कर्णालीको नतिजामा सुधार

सुर्खेत: कर्णालीको शैक्षिक नतिजा सुधार हुँदै गएको छ । विगतको भन्दा नतिजामा क्रमिक सुधार हुँदै गएको पाइएको छ । २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले सुधार गरेको छ ।
२०८१ सालको एसईईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ५६.७८ भएकोमा यस पटक ६ प्रतिशतले सुधार गरी ६५.९८ प्रतिशत भएको हो । जबकी २०८० सालको एसईईमा ४१.५३ प्रतिशत मात्रै उत्तीर्ण नतिजा आएको थियो । गत वर्ष १४ प्रतिशतले नतिजामा सुधार भएको थियो ।
यस वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३३ हजार तीन सय ३६ जना परीक्षार्थीले एसईई दिएका थिए । जसमध्ये १३ हजार दुई सय ४१ जना उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । शिक्षामा क्रमिक रूपमा सुधार हुँदै गइरहेको निर्देशनालयका निमित्त निर्देशक दिपा हमालले बताइन् । प्रदेश सरकारले शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति अबलम्वन गरेको भन्दै हमालले शिक्षण सिकाइमा प्रविधिको प्रयोगले पनि शिक्षा सुधार हुँदै गएको जनाइन् ।
यस वर्षको एसईईमा कर्णालीमा सुगमभन्दा दुर्गमका विद्यालयले सुधार गरेको देखिएको छ । रूकुमपश्चिम, मुगु, जाजरकोट, सल्यान, कालीकोट, जुम्लाजस्ता दुर्गम जिल्लाको उत्तीर्ण प्रतिशत सुधार भएको छ भने सुगम मानिएका सुर्खेत, दैलेख पछाडि परेका छन् । १० जिल्लामध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत रुकुमपश्चिम जिल्लाको छ । रूकुमपश्चिममा ७९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण भइ प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने जिल्ला भएको छ ।
रूकुमपश्चिमपछि दोस्रोमा मुगुको ७५.९० प्रतिशत र तेस्रोमा कालीकोटको ७३.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी चौथोमा सल्यान र जुम्लाको करिब समान प्रतिशत रहेको छ । सल्यानको ६८.५२ तथा जुम्लाको ६८.१७ प्रतिशत परीक्षार्थी उत्तीर्ण हुँदा पाँचौमा रहेको सुर्खेतको ५८.१९ प्रतिशत, डोल्पाको ४६.६९ प्रतिशत र सबैभन्दा कम दैलेखको ३१.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यसपटक परीक्षा भएको एक महिनामै नतिजा आएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक हमालले अघिल्ला वर्षको तुलनामा यस पटक विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सरोकारवाला पक्षको योगदान देखिएको बताइन् । परीक्षा र शिक्षण सिकाइ विधिमा पनि सुधार आउनु, स्थानीय तह, प्रदेश तथा संघीय सरकारको अनुगमन, सुपरिवेक्षण प्रभावकारी देखिनु, पूर्वाधार र सूचना प्रविधिको प्रयोगमा वृद्धि हुनुले एसईईमा सुधार आउने मुख्य कारण रहेको उनको भनाइ रहेको छ ।
यसका साथै कतिपय विद्यालयले आफ्ना कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नु, विद्यालय व्यवस्थापन समितिले पनि नतिजा सुधारका लागि विभिन्न क्रियाकलाप गरी महŒवपूर्ण योगदान दिएको निर्देशक हमालले बताइन् । यो वर्ष परीक्षा केन्द्र–केन्द्रबाट उत्तरपस्तिका जाँच भयो । अघिल्ला वर्षहरूभन्दा जनशक्ति भने धेरै परिचालित भएको थियो ।
पर्याप्त छैन शिक्षामा बजेट
कर्णाली प्रदेश सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न सकेको छैन । गत आर्थिक वर्ष २०८१/०८२ मा शिक्षा क्षेत्रमा बजेट वृद्धि गरेको सरकारले यो वर्ष फेरि घटाएको छ । गत वर्ष कुल बजेटको शिक्षा क्षेत्रमा पाँच दशमलव आठ प्रतिशत बजेट विनियोजन भएको थियो । यो वर्ष सामाजिक विकास मन्त्रालयको कुल बजेटको तीन दशमलव पाँच प्रतिशत बजेट मात्र विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ । विगतका वर्षहरूमा पनि सरकारले न्यून बजेट विनियोजन गर्ने गरेको थियो ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशको कुल बजेटको दुई दशमलव पाँच प्रतिशत बजेट विनियोजन गरेको थियो भने सामाजिक विकास मन्त्रालयको कुल बजेटको १६ दशमलव नौ प्रतिशत बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेशको कुल बजेटको चार दशमलव तीन प्रतिशत र सामाजिक विकास मन्त्रालयको कुल बजेटको २५ दशमलव तीन प्रतिशत बजेट विनियोजन गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको दुई दशमलव पाँच प्रतिशत तथा मन्त्रालयको १४ दशमलव तीन प्रतिशत बजेट थियो । आर्थिक वर्ष २०७९/०८० मा कुल बजेटको तीन दशमलव नौ तथा मन्त्रालयको २० दशमलव ६ प्रतिशत बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा कुल बजेटको तीन दशमलव आठ प्रतिशत र मन्त्रालयको कुल बजेटको २१ दशमलव दुई प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको थियो । प्रत्येक वर्ष शिक्षामा बजेट वृद्धि गरिरहेको प्रदेश सरकारको दाबी छ । संघीयता कार्यान्वयनमा आएको लामो समयसम्मपनि प्रदेश सरकारले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेशका संयोजक भूपेन्द्र कँडेलले बताए । यता आगामी वर्षमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी भइरहेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बताएका छन् ।
प्रकाशित मितिः ३१ बैशाख २०८३, बिहीबार १०:२०
साझा बिसौनी ।