यात्रुसहितको गाडी कर्णालीमा बेपत्ता
सुर्खेत: कर्णाली राजमार्गमा दुर्घटना हुँदा यात्रुसहितको गाडी बेपत्ता भएको छ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीवार बिहान ११ बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडामा अनियन्त्रित भइ सडकबाट कर्णाली नदीमा खसेको थियो ।
दुर्घटना भएको खबर पाउनासाथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको थियो । दुर्घटनास्थलबाट करिब चार सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव निकालिएको छ ।
बिहीवार राति यो समाचार तयार पार्दासम्म बेपत्ता गाडी तथा यात्रुको खोजी कार्यको लागि सशस्त्र प्रहरी बलको गोताखोर परिचालन भएको छ । तर फेला परेको छैन । सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट दिउँसो करिब १ः३५ बजे ६ जना गोताखोर सहितको थप टोली परिचालन गरिएको प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए ।
वर्षाका कारण नदी बढ्नुका साथै पानी धमिलो हुँदा उद्धार कार्यमा कठिनाइ भएको छ । नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेसका जनशक्ति संयुक्त रूपमा घटनास्थलमा खटिएका छन् । सुर्खेत बसपार्कबाट बिहान ८ बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने यकीन भएको छैन ।
प्रकाशित मितिः १९ असार २०८३, शुक्रबार १०:२२
साझा बिसौनी ।