भेरी बबई आयोजनाः दुई वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना

सुर्खेत: राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजना निर्माणका लागि नयाँ कार्ययोजना बनाइने भएको छ । आयोजना निर्माणमा ढिलाइ भएपछि अबको दुई वर्षभित्र सम्पन्न गर्न सरकारले कार्ययोजना बनाउन थालेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको कार्यकारी आदेशअनुसार सरकारी प्रतिनिधिहरू नयाँ कार्ययोजना बनाउन जुटेका हुन् । नयाँ कार्ययोजनाअनुसार दुई वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बालेन्द्र शाह नेतृत्वको सरकार गठन हुनु अघिसम्म यो आयोजनाको म्याद थप गरेर पाँच वर्षमा सम्पन्न गर्न कार्ययोजना अद्यावधिक गरिएको थियो । तर अब उक्त अवधि घटाउने गृहकार्य थालिएको छ । विभागले घटाइएको समयभित्र आयोजना सम्पन्न गर्न आवश्यक तयारीका काम गरिरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । ‘तोकिएको समयमा आयोजना सम्पन्न गर्न अहिले एक सिफ्टमा काम भइरहेकोमा दुई वा तीन सिफ्टमा सञ्चालन गर्ने, त्यसको लागि जनशक्ति र कामदारको परिचालन लगायतका विषयमा सुरुवाती छलफल भइरहेको छ,’ महानिर्देशक बरालले भने । त्यसैअनुसार स्रोत व्यवस्थापन र समस्या समाधानलगायतका विषयमा पनि तयारी गरिनेछ ।
आर्थिक वर्ष २०६८/०६९ देखि निर्माण थालिएको यो आयोजना सुरुमा २०७९/०८० मा सम्पन्न गर्ने भनिएको थियो । तर, पछि समय थप गर्दै पछिल्लो पटक आर्थिक वर्ष २०८७/०८८ मा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक भएको थियो । कुल ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा र ४८.८ मेगावाट विद्युत उत्पादन गरिने यो बहुउद्देश्यीय आयोजना हो । सुर्खेत, बाँके र बर्दिया जिल्लामा फैलिएको आयोजनाको प्रारम्भिक लागत १६ अर्ब ४३ करोड रहेकोमा अहिलेसम्म धेरै पटक संशोधित गरी शतप्रतिशतभन्दा धेरै वृद्धि भइसकेको छ । हाल संशोधित लागत ३३ अर्ब १९ करोड ६६ लाख रूपैयाँ पुगिसकेको छ । अहिलेसम्म यो आयोजनामा १८ अर्ब ७७ करोड ४३ लाख रूपैयाँ खर्च भइसकेको छ । यो कुल लागतको ५६.५६ प्रतिशत हो । चालु आ.व. २०८२/०८३ मा एक खर्ब ७५ करोड ४२ लाख रूपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये ६८ करोड १३ लाख रूपैयाँ खर्च भएको छ । अहिलेसम्मको कुल भौतिक प्रगति ६५.५० प्रतिशत रहेको छ ।
आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको छ । टनेल बोरिङ मेसिनको सफल प्रयोग गरी आयोजनाको १२.२० किलोमिटर सुरुङ निर्माण कार्य धेरै पहिले सम्पन्न भएको हो । बाँध तथा पावरहाउस संरचनाको सिभिल निर्माण कार्यअन्तर्गत कुल ६ वटा ‘बे’ निर्माण गर्नुपर्नेछ । तिनीहरूको विभिन्न चरणमा काम भइरहेको छ । हाइड्रोमेकानिकल ठेक्काअन्तर्गत मुख्य संचनाहरूको डिजाइन स्वीकृत भइ फ्याब्रिकेशनमा रहेको छ । केही सामान भने आयोजनास्थलमा आइपुगिसकेका छन् । त्यस्तै ड्राफ्ट ट्युब, ट्रान्सफर्मर, स्वीच गियरलगायतका उपकरण फिल्डमा आइपुगेका छन् । इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण उपकरण निर्माणस्थमा आइपुगिसकेको छ ।
विद्युत प्रशारण लाइनका सम्बन्धमा विस्तृत सर्वेक्षण प्रतिवेदन तयार भइसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको लागि सहमति लिन वन तथा वातावरण मन्त्रालयमा फाइल प्रस्ताव गरिएको छ । बबई मान खोला डाइभर्सनसम्बन्धी कार्यको विस्तृत अध्ययन कार्य सम्पन्न भइसकेको छ । सामाजिक विकास तथा वातावरणीय सुधार कार्यक्रमअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा भएका माग र आवश्यकता अनुसार सिँचाइ, खानेपानी तटबन्ध, स्वास्थ्य, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । आयोजनाको लागि आवश्यक २२.८९ हेक्टर जग्गामध्ये अहिलेसम्म १५.७९ हेक्टर आयोजनाले प्राप्त गरिसकेको छ । बाँकी प्राप्तिको प्रक्रियामा रहेको छ ।
