अस्पतालको अलग्गै ओपीडी भवन

सुर्खेत: कर्णाली प्रदेश अस्पतालका लागि नयाँ भवन निर्माण गरिने भएको छ । ओपीडी सेवाका लागि अस्पताल परिसरभित्रै अलग्गै भवन निर्माण हुने भएको हो । भवनको सोमवार शिलान्यास गरिएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको सहभागितामा भवन शिलान्यास गरिएको हो ।

प्रदेश अस्पतालका सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार भवनको लागत अनुमान सुरुमा २९ करोड ९८ लाख गरिएको थियो । ठेकदार कम्पनीले १६ करोड ८४ लाख लागतमा भवनको निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

निर्माणको जिम्मेवारी चण्डीदेवी विशाल एन्ड विराट जेभी काठमाडौं लिएको उनले बताइन् । ‘हाम्रो अहिले सञ्चालित ओपीडीको संरचना ५० शैड्ढयाको अस्पतालमा आधारित छ, तर हाम्रो सेवा अहिले तीन सय शैड्ढयामा छ,’ उनले भनिन्, ‘त्यसकारण भीड निकै ठूलो हुन्छ । थेग्न सक्ने अवस्था छैन ।’

छिटो–छरितो सेवाका लागि प्रदेश र केन्द्र सरकारको सह–लगानीमा छुट्टै नयाँ ओपीडी भवन निर्माण गर्न लागिएको ज्ञवालीले बताइन् । ठेकदार कम्पनीले अबको १४ महिनाभित्र निर्माण सम्पन्न गरेर भवन हस्तान्तरण गर्ने सम्झौतामा गरिएको छ ।

प्रकाशित मितिः   २९ बैशाख २०८३, मंगलवार १४:२२