अर्थतन्त्रमा कर्णालीको योगदान कमजोर
सुर्खेत: नेपालको अर्थतन्त्रमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षमा अन्य प्रदेशको तुलनामा कर्णालीको योगदान कमजोर देखिएको हो ।
यो वर्ष नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब नाघेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब बढी पुगेको हो । प्रदेशगत रूपमा हेर्दा राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ । जसले ३६.७ प्रतिशत हिस्सा ओगटेको छ ।
त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए । नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने देखिएको छ । यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार ५१३, प्रतिव्यक्ति राष्ट्रिय आय एक हजार ५३५ पुगेको छ । त्यस्तै, खर्चयोग्य आय दुई हजार ५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
मुलुकको समग्र उपभोग प्रणालीमा सरकारी क्षेत्रको तुलनामा निजी क्षेत्रको वर्चस्व निकै उच्च देखिएको छ । कुल उपभोगमा निजी क्षेत्रको योगदान ९१.२६ प्रतिशत रहने अनुमान छ भने सरकारी क्षेत्र र गैरनाफामूलक संस्थाको योगदान क्रमशः ६.६२ र २.१२ प्रतिशतमात्र रहने देखिएको छ । जीडीपीकै अनुपातमा हेर्दा पनि निजी क्षेत्रको उपभोगको हिस्सा ८२.४० प्रतिशत छ भने सरकारी उपभोग ५.९८ प्रतिशत र गैरनाफामूलक संस्थाको उपभोग १.९२ प्रतिशत रहने अनुमान छ ।
गत आव यस्तो अनुपात क्रमशः ८२.८४, ८.३८ र १.८९ प्रतिशत थियो । पछिल्लो दशकको औसत तथ्यांक अनुसार निजी क्षेत्रको उपभोग ८१.१, सरकारी क्षेत्रको ७.९ र गैरनाफामूलक संस्थाको उपभोग १.७ प्रतिशत रहँदै आएको छ । निजी क्षेत्रले गर्ने उपभोग संरचनामा भने पछिल्लो समय केही परिवर्तनका संकेत देखिएका छन् । कुल निजी उपभोगमा खाद्य स्तुको अंश अझै पनि सबैभन्दा बढी रहे तापनि यो क्रमशः घट्दो क्रममा रहेको छ भने सेवा र गैरखाद्य वस्तुमा हुने खर्च बढ्दै गएको छ ।
चालु आव कुल निजी उपभोगमा खाद्य वस्तुको हिस्सा ४८.३० प्रतिशत, सेवा क्षेत्रमने ३३.२४ र गैरखाद्य वस्तुको हिस्सा १८.४६ प्रतिशत रहने अनुमान छ । गत आवमा खाद्यवस्तुको हिस्सा ४८.८४ प्रतिशत र सेवाको हिस्सा ३२.८२ प्रतिशत थियो । पछिल्लो एक दशकको औसत हेर्दा निजी उपभोगमा खाद्यवस्तुको अंश ४८.७५ प्रतिशत, गैरखाद्य वस्तुको १८.६७ र सेवा क्षेत्रको ३२.५८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
प्रकाशित मितिः १४ जेष्ठ २०८३, बिहीबार १६:०५
साझा बिसौनी ।