हेडवक्र्स तथा पावरहाउसको सिभिल निर्माण हाइड्रोमेकानिकल सम्बन्धी काम भइरहेको छ । इलेक्ट्रोमेकानिकल सम्बन्धी कामहरू पनि भइरहेका छन् । विद्युत प्रसारण लाइनसम्बन्धी वातावरणीय अध्ययन कार्य भइरहेको छ । वातावरणीय सुधार, सामाजिक विकास तथा क्षमता अभिवृद्धिका कामहरू भइरहेका छन् । आयोजनाको सिञ्चित क्षेत्र तथा इन्टेक बचावट कार्यलाई निरन्तरता दिइएको छ । बबई मान खोला डाइभर्सन आयोजनाको वातावरणीय अध्ययन कार्य भइरहेको छ । नयाँ परामर्शदाता खरिद प्रक्रियाका लागि स्रोत सहमति प्राप्त गर्ने कार्य भइरहेको छ । आयोजनाका संरचनाहरूको अन्तिम डिजाइन तथा नक्साहरू प्राप्त गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ ।
हेडवक्र्स तथा पावरहाउसको सिभिल निर्माण कार्य सम्पन्न गर्न बाँकी रहेको छ । हाइड्रोमेकानिकल सम्बन्धी उपकरण आयात, निर्माण तथा जडान तथा परीक्षण कार्य सम्पन्न गर्नुपर्नेछ । इलेक्ट्रोमेकानिकल सम्बन्धी उपकरण आयात, निर्माण तथा जडान तथा परिक्षण कार्य पूरा गर्न बाँकी छ । यसैगरी आयोजना निर्माणको चालु तीन वटै ठेक्काका कार्य सुपरभिजनको लागि नयाँ परामर्श सेवा खरिद गर्नुपर्नेछ ।
विद्युत प्रसारण लाइनसम्बन्धी वातावरण अध्ययन र निर्माण सम्झौता गरी कार्य आरम्भ गर्नुपर्नेछ । आवश्यकता अनुसार अत्यावश्यक वातावरणीय सुधार, सामाजिक विकास तथा क्षमता अभिवृद्धि कार्य गर्नुपर्नेछ । यसैगरी सिञ्चित क्षेत्र तथा तटबन्धन कार्य गर्न बाँकी छ । बबई मानखोला डाइभर्सन आयोजनाको निर्माण कार्य अघि बढाउनुपर्नेछ । यसको वातावरणीय अध्ययन कार्य गर्न बाँकी छ । आयोजना सम्पन्न भएपछि विद्युत गृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी ढाँचा तयार गर्नुपर्नेछ । आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि ‘टेस्टिङ’ र ‘कमिसनिङ’ गर्नुपर्ने हुन्छ ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सबैभन्दा पहिला जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) ले सन् १९९८ मा सम्भाव्यता अध्ययन र १९९९ मा वातावरणीय प्रभाव मूल्यांकन गरेको हो । त्यस अध्ययनले भेरी नदीको पानी बबई नदीमा खसाली जलविद्युत उत्पादन गर्नसमेत सम्भाव्य देखायो । त्यसपछि जलस्रोत तथा सिँचाइ विभागले सिँचाइ तथा जलविद्युत दुवै फाइदा प्राप्त हुने भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बीपीसी–इआरएमसी संयुक्त उपक्रममार्फत विस्तृत सम्भाव्यता अध्ययन गरियो ।
यस अध्ययन प्रतिवेदनको आवश्यकता अनुसार विभिन्न परामर्शदाताहरूले आयोजनाको विभिन्न ‘कम्पोनेन्ट’हरूको छुट्टाछुट्टै पुनः अध्ययन एवम् समीक्षा (रिभ्यु ) गर्ने कार्य भयो । त्यसपछि सिँचाइ विभागबाट ‘भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को रूपमा पहिलो बहुउद्देश्यीय आयोजनाको तयारी थालियो । आयोजनाको कार्यालय विरेन्द्रनगर, सुर्खेतमा ७ भदौ २०६८ मा स्थापना गरी सञ्चालनमा ल्याउने काम भयो । तर निर्माण कार्य आर्थिक वर्ष २०७१÷०७२ बाट सुरू गरिएको हो ।
संशोधित समय तालिकाअनुसार आव २०८७/०८८ मा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्तमान सरकारले दुई वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । यो आयोजना नेपाल सरकारको स्रोतमा बहुउद्देश्यीय, जल पथान्तरण आयोजनाको रूपमा कार्यान्वयन भइरहेको छ ।
प्रकाशित मितिः २८ बैशाख २०८३, सोमबार ०५:०५
साझा बिसौनी ।