निर्देशनालयको नाम हेरफेर

सुर्खेत: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी व्यवस्थापन परीक्षण निर्देशिका २०८३ स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

प्रदेश सरकारअन्तर्गत रहेका निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने निर्णय पनि भएको छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई थप जिम्मेवारीसहित कामकाजमा खटाउने निर्णय सरकारले गरेको उनले बताए ।

कर्णाली प्रदेश बीउ बिजन नियमावली, २०८३ स्वीकृत गर्ने र सडक मर्मतसम्भार निर्देशिका, २०८३ पनि मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए ।

प्रकाशित मितिः   ३२ असार २०८३, बिहीबार १९:१९