२० अर्ब बजेट कार्यान्वयन
सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब ६२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । यो वर्षका लागि कूल ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये २० अर्ब ५७ करोड १२ लाख रूपैयाँ मात्र खर्च गरेको छ ।
गत वर्षको तुलनामा यो वर्ष बजेट खर्च केही कम भएको छ । गत वर्ष ६४.१८ प्रतिशत खर्च भएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष चालुतर्फ ७३.४८ प्रतिशत खर्च भएको छ । १२ अर्ब ५९ करोड चालु बजेटमध्ये नौ अर्ब २५ करोड कार्यान्वयन भएको छ ।
त्यसैगरी पुँजीगततर्फ १९ अर्ब ९८ करोडमध्ये ११ अर्ब १३ करोड रूपैयाँ खर्च गरिएको देखिएको छ । वित्तीय व्यवस्थातर्फ ६१ करोड ५० लाख बजेटमध्ये १७ करोड ७५ लाख खर्च भएको छ । मन्त्रालयगत रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा धेरै ९३.६७ प्रतिशत बजेट कार्यान्वयन गर्दा सबैभन्दा कम भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ४९.२० प्रतिशत रकम खर्च गरेको छ । गत मंसिरदेखि आन्तरिक मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गाभिएको छ । भौतिक पूर्वाधारमा सबैभन्दा धेरै ११ अर्ब एक करोड २१ लाख रूपैयाँ बजेट छुट्याइएको थियो । त्यसमध्ये पाँच अर्ब ४१ करोड रूपैयाँ मात्र खर्च भएको छ ।
प्रकाशित मितिः ३२ असार २०८३, बिहीबार १२:३६
साझा बिसौनी ।