जडिबुटीको स्वर्गभूमि कर्णाली

कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण, नेपालको मौलिक उपचारमा यसको महŒव र योगी नरहरीनाथको योगदान

 

नेपाल केवल हिमाल, पहाड र तराईको सुन्दर देश मात्र होइन । औषधीय वनस्पतिको दृष्टिले विश्वमै अद्भुत भूमिसमेत हो । नेपालको भूगोल विविध छ– उष्ण तराईदेखि हिमाली उच्च भूमिसम्म । यही विविधता नै नेपाललाई जडिबुटीको खानी बनाउने मुख्य कारण हो । ससारका धेरै देशमा एउटा मौसम र एउटा वनस्पति क्षेत्र मात्र हुन्छ, तर नेपालमा सानो क्षेत्रमै अनेक जलवायु पाइन्छ । त्यसैले नेपालमा हजारौँ प्रजातिका औषधीय वनस्पति पाइन्छन् ।

नेपालको मौलिक उपचार प्रणाली भन्नासाथ सबैभन्दा पहिले आयुर्वेद आउँछ । आयुर्वेद कुनै नयाँ चिकित्सा पद्धति होइन, यो हजारौँ वर्षदेखि जीवनशैली, खानपान, औषधि, योग, ध्यान, जडिबुटी र प्राकृतिक नियमसँग जोडिएको ज्ञान हो । आयुर्वेदले रोग लागेपछि मात्र उपचार गर्ने होइन, रोग लाग्न नदिन जीवनशैली सुधार गर्ने मुख्य उद्देश्य राख्छ ।

आयुर्वेदको आधार भनेकै जडिबुटी हुन् । जडिबुटी नहुने हो भने आयुर्वेद औषधि बन्न सक्दैन । त्यसैले नेपालमा जडिबुटीको संरक्षण, संकलन, प्रशोधन र भण्डारण हुनु भनेको आयुर्वेदलाई बचाउनु हो । आयुर्वेदलाई बचाउनु भनेको नेपालको मौलिक चिकित्सा पहिचान बचाउनु हो ।

नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेश जडिबुटीका लागि अत्यन्त महŒवपूर्ण मानिन्छ । कर्णाली प्रदेशका जिल्ला– जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालीकोट, जाजरकोट, दैलेख, रूकुम–पश्चिम, सल्यान (कतिपय भूभाग) आदि क्षेत्रमा प्राकृतिक जडिबुटी प्रशस्त पाइन्छ ।
कर्णाली प्रदेशको विशेषता के हो भने यहाँ धेरै ठाउँमा आधुनिक कृषि र उद्योगको प्रभाव कम भएकाले प्रकृति अझै धेरै हदसम्म शुद्ध छ । हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने जडिबुटीहरू संसारभरि नै उच्च मूल्यमा बिक्री हुन्छन् । कर्णालीका वन, पाखा, हिमाली मैदान, खोल्सो, घाँसे मैदान, लेकाली क्षेत्र, चिसो हावापानी भएको ठाउँ–यी सबै आयुर्वेदका बहुमूल्य वनस्पतिको प्राकृतिक भण्डार हुन् । कर्णाली प्रदेशलाई जडिबुटीको दृष्टिले तीन भागमा बुझ्न सकिन्छः

– हिमाली क्षेत्र (हुम्ला, मुगु, डोल्पा)
– उच्च पहाडी क्षेत्र (जुम्ला, कालीकोट, जाजरकोट)
– मध्य पहाडी/उपत्यका क्षेत्र (दैलेख, सल्यान, रूकुम पश्चिम)

 

यी सबै क्षेत्रको माटो, हावा, पानी र उचाइ फरक भएकोले जडिबुटीको गुण पनि फरक हुन्छ ।

