विद्यालय गाभ्ने रणनीति

विद्यार्थी संख्या न्यून हुँदा स्थानीय तहले अहिले धमाधम विद्यालय समायोजन गर्न थालेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । त्यसमाथि अभिभावकहरू निजी विद्यालयतिर आकर्षित भएपछि सामुदायिक विद्यालय रित्तिदै गएका छन् । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन वा बन्द गर्नुपर्ने अवस्थामा स्थानीय सरकार पुगेका छन् । जसले गर्दा पछिल्लो समय विद्यालय समायोजनको दर बढेको छ । स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय समायोजनको योजना ल्याएका छन् । विद्यार्थीको संख्या घट्न थालेपछि विद्यालय समायोजन, कक्षा घटुवा तथा दरबन्दी मिलानको योजना बनाएका हुन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले यही शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने गरेर विद्यालय समायोजनाको योजना बनाएको छ । गाउँपालिकाले यो वर्ष मात्र होइन अघिल्ला वर्षहरूमा समेत समायोजनको योजना ल्याएको भएपनि कार्यान्वयनमा कठिनाइ भएको थियो । पालिकाले विद्यालय समायोजन तथा कक्षा घटुवाको काम सुरु गरेको छ । त्यसका लागि अभिभावकहरूसँग छलफल जारी राखेको छ । टाढा–टाढाका विद्यार्थीलाई पालिकाले आवासीय विद्यालय सञ्चालन गरेर पठनपाठन गर्ने योजनासमेत बनाएको छ । पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाले पनि विद्यालय समायोजनको योजना बनाएको छ । यो शैक्षिक सत्रदेखि लागू हुने गरेर नगरपालिकाले विद्यार्थीको संख्या न्युन भएका विद्यालयहरूको समायोजन तथा कक्षा कटौतीको काम गर्न थालेको हो । पालिकामा पाँच वटा विद्यालयलाई तत्काल समायोजना गर्नुपर्ने भएको छ । नगरपालिकाले निश्चित मापदण्ड तयार गरेर नगरभित्रका पाँच वटा विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्नेगरी तयारी अघि बढाएको छ ।

पछिल्लो समय बसाइसराइँ बढ्दो छ । विशेष गरेर ग्रामीण बस्तिहरूबाट मानिसहरू शहरी क्षेत्रमा सरिरहेका छन् । जसले गर्दा गाउँमा जनसंख्या कम हुँदै गएको छ । जनसंख्या कम हुँदा विद्यार्थी संख्या पनि घट्दो छ । त्यसमाथि बालबालिका पढाउनकै लागि भएपनि अभिभावकहरू शहरी क्षेत्रमा बसोबास गर्न थालेका छन् । गाउँका विद्यार्थीले शहरी क्षेत्रका विद्यालय भरीभराउ हुँदा गाउँका विद्यालय रित्तिदै गएका छन् । जसले गर्दा पछिल्लो समय सामुदायिक विद्यालयहरू समायोजनको लहर चलेको छ । विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको छ । विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालय समायोजनको दर बढेको छ । प्रदेश सरकारले भने गाउँमै गुणस्तरीय शिक्षा दिनेगरी लगानी गरिरहेको छ । तर गाउँमै विद्यार्थी रोक्न हम्मेहम्मे पर्नेगरेको छ । प्रदेश सरकारले आवासीय विद्यालयको अवधारणा समेत ल्याएको छ । यसले पनि विद्यार्थी रोक्न नसकेपछि विद्यालय समायोजनको विकल्पमा जान थालिएको देखिन्छ ।

प्रकाशित मितिः   २३ बैशाख २०८३, बुधबार ०५:०३