कांग्रेस–एमाले गठबन्धनमा खटपट
सुर्खेत: कर्णाली प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सत्ता साझेदारी संकटमा परेको छ । गठबन्धनमा खटपट सिर्जना भएपछि नेपाली कांग्रेस सरकारबाट बाहिरिएको छ । कांग्रेसबाट सरकारमा सहभागी चार जना मन्त्रीले सामुहिक राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बुधवार बिहान संयुक्त रूपमा राजीनामा दिएका हुन् । कांग्रेस–एमाले गठबन्धनले सरकार बनाएपछि उनीहरू २०८१ साउनमा मन्त्री बनेका थिए ।
पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको विषयमा मतभेद देखिएको थियो । अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस चिढिएको हो । कांग्रेस सरकारको नेतृत्व हस्तान्तरण गर्न एमालेलाई आग्रह गर्दै आएको थियो । तर मुख्यमन्त्री यामलाल कँडेल तत्काल सरकार छोड्न तयार नभएपछि राजीनामा दिनु परेको कांग्रेस नेताहरूको भनाइ छ । मन्त्रीहरूले राजीनामा दिएपनि कांग्रेसले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । त्यसैले पनि सरकार परिवर्तनका लागि दबाब सिर्जना गर्न राजीनामा दिएको बताइएको छ ।
नेताहरूका अनुसार कांग्रेसका मन्त्रीको राजीनामा एक्कासी आएको होइन । ‘पूर्वप्रतिबद्धताअनुरूप नै उहाँहरूको राजीनामा आएको हो,’ कांग्रेसका एक सांसदले भने, ‘बजेट ल्याइनुभन्दापूर्व नै राजीनामा गर्न भनिएको थियो । तर उहाँहरूले बजेट ल्याउन दिनुहोस् अनि राजीनामा दिउँला भन्नुभएको थियो ।’ पूर्वप्रतिवद्धताअनुरूप नै कांग्रेस मन्त्रीको राजीनामा आएको ती सांसदले बताए । आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउनुअघि नै कांग्रेसबाट सरकारमा सहभागी मन्त्री हटाइनुपर्ने र नयाँ पठाइनुपर्ने चर्चा दलभित्र उठेको थियो ।
सहकार्य टुटेको हो ?
मन्त्रीहरूको राजीनामासँगै कर्णालीमा कांग्रेस–एमाले गठबन्धन टुटेको चर्चा गरिएको छ । यद्यपि, अहिलेसम्म दुवै दलका नेताहरूले सहकार्य कायमै रहेको बताएका छन् । त्यसो त मन्त्रीहरूले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने कांग्रेसले यथावत् नै राखेको छ ।
फेरि पनि कांग्रेससँग सहकार्य गरेर सरकार निर्माण गरिने एमालेले जनाएको छ । पूर्वसहमतिअनुसार कांग्रेससँग सहकार्य गरेर सरकार निर्माण हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । उनले अहिलेको पहिलो प्राथमिकता र आवश्यकता पनि यही नै भएको भन्दै सहमतिअनुसार सरकार निर्माण हुने जानकारी दिएका छन् । कांग्रेससँग छलफल गरेर अघि बढ्ने भन्दै उनले सरकार निर्माणमा कुनै पनि दुविधा नहुने बताए । ‘अन्य हिसाबले हेर्नुभन्दा पनि कांग्रेससँग सहकार्य गरेर अघि बढ्छाँै’ उनले भने, ‘पहिलो प्राथमिकता र आवश्यकता पनि त्यही हो, यसमा कुनै दुविधा छैन, कांग्रेस आफै भाग्न खोजे त के भन्नू र, अन्य कुरा सहमति छँदैछ ।’
नेपाली कांग्रेसले भने सबै विकल्प खुला रहेको संकेत गरेको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपनि तत्काल नयाँ मन्त्री सरकारमा नपठाइने बताए । उनले प्रदेशदेखि केन्द्रसम्मै छलफल भइरहेको भन्दै परिस्थिति अनुसार जुनसुकै विकल्पमा जान सकिने बताए । पूर्वसहमतिअनुसार एमालेले सरकारको नेतृत्व हस्तान्तरण गर्न आनाकानी गरेको शाहीको भनाइ छ ।
कांग्रेस मन्त्रीहरूको राजीनामापछि नयाँ सत्तासाझेदारीको चर्चा पनि चलेको छ । कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी मिलेर नयाँ सरकार बनाउन सक्ने विषय पनि अहिले चर्चामा छ । अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले पछिल्लो परिस्थितिका विषयमा आन्तरिक छलफल भइरहेको बताए । यद्यपि, सत्ता सहकार्यका लागि कांग्रेस वा एमालेसँग भने कुनै पनि छलफल नभएको भन्दै उनले यदि छलफल भएको खण्डमा सहकार्य हुनसक्ने संकेत पनि गरे ।
मुख्यमन्त्रीले आफैँसँग राखे मन्त्रालय
यसैबीच मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसका चार मन्त्रीले राजीनामा दिएसँगै उनीहरूले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राखेका छन् । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम सामाजिक विकास, आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राखेका हुन् ।
प्रकाशित मितिः ३२ असार २०८३, बिहीबार १२:३०

साझा बिसौनी ।