जडिबुटीको अर्थ र आयुर्वेदमा यसको स्थान

जडिबुटी भन्नाले केवल ‘बिरुवा’ मात्र बुझिँदैन । आयुर्वेदमा जडिबुटीको अर्थ धेरै गहिरो छ । आयुर्वेदमा औषधी बनाउन प्रयोग हुने तत्वहरू जरा, पात, फूल, फल, बिउ, छाला/बोक्रा, गुदी/राल, डाँठ÷काण्ड, कन्द, सार÷रस हुन् । यही सबैलाई समेटेर ‘जडिबुटी’ भन्ने गरिन्छ । आयुर्वेदमा जडिबुटीलाई केवल रासायनिक औषधी जस्तो होइन, प्राकृतिक ऊर्जा भएको जीवनदायी औषधि भनेर बुझिन्छ । नेपालको मौलिक उपचार प्रणालीमा जडिबुटीको महत्त्व पाँच मुख्य पक्षमा देखिन्छः

गाउँ–गाउँको घरेलु उपचारः नेपालका ग्रामीण क्षेत्रमा आज पनि धेरै रोगको उपचार घरेलु औषधिबाट हुन्छ । उदाहरणका लागि ज्वरोमा तुलसी र अदुवाको झोल, खोकीमा बेसार र मह, पेट दुख्दा जिरा पानी, घाउमा हर्रो, बर्रो, अमला, ग्यासमा जीरा, मेथी यी सबै मौलिक उपचार हुन् ।

वैद्य र आयुर्वेद चिकित्सकको परम्पराः नेपालमा वैद्य परम्परा हजारौँ वर्षदेखि चल्दै आएको छ । कर्णाली क्षेत्रमा वैद्य, धामी–झाँक्री, लामा, अम्ची चिकित्सक (तिव्वती शैली) पनि सक्रिय छन् । उनीहरूले जडिबुटीबाट उपचार गर्छन् ।

आयुर्वेद औषधी उद्योगः नेपालमा आयुर्वेद औषधी उद्योगहरू छन् । यस्ता उद्योगलाई कच्चा पदार्थ चाहिन्छ, त्यो कच्चा पदार्थ जडिबुटी नै हो ।

निर्यात र आर्थिक सम्भावनाः कर्णालीका जडिबुटी भारत, चीन, युरोपसम्म निर्यात हुन्छन् । जडिबुटी नेपालको आर्थिक मेरुदण्ड बन्न सक्छ ।

संस्कृति र धर्मसँग जोडिएको उपचारः नेपालमा पूजा, संस्कार, धूप, धूनी, हवन, रुद्राक्ष, चन्दन, कपुर, जटामासी आदि धार्मिक परम्परामा प्रयोग हुन्छ । यी सबै जडिबुटी नै हुन् ।

 

कर्णाली प्रदेशमा पाइने धेरै जडिबुटीमध्ये केही अत्यन्त प्रसिद्ध र महत्त्वपूर्ण छन्ः

यार्सागुम्बाः यो कर्णालीको सबैभन्दा चर्चित जडिबुटी हो । विशेष गरी डोल्पा, मुगु, हुम्ला क्षेत्रमा पाइन्छ । यो जडिबुटी होइन, किरा र ढुसीको मिश्रित जीव हो । आयुर्वेदमा यसलाई बलवर्धक र रोगप्रतिरोधात्मक मानिन्छ ।

जटामासीः जटामासी सुगन्धित औषधीय जरा हो । मानसिक तनाव, अनिद्रा, स्नायु समस्या, रक्तचाप जस्ता समस्यामा प्रयोग हुन्छ ।

कुटकीः कुटकी कलेजो र पाचन प्रणालीका लागि अत्यन्त उपयोगी मानिन्छ । कुटकीलाई ज्वरो, पित्त, लिभर रोगमा प्रयोग गरिन्छ ।

पाँचऔंले (पञ्चऔंले): यसलाई शक्ति वर्धक र यौन शक्ति वृद्धि गर्ने औषधीका रूपमा प्रयोग गरिन्छ ।

