सटर भाडामा दुई करोड हिनामिना
सुर्खेत: सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत हरिबहादुर क्षेत्री (हाल दिवंगत) र सह–लेखापाल खड्कबहादुर रानाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६/०७७ देखि २०८०/०८१ को अवधिमा सटर कवल र जग्गा भाडाबाट उठेको रकम बैंकमा जम्मा नगरी हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । पाँच वर्षको अवधिमा समितिले भाडाबाट चार करोड १८ लाख चार हजार तीन सय तीन रूपैयाँ राजश्व संकलन गरेकामा एक करोड २३ लाख २५ हजार ६२ रूपैयाँ मात्र बैंकमा दाखिला गरिएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दाखिला नभएको रकमलाई नै अख्तियारले बिगो कायम गरी छुट्टाछुट्टै बिगो कायम गरेको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६ सय ८१ रूपैयाँ हिनामिना भएको पुष्टि भएकामा ढकालविरुद्ध ६४ लाख २८ हजार चार सय ३७, तिवारीविरुद्ध एक करोड चार लाख ७१ हजार नौ सय ४२, डाँगीविरुद्ध ७२ लाख ७८ हजार १०, सह–लेखापाल रानाविरुद्ध दुई करोड ९४ लाख ७८ हजार ६ सय ८१ रूपैयाँ बिगो कायम गरिएको छ ।
अख्तियारले मुद्दामा प्रतिवादी बनाएका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षेत्रीको हकमा उनकी श्रीमतीबाट दुई करोड ९० लाख ९६ हजार ४१ रूपैयाँ बिगो असुलउपरको मागदाबी गरेको छ । हिनामिना ढाकछोप गर्न प्रतिवादीहरूले बैंकमा रकम जम्मा भएको देखिने गरी नक्कली आय–व्यय विवरण तयार पारी समितिको बैठकबाटै अनुमोदन गराएको पनि खुलेको छ ।
प्रकाशित मितिः ३१ बैशाख २०८३, बिहीबार १०:१९
साझा बिसौनी ।