पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न आग्रह

सुर्खेत: नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखको पेट्रोलियम उत्खनन् परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाका कारण उत्खनन् कार्य प्रभावित भएको बताइन् । नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको यो परियोजनालाई तीव्र गतिमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

थापाले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमाथि पनि प्रश्न उठाइन् । सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिनुले संवैधानिक जिम्मेवारी र संसदीय मर्यादामाथि प्रश्न उठेको उनको टिप्पणी छ । उनले नेपाली कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्दै सरकारका सकारात्मक कामलाई समर्थन र कमजोरीमाथि खबरदारी गरिरहेको बताइन् ।

कांग्रेसभित्र विभाजनको चर्चा चलिरहेको विषयमा प्रतिक्रिया दिँदै थापाले पार्टीभित्रको बहस, गुट–उपगुट र विचार मन्थनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरिन् । महाधिवेशन नजिकिँदै जाँदा यस्ता गतिविधि स्वाभाविक हुने भन्दै उनले शीर्ष नेतृत्वले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मितिः   ६ जेष्ठ २०८३, बुधबार ०५:०१