अतिसः अतिस पेटको रोग, झाडापखाला, ज्वरो, संक्रमणमा प्रयोग हुन्छ ।

पदमचालः हिमाली क्षेत्रमा पाइने औषधीय वनस्पति हो । हड्डी दुखाइ र सुजन घटाउन उपयोगी मानिन्छ ।

भोजपत्रः भोजपत्रको बोक्रा आयुर्वेदिक प्रयोगमा आउँछ । प्राचीनकालमा भोजपत्रमा ग्रन्थ लेखिन्थ्यो ।

दालचिनी र तेजपत्ताः कर्णालीको केही क्षेत्रमै स्थानीय उत्पादन पाइन्छ । पाचन, चिसो, कफ समस्या कम गर्न प्रयोग हुन्छ ।

गुर्जोः ज्वरो र प्रतिरोध शक्ति बढाउन गुर्जो प्रसिद्ध छ ।

हर्रो, बर्रो, अमला (त्रिफला): यी तीनको मिश्रण त्रिफला बनिन्छ । त्रिफला पाचन सुधार, आँखा स्वास्थ्य, कब्जियत, शरीर शुद्धीकरणमा उपयोगी छ ।

जडिबुटी संकलनः सही समय र सही तरिका

जडिबुटीको औषधीय गुण त्यसको संकलन गर्ने समय र तरिका मा निर्भर हुन्छ । गलत समयमा संकलन गरियो भने जडिबुटीको औषधीय शक्ति घट्छ ।

जरा संकलन गर्ने समयः जरा प्रायः शरद ऋतु वा हिउँद सुरुमा संकलन गरिन्छ । किनकि त्यो समयमा बिरुवाको ऊर्जा जरा भित्र केन्द्रित हुन्छ ।

पात संकलन गर्ने समयः पात प्रायः बसन्त वा वर्षा सुरुमा संकलन गरिन्छ । त्यो बेला पातमा रस र औषधीय गुण बढी हुन्छ ।

फूल र फल संकलन गर्ने समयः फूल फूल्ने बेलामा, फल पाक्ने बेला संकलन गर्नुपर्छ ।

बोक्रा संकलन गर्ने समयः बोक्रा प्रायः बिरुवाको वृद्धि रोकिने समयमा लिनुपर्छ, ताकि बिरुवा नष्ट नहोस् ।

 

नैतिक संकलन

कर्णालीमा धेरै जडिबुटी अन्धाधुन्धा संकलन हुने समस्या छ । जडिबुटी जोगाउन निम्न कुरा आवश्यक छः
– बिरुवाको सबै भाग उखेलेर नष्ट नगर्ने
– बीउ छोड्ने
– पुनः उम्रिने क्षमता कायम राख्ने
– संरक्षण क्षेत्र बनाउने
– स्थानीय समुदायलाई तालिम दिने

 

जडिबुटी प्रशोधन: गुण बचाउने कला

संकलनपछि सबैभन्दा महत्वपूर्ण काम हो प्रशोधन । प्रशोधन सही नभए जडिबुटी बिग्रन्छ, फफूँद लाग्छ, कीरा लाग्छ, औषधीय शक्ति घट्छ ।

सफाइः पहिलो चरणमा माटो, ढुंगा, झारपात हटाइन्छ । सफा पानीले धुने जडिबुटी पनि हुन्छ, तर सबैलाई पानीले धुनु हुँदैन । धेरै जडिबुटी पानीले धुँदा रस निस्कन्छ ।

छायाँमा सुकाउनेः कर्णालीमा धेरैले घाममा सुकाउँछन्, तर धेरै जडिबुटी घाममा सुकाउँदा सक्रिय तत्व नष्ट हुन्छ । त्यसैले छायाँमा, हावामा, स्वच्छ ठाउँमा सुकाउनु उत्तम हो ।

टुक्र्याउने र काट्नेः ठूला जरा वा बोक्रा काटेर सुकाउँदा छिटो सुक्छ र भण्डारण सजिलो हुन्छ ।

