शैक्षिक सुधारको प्रतिबद्धता

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय (एमयू) का नवनियुक्त उपकुलपति डा. राजन सुवालले विश्वविद्यालयको गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलवार पदभार ग्रहण गर्दै उनले विश्वविद्यालयलाई सबै हिसाबले उत्कृष्ट बनाउने बताए । विश्वविद्यालयको शैक्षिक सुधार, अनुसन्धान विस्तार, संस्थागत सुदृढीकरण र प्रभावकारी व्यवस्थापनलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने बताएका छन् ।
यसअघि विभिन्न जिम्मेवारीमा रहेर प्राप्त गरेको अनुभवलाई विश्वविद्यालयको समग्र विकासमा प्रयोग गर्ने बताए । उनले विश्वविद्यालय केवल शैक्षिक गतिविधि सञ्चालन गर्ने संस्था मात्र नभइ ज्ञान उत्पादन, अनुसन्धान विकास र समाज रूपान्तरणको केन्द्र बन्नुपर्ने धारणा राखे । त्यसका लागि शैक्षिक गुणस्तर वृद्धि, अनुसन्धानका अवसर विस्तार, नयाँ प्रविधिको प्रयोग र संस्थागत क्षमता विकासमा विशेष ध्यान दिइने उनले बताए । प्रशासनिक सुधारसँगै शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउने, अनुसन्धानलाई प्राथमिकता दिने र विद्यार्थीमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त उपकुलपति सुवालले पदभार ग्रहण गरेसँगै निवर्तमान उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलको सम्मान तथा बिदाइ गरिएको छ । कार्यक्रममा बोल्दै पौडेलले विशेष परिस्थितिमा विश्वविद्यालयको नेतृत्व गर्ने जिम्मेवारी पाएको स्मरण गर्दै आफ्नो कार्यकालमा संस्थागत विकास, शैक्षिक गुणस्तर सुधार र विश्वविद्यालयको समग्र हितका लागि निरन्तर काम गरेको बताए । उनले विश्वविद्यालयको विकास एउटा निरन्तर प्रक्रिया भएको उल्लेख गर्दै आगामी दिनमा पनि विश्वविद्यालयको उन्नति र प्रगतिका लागि आफ्नो साथ, सहयोग र शुभेच्छा रहने बताए । साथै उनले नयाँ नेतृत्वले विश्वविद्यालयलाई थप गतिशील र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार सह–प्राध्यापक डा. अर्जुनबहादुर अयडीले स्वागत मन्तव्य व्यक्त गर्दै नवनियुक्त उपकुलपति डा. सुवाललाई सफल कार्यकालको शुभकामना दिए । उनले विश्वविद्यालयको विकासका लागि नयाँ नेतृत्वबाट सकारात्मक पहल हुने अपेक्षा व्यक्त गरे । स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विभिन्न संकायका डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, विभागीय प्रमुख तथा संयोजक, प्राध्यापक, कर्मचारी, विद्यार्थी र अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममार्फत विश्वविद्यालयको आगामी यात्रामा शैक्षिक उत्कृष्टता, अनुसन्धान प्रवद्र्धन र संस्थागत सुधारलाई केन्द्रमा राखेर अघि बढ्ने नयाँ नेतृत्वको प्राथमिकता सार्वजनिक गरिएको छ ।
प्रकाशित मितिः २४ असार २०८३, बुधबार १३:१९
साझा बिसौनी ।