विद्यालयमा ‘झोलाविहीन शुक्रवार’लाई निरन्तरता
सुर्खेत: कर्णाली प्रदेश सरकारले थालेको ‘झोलाविहीन शुक्रवार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ देखि कार्यक्रम सुरु गरिएको थियो । चालु आर्थिक वर्षमा पनि कार्यक्रम कार्यान्वयन भइरहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समेत कार्यक्रमलाई थप व्यवस्थित गर्ने योजना बनाएको छ । बजेट नीति तथा कार्यक्रममा समेटेर ‘झोलाविहीन शुक्रवार’ कार्यक्रमलाई निरन्तरता दिएको हो ।
आगामी आर्थिक वर्षमा कार्यक्रम कार्यान्वयन गर्न ३० लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बताए । सरकारले थप व्यवस्थित गरेर कार्यक्रम कार्यान्वयन गर्न लागेको हो । कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवन उपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रवार’ बनाउने नीति लिएको हो । पछिल्लो समय विद्यालयमा शुक्रवार विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गर्ने गरिएको छ । विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभइ सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यावहारिक शिक्षा दिन सुरु गरिएको प्रदेश सरकारले जनाएको छ । गत आर्थिक वर्ष २०८१/०८२ देखि कार्यक्रम सुरु गरिएको हो । कार्यक्रम प्रभावकारी मानिएपछि आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइएको छ ।
विद्यालयहरूमा हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्नेगरी योजना अघि सारिएको छ । हरेक हप्ताको शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई परीक्षणको रूपमा सञ्चालन गर्नेगरी कार्यक्रम सुरु गरिएको हो । गत वर्ष परीक्षणको रूपमा कार्यक्रम सुरु गरिएको थियो । उक्त वर्ष सुर्खेतका चार पालिकाका आठ वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । पञ्चपुरी, लेकवेशी र भेरीगंगा नगरपालिकाका एक/एक वटा र वीरेन्द्रनगर नगरपालिकाका पाँच वटा विद्यालयमा कार्यक्रम कार्यान्वयन गरिएको थियो । यो वर्षदेखि प्रदेशभर नै कार्यक्रम कार्यान्वयन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
बालबालिकाले दैनिक रूपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गर्नसक्ने र बनाउन पनि सिक्ने हुँदा दुनाटपरी बनाउने, घरमा प्रयोग हुने नाङ्लो बनाउने, घर लिपपोत गर्ने, विद्यालयमा सरसफाइ र प्लम्बिङसम्बन्धी ज्ञान दिने योजना अनुरूप कार्यक्रम कार्यान्वयन गरिने मन्त्रालयका महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउने प्रमुख लक्ष्य कार्यक्रमको छ । विद्यार्थीलाई कृषि तथा सहरी खेती, सौन्दर्यकला र कपाल शैली, काष्ठकला तथा नक्कासी, पाककला, फेसन डिजाइन तथा कपडा निर्माण, तार तथा बिजुली जडान, विपद् पूर्वतयारीका लागि भवन निर्माण, रैथाने कला, मोबाइल तथा विद्युतीय सामग्री, पाइप जडान तथा मर्मत र कला तथा मूर्तिकला लगायतका विषयमा विद्याहरूलाई व्यवहारिक ज्ञान सिकाइने नीति अबलम्वन गरिएको जनाइएको छ ।
कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरू सहभागी हुने छन् । जीवन उपयोगी सीपको आधारमा दिइने शिक्षाले शैक्षिक बेरोजगारी समस्या हट्ने र बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यवहारिक बन्न सक्दैनन् । एक दिन किताब बाहिरका विषयवस्तुका बारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, संगीत र साहित्यलगायतका अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रमले उनीहरूलाई किताबबाहिरको सीप र ज्ञान हासिल गर्न पनि मद्दत गर्ने गरेको अमरज्योति माध्यमिक विद्यालय नेवारेका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । कार्यक्रम निकै प्रभावकारी भएको भन्दै थप बजेट विनियोजन गरेर सबै विद्यालयमा लागू गर्न सके लाभदायी हुने उनको विश्वास छ । विद्यालय आफैले पनि उक्त कार्यक्रमलाई अनुशरण गरिरहेका छन् । सरकारले थालेको यो कार्यक्रम विद्यालयहरूले राम्रो अवसरकारको रूपमा समेत उपयोग गरिरहेको पाइएको छ ।
प्रकाशित मितिः २४ असार २०८३, बुधबार १३:१८
साझा बिसौनी ।