको थियो । तर मुख्यमन्त्री यामलाल कँडेल तत्काल सरकार छोड्न तयार नभएपछि सरकारबाट बाहिरिएर अविश्वासको प्रस्ताव ल्याइएको कांग्रेस नेताहरूको भनाइ छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा (४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०७९ नियम १५२ को उपनियम (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गरिएको हो । यसका साथै नयाँ मुख्यमन्त्रीको रूपमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ । ‘संविधानको धारा १८८ को उपधारा (५) बमोजिम कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि कर्णाली प्रदेशसभाका माननीय सदस्य श्री जीवनबहादुर शाहीलाई प्रस्तावित गर्दछौँ’ अविश्वास प्रस्तावमा भनिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदमा नेकपाका तर्फबाट दलका नेता मंगलबहादुर शाही, कृष्णबहादुर जिसी, उर्मिला विश्वकर्मा, कल्याणी खड्का, झुम्कीत लामा, वीरबहादुर शाही, भिम प्रकाश शर्मा, महेन्द्र केसी, मिलन खड्का रोका र रणसिंह परियार छन् । कांग्रेसका तर्फबाट हिक्मतबहादुर विष्ट, वेदराज सिंह, सुरेश अधिकारी, विजया बुढा र कृष्ण कुमार विसी रहेका छन् । यस्तै, दलविहीन अवस्थामा रहेका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा पनि सामेल भएका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने उक्त प्रस्तावमा हस्ताक्षर गरेका छैनन् ।

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनबारे कांग्रेस र नेकपाबीच आन्तरिक सहमति जुटेको छ । जसको नेतृत्व कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्नेछन् । यो सहमति कार्यान्वयन भएमा शाही दोस्रो पटक कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्नेछन् ।

पछिल्लो समय सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीच बढेको तिक्तताले फेरि प्रदेश सरकारहरूमा उथलपुथल हुने संकेत देखिएको छ । कांग्रेसले बुधवार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले गरेको सहमति तोड्ने अनौपचारिक निर्णय गरिसकेको छ । कर्णालीसहित अन्य प्रदेशमा पनि कांग्रेस–एमाले सहकार्य टुट्ने देखिएको छ ।

प्रकाशित मितिः   १ श्रावण २०८३, शुक्रबार ०९:३७