कर्णालीको बजेट
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३५ अर्बको बजेट ल्याएको छ । सोमवारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरेर बजेट ल्याएको छ । चालु खर्चतर्फ आठ अर्ब ६० करोड ४५ लाख ५६ हजार अर्थात् कूल बजेटको २४.३१ प्रतिशत छ । पुँजीगततर्फ २० अर्ब ७४ करोड ६७ लाख १२ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ । यो कुल बजेटको ५८.३१ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात १.४१ प्रतिशत बराबरको बजेट छ । चालु वर्षमा सरकारले कूल ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको थियो ।
आन्तरिक आम्दानी निकै कमजोर भएपनि संघीय सरकारको अनुदानको भरमा प्रदेश सरकारले बजेटको आकार बढाएको छ । जसलाई गच्छेभन्दा ठूलो बजेटका रूपमा टिप्पणी भइरहेको छ । सरकारको अनुमानित वार्षिक खर्च बेहोर्ने मुख्य स्रोत राजस्व हो । कर्णालीमा आन्तरिक स्रोत निकै कमजोर छ । यसअघिका वर्षमा कर्णालीमा राजस्व संकलन न्यून हुँदै आएको थियो । आगामी वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेट धान्ने स्रोतका रूपमा आन्तरिक आय ८५ करोड पाँच लाख ९० हजार, चालु आर्थिक वर्षमा खर्च नभई बचत हुने करिब ६ अर्ब ४१ करोड ५१ लाख रूपैयाँ परिचालन गर्ने जनाएको छ । यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँटअन्तर्गत प्राप्त १० अर्ब ६६ करोड ५० लाख ४९ हजार, वित्तीय समानीकरण अनुदान १० अर्ब ६३ करोड २३ लाख, सशर्त अनुदानतर्फ पाँच अर्ब ६७ करोड २५ लाख रूपैयाँ परिचालन गर्ने जनाएको छ ।
बजेटमा कर्णाली सरकारले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सुर्खेत विमानस्थल विस्तारको समन्वय गर्ने र त्यसका लागि पाँच करोड रकम विनियोजन गरिएको छ । जुन विगतमा सँधैजसो बजेट, नीति तथा कार्यक्रममा आइरहने र कार्यान्वयन कहिल्यै नहुने योजना हो । नवप्रवर्तनशील सोच भएका युवाहरूका लागि ‘स्टार्टअप व्यवसाय कर्जा’ कार्यक्रम ल्याइएको छ । कर्णाली सिंहदरबार निर्माण योजनालाई निरन्तरता दिइएको छ भने सडक तथा पूर्वाधारतर्फ अधिकांश पुराना कार्यक्रम समावेश छन् । ती दायित्व सिर्जना भएका योजना कार्यक्रमलाई पुरा गर्ने प्रतिवद्धता गरिएको छ । स्वास्थ्यतर्फ कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कार्यक्रम अहिले पनि समेटिएको छ ।
प्रकाशित मितिः ३ असार २०८३, बुधबार ०५:०३
सम्पादकीय ।