पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार
सुर्खेत: कर्णाली प्रदेश मुलुककै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर छिटफुटबाहेक ठूलो संख्यामा पर्यटक भित्र्याएर कर्णालीले लाभ उठाउन सकिरहेको छैन । आवश्यक पूर्वाधारको अभावदेखि प्रचार–प्रसारको कमीका कारण पर्यटन प्रवर्द्धन योजनाले सफलता पाएको छैन । पछिल्लो समय भने त्यसका लागि केही प्रयास भइरहेका छन् ।
कर्णाली प्रदेशका दशवटै जिल्लामध्ये सुर्खेत जिल्ला त्यसको लाभ लिइरहेको छ । विशेष गरेर वीरेन्द्रनगर नगरपालिकाले पर्यटन प्रवद्र्धनका योजना बनाएर सोही बमोजिम काम गरिरहेको छ । वीरेन्द्रनगरका प्रमुख पर्यटकीय गन्तव्यको सूचि नै निर्माण गरेर पर्यटन प्रवर्द्धनको काम गरिरहेको हो । पछिल्लो समय घण्टाघर, बुलबुले उद्यान, काँक्रेविहार, सहिद पार्कको अवलोकन गर्न विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् । सम्भावित पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गर्न लागिएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नागरिकको रोजाईमा परेका परेटकीय क्षेत्रको पहिचान गरेर पूर्वाधार निर्माणको काम थालिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । चालु आर्थिक वर्षमा पनि केही पूर्वाधार निर्माणका काम गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर समेत योजना कार्यान्वयन गरिने ढकालले जानकारी दिइन् ।
व्यवस्थित घण्टाघर
वीरेन्द्रनगरको घण्टाघर क्षेत्रलाई व्यवस्थित र विकसित बनाउने योजनासहित ‘ग्रेटर घण्टाघर’ निर्माणको काम धमाधम भइरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले विभिन्न संरचनासहितको ग्रेटर घण्टाघर योजना अघि सारेको हो । जसअन्तर्गत अहिले धमाधम संरचना निर्माणको काम भइरहेको नगरपालिकाका इन्जिनियर हरि केसीले बताए । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर पूर्वाधार निर्माणको काम थालिएको हो । कर्णालीका दश जिल्लाको सांस्कृतिक तथा पर्यटकीयस्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको नगरपालिकाले जनाएको । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ ।
ग्रेटर घण्टाघर बनाउन व्यवस्थित पार्क, फोरलेन सडक, पार्टी र अन्य कार्यका लागि सभाहल, पारिवारिक रूपमा बस्न पार्कलाई व्यवस्थापन गर्ने लक्ष्य राखेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि नै काम आरम्भ गरेको हो । घण्टाघर पार्कभित्र आकर्षक संरचना बनाइने छ । पश्चिमतर्फको खाली भागमा खुल्ला पार्क बनाइएको छ । त्यसबाहेकका अन्य काम पनि धमाधम भइरहेको छ । नेकपा (एमाले) सुर्खेतको पार्टी कार्यालयदेखि उत्तर–पूर्वमा यसअघि नगरपालिकाले खाली गराएको क्षेत्रमा मण्डलासहितको पार्क निर्माण गर्न लागिएको छ । अहिले मण्डला निर्माणको काम अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए ।
घण्टाघर पार्कलाई नगरपालिकाले संरक्षण र पर्यटकीय स्थल बनाउने उद्देश्यले प्राथमिकतामा राखेर अघि बढाएको छ । आर्थिक वर्ष २०७९/०८० मा घण्टाघरको पुरानो पर्खाल हटाएर नयाँ पर्खाल निर्माण गरिएको थियो । दुई चरणमा ठेक्का व्यवस्थापन गरेर निर्माण थालिएको घण्टाघरको उत्तर, पश्चिम र दक्षिणतर्फको काम ४० लाख ४७ हजार आठ सय १९ रूपैयाँ लागतमा अघिल्लो वर्ष सकिएको थियो । नगरपालिकाले विभिन्न आर्थिक वर्षमा ‘ग्रेटर घण्टाघर’ बनाउन बजेट विनियोजन गर्ने गरेको छ । घण्टाघर पार्कभित्र पब्लिक प्लाजा, विमोचनस्थल, योगा क्षेत्र, बाल उद्यानलगायतका संरचना निर्माण गर्न लागिएको छ । घण्टाघरदेखि पश्चिममा रहेकोस्थानमा हाल नगरपालिकाले खुला पार्क बनाइसकेको छ ।
बुलबुले क्षेत्र व्यवस्थापन
वीरेन्द्रनगर उपत्यकाभित्रको पानी व्यवस्थापनको उचित प्रबन्ध छैन । ढल तथा नदी नियन्त्रणका लागि पर्याप्त योजना र कार्यक्रम पनि छैनन् । यद्यपि, पछिल्लो समय यसका लागि केही प्रयास भने हुन थालेका छन् । प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत नदी नियन्त्रणको काम अघि बढाइएको छ । यो योजनाअन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवथापन गर्न लागिएको छ । ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएको छ । २०८२ चैत महिनादेखि सम्झौता गरेर नदी नियन्त्रणको काम सुरु गरिएको हो । १७ करोड १५ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ ।
यो योजनाअनुसार बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम गरिनेछ । बुलबुले तालबाट आएको पानीलाई बुलबुले तालको किनारबाटै काँक्रेविहार जंगलको किनारसम्म पु¥याउने गरी निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ । सम्झौता भइ काम सुरु गरेको दश दिन मात्र भएको छ । जथाभावी रूपमा बगिरहेको पानीलाई व्यवस्थापन गर्नका लागि योजना कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । पानी नियन्त्रण नहुँदा किसानले उत्पादन गर्ने खेतबारीमा समेत असर पर्नुका साथै बुलबुले आसपासका क्षेत्रका स्थानीयलाई समेत बस्तीमा पानी पस्दा समस्या हुने गरेको थियो ।
कर्णाली प्रदेश सरकारले विशेष गुरुयोजना निर्माण गरेर प्रदेश राजधानी संरक्षण योजना कार्यान्वयन गरेको हो । उक्त योजनाअन्तर्गत यो वर्ष एक किलोमिटर बुलबुले क्षेत्रको पानीमा पलम वाल निर्माणको काम गर्न लागिएको हो । बुलबुलेलाई थप सुन्दर बनाइ पर्यटन प्रवद्र्धन गर्ने योजनाअन्तर्गत ताल निर्माणको काम सुरु गरिएको छ ।
मानिसहरूलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि समेत यस योजनाले सहयोग पु¥याउनेछ । पैदल यात्रीले बुलबुलेदेखि काँक्रेविहारसम्म छिट्टै पुग्नेछन् । मानिसहरूको सहज आवातजावतका लागि उक्त क्षेत्रमा दुईवटा साना पुल निर्माण गरिने छ । यस्तै, नयाँ ताल निर्माणको काम धमाधम रूपमा भइरहेको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयनअन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ । यसले बुलबुले क्षेत्र व्यवस्थापनमा सघाउ पुग्नेछ ।
प्रकाशित मितिः ८ असार २०८३, सोमबार १२:०४

रजनी याेगी ।