विपद्को उच्च जोखिममा वीरेन्द्रनगर

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाले निर्माण गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनमा यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको औंल्याइएको हो । नगरमा १६ वटै वडामा रहेका २९ हजार दुई सय १६ घरधुरीमध्ये १७ हजार नौ सय ४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका हुन् ।

नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिमा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको छ । वडा नं. १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडाहरूमा बसोबास गर्ने एक हजार तीन सय ३५ घरधुरीमध्ये ६ सय ६७ घर पहिरोका कारण पूर्णक्षति हुन सक्ने प्रतिवेदनले औंल्याएको छ । ती वडाका ६ सय ६८ घरधुरीमा आंशिक क्षति पुग्न सक्ने अध्ययनले देखाएको छ ।

 

नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिमा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको छ ।

 

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलकाअनुसार १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । त्यस्तै, वडा नं. ९ र १० डुबानको उच्च जोखिममा रहेका छन् । बाढी र डुुबानबाट आंशिक र पूर्णरूपमा गरी एक हजार दुई सय बढी घरधुरी प्रभावित हुने देखिएको छ । वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ । नगरका दुई सय २५ घरधुरी आगलागीको जोखिममा छन् । नगरले तयार पारेको यो प्रतिवेदन विपद्को अनुमानित अवस्थाको अध्ययन भएको पौडेलले बताए । वीरेन्द्रनगर भुकम्पको समेत जोखिममा रहेको छ । भूकम्प गए यहाँका पाँच हजार आठ सय ४३ घरधुरी पूर्ण र १५ हजार एक सय ९२ घरधुरीमा आंशिक क्षति पुग्ने अनुमान गरिएको छ । जनसंख्यालाई आधार मान्दा ६२ प्रतिशत मानवस्रोत जोखिममा रहेको अनुमान गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो तथ्याङ्कअनुसार हाल नगरमा एक लाख १५ हजार बढीको बसोबास छ । नगरपालिकाले विभिन्न चरणमा गरेर विपद् प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । बढ्दो अव्यवस्थित बस्तीका कारण पनि वीरेन्द्रनगर विपद्को जोखिममा छ । प्रमुख ढकालले नगर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७६ को अधिकार क्षेत्रभित्र रहेर नगर विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको जानकारी दिइन् । यसैअनुरूप कार्यक्रम तथा बजेट निर्माणका साथै सम्भावित जोखिमका क्षेत्र पहिल्याउन र सोहीअनुसार न्यूनीकरण कार्य गरिरहेको नगरपालिकाले जनाएको छ ।

प्रदेशको राजधानीसमेत भएकाले हरेक विषयमा थप जटिल बन्दै गएको छ । नगरपालिकाले समेत सम्भावित क्षेत्रको पहिचान गरेर विपद् प्रतिकार्य योजना कार्यान्वयन गरिरहेको नगरप्रमुख मोहनमाया ढकालले बताइन् । प्रदेश सरकारले नीति नै निर्माण गरेर विपद्को सामना गर्ने खालका कार्यक्रम कार्यान्वयन गरिरहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रत्येक वर्ष सरकारले विपद् प्रतिकार्य योजना निर्माण गरेर कार्यान्वयन गरिरहेको छ । यो वर्ष पनि प्रभावकारी योजना कार्यान्वयनका लागि मुख्यमन्त्री यामलाल कँडेलले निर्देशनसमेत दिएका छन् ।

कमजोर भूवनोट अनि भौगोलिक विकटताका कारण कर्णाली प्रदेश नै विपद्को उच्च जोखिममा छ । वर्षामा बाढी र पहिरोबाट ठूलो क्षति हुन्छ । हिउँदमा आगलागी र हावाहुरीबाट धनजनको नाश भइरहेको छ । जहिल्यै प्राकृतिक विपद्को चपेटामा पर्छ, कर्णाली । राजधानीबाट टाढाको भौगोलिक दूरीमा रहेको कर्णालीको विपद् न्यूनीकरण गर्न न राज्यले प्राथमिकता दिन्छ । न त पीडितले नै समयमै राहत पाउँछन् । पछिल्लो समय बनेका संरचनाका कारण पनि ठूलो क्षति हुनेगरेको छ । सडक पूर्वाधारका कारण बस्ती नै जोखिममा पर्ने गरेका छन् । अहिले बेमौसमीमा आएको बाढी ठूलो क्षति पु¥याइरहेको छ ।

प्रकाशित मितिः   ४ असार २०८३, बिहीबार १०:४५