हुम्ला–बाजुरा विवादः अध्ययन र छानबिन समिति गठन

सुर्खेत: हुम्ला र बाजुराबीच उत्पन्न विवादपछिको झडपको विषयमा छानबिन गर्नुका साथै सीमा विवादबारे अध्ययन गर्न समिति गठन गरिएको छ । सरकारले दुई छुट्टाछुट्टै समिति बनाएको हो ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा आइतवार बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । मन्त्रालयले छानबिन टोलीलाई तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरी शीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय सक्रिय बनेको र हुम्ला तथा बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका विशेष सुरक्षा टोली घटनास्थलमा परिचालन गरिएको मन्त्रालयले जनाएको छ । सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा शान्ति सुव्यवस्था कायम राख्न जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा रणनीति कार्यान्वयन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानबिन टोली गठन गरेको छ ।
स्थिति नियन्त्रण तथा दीर्घकालीन शान्ति स्थापनाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका थप सुरक्षाकर्मी परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ । विवादको स्थायी समाधान र समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूसँग निरन्तर समन्वयात्मक बैठक गर्दै आवश्यक पहल अगाडि बढाइरहेको पनि जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले सीमा क्षेत्रका नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै नागरिकको जीउधनको सुरक्षा र शान्ति कायम राख्न मन्त्रालय पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
यसैगरी दुई जिल्लाबीचको सीमा विवादसम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतवार सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् । त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
दुई जिल्लाबीचको सीमा विवादसम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा पनि समिति गठन भएको छ ।
बैठकमा भूमि मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भिम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकालको सहभागिता रहेको थियो ।
बाजुरा र हुम्लाबीच अघिल्लो सातादेखि उत्पन्न तनाव कायमै छ । घटनामा संलग्नहरूमाथि कारबाही नगरिएको भन्दै बाजुरास्थित हिमाली गाउँपालिकाका युवाहरूले आइतवार पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन् ।
उक्त करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुलाचौरमै रोकिए । सडक तेस्रो दिन पुनः अवरुद्ध गरिएको हो । गत सातादेखि तनावग्रस्त बनेको रानीसैन, लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाइएको छ ।
प्रकाशित मितिः ११ जेष्ठ २०८३, सोमबार १०:३२
साझा बिसौनी ।