सुर्खेत र सल्यानबीच उपाधि प्रतिस्पर्धा

सुर्खेत: कर्णाली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुर्खेत र सल्यानबीच प्रतिस्पर्धा हुने भएको छ । बुधवार भएको सेमिफाइनलमा सुर्खेतले कालीकोट र सल्यानले रूकुम पश्चिमलाई हराउँदै फाइनल पुगेका हुन् ।

सुर्खेतले कालीकोटलाई एक सय १३ रनको फराकिलो अन्तरले पराजित ग¥यो । वीरेन्द्रनगर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुर्खेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८७ रन जोडेको थियो । निश्चल रावल ५९, आभाष शाहले ५१, प्रकाश जैसीले २६ र मनिष थापाले २३ रनको योगदान दिए । कालीकोटका लागि रमेश सिम्खडा र नवीन न्यौपानेले समान २/२ विकेट लिए ।

एक सय ८८ रनको लक्ष्य पछ्याएको कालीकोटको प्रदर्शन निकै कमजोर रह्यो । उसले ११.५ ओभरमा ७४ रन जोड्दा सबै विकेट गुमायो र फराकिलो हार बेहोर्न पुग्यो । कालीकोटका लागि रोशन शाहीले सर्वाधिक १२ रन बनाए । सुर्खेतको जीतमा कैलाश खड्काले उत्कृष्ट प्रदर्शन गरे । उनले ३.५ ओभरमा १३ रन खर्चेर सात विकेट लिए ।

यसैगरी बिहीवार नै कालुङचोक मैदानमा पहिला ब्याटिङ गरेको सल्यानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७३ रनको योगफल बनायो । जसमा दीपेन्द्र रावतले ७३ रन जोडे । दीवान पुनले २७ रन जोड्दा मोहन केसी र सूर्य सुनारले समान १७÷१७ रन बटुले । बलिङतर्फ रूकुम पश्चिमका प्रतिक गिरीले पाँच विकेट लिए । एक सय ७४ रनको लक्ष्य पछ्याएको रूकुम ९४ रनमा सिमित हुन पुग्यो । सल्यानका लागि चन्द्र बिसी, दिवान पुन र सन्दिप गन्धर्वले समान २÷२ विकेट लिए । ६९ रनको जित हात पार्दै सल्यान फाइन पुग्न सफल भयो । फाइनल खेल बिहीवार बिहान साढे ७ बजे वीरेन्द्रनगर मैदानमा हुने आयोजक कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिए ।

प्रकाशित मितिः   १८ असार २०८३, बिहीबार ११:३२