अपरिहार्य कार्ययोजना

राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना निर्माणको काम सुरुवातमा तीव्र गतिमा अघि बढेपनि पछिल्लो समय सुस्ताएको छ । सुरुङ निर्माणपछिको कामले गति लिन सकेको छैन । जसका कारण निर्माण अवधि समेत थप गरिएको छ । आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण थालिएको यो आयोजना सुरुमा २०७९/०८० मा सम्पन्न गर्ने भनिएको थियो । तर, समय थप गर्दै पछिल्लो पटक आर्थिक वर्ष २०८७/०८८ मा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक भएको थियो । यसरी म्याद थप भएर पर धकेलिएको आयोजना निर्माणका लागि अब नयाँ कार्ययोजना बनाइने भएको छ । अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको कार्यकारी आदेशअनुसार सरकारी प्रतिनिधिहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन् ।

नयाँ कार्ययोजनाअनुसार दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु अघिसम्म यो आयोजनाको म्याद थप गरेर पाँच वर्षमा सम्पन्न गर्न कार्ययोजना अद्यावधिक गरिएको थियो । तर अब उक्त अवधि घटाउने गृहकार्य थालिएको छ । विभागले घटाइएको समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक तयारीका काम गरिरहेको छ । तोकिएको समयमा आयोजना सम्पन्न गर्न अहिले एक सिफ्टमा काम भइरहेकोमा अब दुई वा तीन सिफ्टमा सञ्चालन गर्ने तथा त्यसको लागि जनशक्ति र कामदारको परिचालनलगायतका विषयमा शुरुवाती छलफल भइरहेको छ । त्यसैअनुसार स्रोत व्यवस्थापन र समस्या समाधान लगायतका विषयमा पनि तयारी गरिनेछ । यसरी आयोजना निर्माणको अवधि घट्नेछ । कुल ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा र ४८.८ मेगावाट विद्युत उत्पादन गरिने यो बहुउद्देश्यीय आयोजना हो । सुर्खेत, बाँके र बर्दिया जिल्लामा फैलिएको आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसिनको सफल प्रयोग गरी आयोजनाको १२.२० किलोमिटर सुरुङ निर्माण कार्य धेरै पहिले सम्पन्न भएको हो । विद्युत प्रशारण लाइनका सम्बन्धमा विस्तृत सर्वेक्षण प्रतिवेदन तयार भइसकेको छ । आयोजनाको लागि आवश्यक २२.८९ हेक्टर जग्गामध्ये अहिलेसम्म १५.७९ हेक्टर आयोजनाले प्राप्त गरिसकेको छ । बाँकी प्राप्तिको प्रक्रियामा रहेको छ ।

विद्युत प्रसारण लाइनसम्बन्धी वातावरणीय अध्ययन कार्य भइरहेको छ । वातावरणीय सुधार, सामाजिक विकास तथा क्षमता अभिवृद्धिका कामहरू भइरहेका छन् । यसबाहेक पनि थुप्रै काम गर्न बाँकी छ । तर त्यसमा ढिलाइ भइरहेको छ । संशोधित समय तालिकाअनुसार २०८७/०८८ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्तमान सरकारले दुई वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । जसले आयोजना कम अवधिमा निर्माण हुनेछ ।

प्रकाशित मितिः   २९ बैशाख २०८३, मंगलवार ०५:०३