विद्यालय समायोजनमा सकस

विद्यार्थी घट्दै, समायोजनमा अभिभावकको अवरोध

सुर्खेत: स्थानीय सरकारले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय समायोजनको योजना ल्याएका छन् । विद्यार्थीको संख्या घट्न थालेपछि विद्यालय समायोजन, कक्षा घटुवा तथा दरबन्दी मिलानको योजना बनाएका हुन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले यही शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने गरेर विद्यालय समायोजनाको योजना बनाएको छ । गाउँपालिकाले यो वर्ष मात्र होइन अघिल्ला वर्षहरूमा समेत समायोजनको योजना ल्याएको भएपनि कार्यान्वयनमा कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । उनका अनुसार पालिकामा ६/७ वटा सामुदायिक विद्यालय तत्काल समायोजन गर्न आवश्यक छ । तर अभिभावकहरूको सहमति नहुँदा पालिकाले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिरहेको छैन । सकेसम्म अभिभावकको सहमतिमा विद्यालय समायोजन गर्नेगरी कार्य अघि बढाइएको अध्यक्ष विकले बताए ।

पालिकाले विद्यालय समायोजन तथा कक्षा घटुवाको काम सुरु गरेको छ । त्यसका लागि अभिभावकहरूसँग छलफल जारी राखेको छ । टाढा–टाढाका विद्यार्थीलाई पालिकाले आवासीय विद्यालय सञ्चालन गरेर पठनपाठन गर्ने योजनासमेत बनाएको छ । पालिका अध्यक्ष तथा शिक्षा शाखा प्रमुखसहितको टोली केहीदिन अघि मात्र दैलेखका विभिन्न नमुना विद्यालयहरूमा अनुगमनका लागि पुगेका थिए । त्यहाँको सिकाइबाट पालिकामा पनि नमुना विद्यालय अवधारणा निर्माण गर्ने अध्यक्ष विकले बताए ।

पूर्वी सुर्खेतको लेकवेशी नगरपालिकाले पनि विद्यालय समायोजनको योजना बनाएको छ । यो शैक्षिक सत्रदेखि लागू हुने गरेर नगरपालिकाले विद्यार्थीको संख्या न्युन भएका विद्यालयहरूको समायोजन तथा कक्षा कटौतीको काम गर्न थालेको हो । पालिकामा पाँच वटा विद्यालयलाई तत्काल समायोजना गर्नुपर्ने भएको छ । नगरपालिकाले निश्चित मापदण्ड तयार गरेर नगरभित्रका पाँच वटा विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्नेगरी तयारी अघि बढाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले बताए । यसअघि विद्यालय समायोजनको योजना बनाइएको भएपनि अभिभावकको असहमति हुँदा कार्यान्वयनमा समस्या भएको अधिकारीको भनाइ छ । केही विद्यालयलाई भने भौगोलिक अवस्था हेरेर पनि समायोजन तथा कक्षा कटौती नगरिएको नगरपालिकाले जनाएको छ ।

 

गाउँका विद्यार्थीले शहरी क्षेत्रका विद्यालय भरीभराउ हुँदा गाउँका विद्यालय रित्तिदै गएका छन् । जसले गर्दा पछिल्लो समय सामुदायिक विद्यालयहरू समायोजनको लहर चलेको छ । तर अभिभावकहरूको सहमति नहुँदा पालिकाहरूले योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिरहेका छैनन् ।

 

पछिल्लो समय बसाइसराइँ बढ्दो छ । विशेष गरेर ग्रामीण बस्तीहरूबाट मानिसहरू सहरी क्षेत्रमा सरिरहेका छन् । जसले गर्दा गाउँमा जनसंख्या कम हुँदै गएको छ । जनसंख्या कम हुँदा विद्यार्थी संख्या पनि घट्दो छ । त्यसमाथि बालबालिका पढाउनकै लागि भएपनि अभिभावकहरू सहरी क्षेत्रमा बसोबास गर्न थालेका छन् । गाउँका विद्यार्थीले सहरी क्षेत्रका विद्यालय भरीभराउ हुँदा गाउँका विद्यालय रित्तिदै गएका छन् । जसले गर्दा पछिल्लो समय सामुदायिक विद्यालयहरू समायोजनको लहर चलेको छ ।

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले पनि विद्यालय समायोजनका लागि आवश्यक अध्ययन गरेको जनाएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकाले पनि विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गरेको छ । विद्यार्थी संख्या न्यून हुँदा स्थानीय तहले अहिले धमाधम विद्यालय समायोजन गर्न थालेका छन् । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन वा बन्द गर्नुपर्ने अवस्थामा स्थानीय सरकार पुगेका छन् । जसले गर्दा पछिल्लो समय विद्यालय समायोजनको दर बढेको छ ।

विशेष गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालय समायोजनको दर बढेको मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख सुवर्ण खड्काले बताए । प्रदेश सरकारले भने गाउँमै गुणस्तरीय शिक्षा दिनेगरी लगानी गरिरहेको छ । तर गाउँमै विद्यार्थी रोक्न हम्मेहम्मे पर्नेगरेको छ । प्रदेश सरकारले आवासीय विद्यालयको अवधारणा समेत ल्याएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०८३, मंगलवार ०६:५१