पाँचौ दिन पनि भेटिएन बेपत्ता यात्रुसहितको गाडी

सुर्खेत: कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी र त्यसमा सवार यात्रुको खोजीलाई तीव्र पारिएको छ । यद्यपि पाँचौँ दिनसम्म पनि गाडी र यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेताडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो ।

त्यसयता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् । तर कर्णाली नदीको तीव्र बहाव, गहिरो भंगालो र धमिलो पानीका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायले जनाएको छ ।

घटनास्थलदेखि सुर्खेत हुँदै बर्दियासम्म कर्णाली नदीका सम्भावित क्षेत्रमा पैदल गस्ती, रबर बोट, हेलिकोप्टर, ड्रोन र गोताखोर परिचालन गरेर खोजी अभियानलाई निरन्तरता दिइएको छ । नदीको बहावले गाडी बगाएको हुन सक्ने सम्भावित स्थानलाई समेत केन्द्रमा राखेर खोजी भइरहेको छ । सुरक्षा निकायले नदीको वहाब र मौसम अनुकूल भएसँगै खोजी अभियानलाई अझ तीव्र बनाइने जनाएको छ । दुर्घटनापछि बेपत्ता भएका गाडी र यात्रुको अवस्था अझै खुल्न सकेको छैन ।

यसैबीच कर्णाली नदी अन्तर्गत कैलाली क्षेत्रमा दुई वटा शव भेटिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीका अनुसार, भेटिएका शवमध्ये एक जना १७–१८ वर्षको महिला र ३०–३५ वर्ष उमेर समूहको पुरुष रहेका छन् । यद्यपि पहिचान र सनाखत हुन भने बाँकी छ । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका—६, सुङ्गरखालको कर्णाली नदी क्षेत्रमा भेटिएको हो भने महिलाको शव चिसापानीको गोरुङ्गे क्षेत्रमा भएको घर्तीले बताए ।

प्रकाशित मितिः   २३ असार २०८३, मंगलवार १३:१८