नौ दिनपछि चालकको शव फेला

सुर्खेत: कर्णाली नदीमा बेपत्ता गाडीका चालकको शव फेला परेको छ । दुर्घटना भएको नौ दिनपछि चालक तुलाराम सुवेदीको शव भेटिएको हो । उनको शव शनिवार बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको थियो ।

पञ्चपुरी नगरपालिका–८ माझिगाउँ निवासी सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन् । साङ्गेतडा घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।

असार १८ गते बिहीवार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो । यात्रुसहितको गाडी कर्णाली नदीमा खसेको हो । गाडीमा सवार पाँच जनामध्ये कालीकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको थियो ।

गाडीसँगै नदीमा बेपत्ता भएका कालीकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव गत सोमवार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो । कालीकोटकै रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जना खड्काको शव मंगलवार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।

अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । गाडी र यात्रुको खोजीका लागि तीन वटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता लगाउन सकेका छैनन् । गाडी राजमार्गबाट करिब चार मिटर तल कर्णाली नदीमा खसेको थियो ।

प्रकाशित मितिः   २८ असार २०८३, आईतवार ०५:०१