कांग्रेसको प्रदेशस्तरीय भेला हुँदै
सुर्खेत: नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला आज (सोमवार) देखि वीरेन्द्रनगरमा हुँदैछ । यसअघि स्थगित भेला सोमवार र मंगलवार गरी दुई दिनसम्म सञ्चालन हुनेछ ।
विशेष महाधिवेशनपछि कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागिएको हो । भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ ।
भेलाले आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले भेलामा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्रको अनुशासन र आन्तरिक एकतालाई सुदृढ बनाउने उद्देश्यमा केन्द्रित हुने बताए । साथै, प्रदेश तथा स्थानीय तहका सरकारले अपनाउनुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत छलफल हुने उनको भनाइ छ । दुई दिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने तयारी गरिएको छ ।
प्रकाशित मितिः २८ बैशाख २०८३, सोमबार ०५:०१
साझा बिसौनी ।