योजना कार्यान्वयन गर

सुर्खेत विमानस्थल विस्तारको विषय अझै अन्योलमा रहेको छ । साँघुरो धावनमार्गका कारण ठूला जहाज सञ्चालन गर्न नसकिने भएपछि हालको विमानस्थललाई स्तरोन्नति गर्ने योजना सरकारले अघि सारेको छ । तर विमानस्थल विस्तारको चर्चा चल्न थालेको भने लामै समय भइसकेको छ । पछिल्लो पटक हुने भनिएको विस्तारको योजनामा पनि विवाद नै बाधक बनेको छ । अहिले उक्त योजना नै अन्योलमा परेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र संयुक्त लगानीमा एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रीकालीन उडान गर्ने गरी विकास एवम् विस्तार गर्ने योजना बनाइएको थियो । योजनाअनुसार विमानस्थलको उत्तरतर्फ करिब ६ सय मिटर लम्बाई र दुई सय ४० मिटर चौडाई विस्तार गर्ने लक्ष्य थियो । उक्त योजना कार्यान्वयनका लागि करिब ३० विगाहा जमिन अधिग्रहण गर्नुपर्ने थियो । तर योजना कार्यान्वयनको सुरुवातमै विवाद निम्तिएपछि रोकियो ।

केही वर्षयता सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माणको विषय सरकारको हरेकजसो नीति तथा कार्यक्रम र बजेटमा समेत छुट्दैन । नीति तथा कार्यक्रम र बजेटमा आइरहने यो आयोजनाले अहिलेसम्म पूर्णता पाउन भने सकेको छैन । यद्यपि, संघीय सरकारको आगामी बजेटमा पनि प्रादेशिक विमानस्थलको विषयले स्थान पाएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्खेतमा प्रादेशिक विमानस्थल विकास गरिने जनाइएको छ । यता कर्णाली प्रदेश सरकारले पनि सुर्खेत विमानस्थल स्तरोन्नति र विकासका लागि संघीय सरकारसँग समन्वय र पहल गर्ने योजना आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेको छ । कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारका लागि पाँच करोड रूपैयाँ विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै संघीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार गरिने बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेत सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि सारेको थियो ।

हरेक वर्ष दीर्घकालीन आवश्यकता सम्बोधन गर्न प्रादेशिक विमानस्थल निर्माणको लागि संघीय सरकारसँग आवश्यक पहल गरिने योजना अघि सारिन्छ । तर, सुर्खेत विमानस्थल विस्तारको योजना अहिलेसम्म अघि बढ्न सकेको छैन । स्तरोन्नति गर्नुका साथै सुर्खेत विमानस्थलदेखि कर्णालीका अन्य जिल्लाहरूमा आन्तरिक उडान गर्ने कार्यक्रमसमेत घोषणामै सीमित हुँदैछ । संघीय र प्रदेश सरकारले आफ्नो योजनामा पारेर पनि समयमै कार्यान्वयन नगर्दा सुर्खेत विमानस्थल विस्तार हुन सकेको छैन । प्रदेश राजधानीको विमानस्थलको स्तरोन्नति अपरिहार्य भइसकेको छ । त्यसैले योजना कार्यान्वयनमा ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   १० असार २०८३, बुधबार ०५:०३