छोरी सम्मेलन हुँदै

सुर्खेत: ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो संस्करण शनिवारदेखि सुरु हुँदैछ । श्रीज्योति फाउन्डेसनको आयोजनामा सम्मेलन हुन लागेको हो । फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलन शनिवार र आइतवार गरी दुई दिनसम्म वीरेन्द्रनगरमा चल्ने छ ।

शुक्रवार पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार सम्मेलनमा विभिन्न विषयहरूमाथि छलफल गरिनेछ । ‘बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार, मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने सम्मेलन हो,’ अध्यक्ष कटुवालले भनिन्, ‘सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहने छ ।’

उनका अनुसार हरेक स्थानीय तहबाट दुई–दुई जना छोरीहरू सहभागी हुनेछन् । साथै राउटे, राजी, कुसुण्डा, बादी, बोटे समुदाय, अपाङ्गता भएका तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका छोरीहरूसहित करिब दुई सय ५० भन्दा बढीको सहभागिता रहने उनले बताइन् । सम्मेलनको मुख्य उद्देश्य लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल गर्नुका साथै सम्मेलनबाट आएका निष्कर्षलाई तीन तहका सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गरिने छ । सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका कथा प्रस्तुत गर्नेछन् ।

प्रकाशित मितिः   १६ जेष्ठ २०८३, शनिबार ०९:३२