ग्रेडिङ (छानबिन): सुकाइसकेपछि राम्रो र खराब जडिबुटी छुट्याउनुपर्छ । यसलाई ग्रेडिङ भनिन्छ । बजारमा राम्रो मूल्य पाउन ग्रेडिङ अत्यन्त आवश्यक छ ।

 

जडिबुटी भण्डारणः आयुर्वेद बचाउने आधार

जडिबुटी भण्डारण भनेको केवल ‘गोदाममा राख्ने’ होइन।यो औषधीय शक्ति बचाउने विज्ञान हो । जडिबुटी भण्डारणमा चार ठूलो खतरा हुन्छः नमी, घाम/ताप, कीरा/मुसा, फफूँद÷ढुसी ।

भण्डारणका लागि उपयुक्त स्थानः हावा आउने, सुख्खा, सफा, धुलो कम, तापक्रम मध्यम र पानी नजाने हुनुपर्दछ । कर्णालीमा धेरै ठाउँमा घरको भुइँतलामा राखिन्छ, जहाँ नमी धेरै हुन्छ । त्यसले जडिबुटी बिगार्छ ।

भण्डारणका भाँडा र बोराः परम्परागत रूपमा बाँसको टोकरी, माटोको भाँडा, कपडाको बोरा प्रयोग गर्ने गरिन्छ भने आधुनिक रूपमाः प्लास्टिक ड्रम (तर नमी नबस्ने ध्यान), कागजी कार्टुन, जूटको बोरा, एयरटाइट कन्टेनर (विशेष औषधिमा), लेबलिङ र मिति लेख्ने गर्नुपर्दछ । प्रत्येक जडिबुटीमा नाम, संकलन मिति, ठाउँ, वजन लेख्नुपर्छ । यसले बजारमा विश्वास बढाउँछ ।

भण्डारण अवधिः सबै जडिबुटी वर्षौं टिक्दैनन् । केही एक वर्ष, केही दुई वर्ष, केही पाँच वर्षसम्म टिक्छन् । जडिबुटीको प्रकारअनुसार समय फरक हुन्छ ।

फफूँद नियन्त्रणः भण्डारण कक्षमा नियमित हावा चलाउने, भुइँबाट माथि राख्ने (प्यालेट प्रयोग), नमी मापन गर्ने, धूप/नीमको पात प्रयोग गर्ने, कर्णाली प्रदेशमा जडिबुटी भण्डारणको परम्परागत अभ्यास गर्नुपर्दछ ।

कर्णालीका गाउँघरमा जडिबुटी भण्डारणको आफ्नै मौलिक तरिका छ । उदाहरणका लागि जडिबुटीलाई धुरीको माथि राखेर सुकाउने, भाँडामा राखेर खरानी छर्किने, धूप र धूनीले कीरा भगाउने, घरको माथिल्लो तलामा राख्ने, बाँसको टोकरीमा हावा खेल्ने गरी राख्ने गरिन्छ । यी विधिहरू आधुनिक विज्ञानसँग पूर्ण मेल नखाए पनि धेरै कुरामा प्रभावकारी छन् । तर आज बजारको माग अनुसार गुणस्तर कायम गर्न थप सुधार आवश्यक छ ।

 

जडिबुटी र स्थानीय समुदायः जीविकोपार्जनको आधार

कर्णालीमा जडिबुटी केवल औषधि होइन, यो जीवन चलाउने साधन पनि हो । धेरै गाउँमा मानिसहरू वर्षभरि खेतीबाट पर्याप्त खान नपाउँदा जडिबुटी संकलन गरेर बिक्री गर्छन् । जडिबुटी संकलनबाट नगद आम्दानी हुन्छ, बालबालिकाको पढाइ खर्च चल्छ, लत्ताकपडा किनिन्छ, ऋण तिर्न सकिन्छ, गाउँमा व्यापार चल्छ । तर समस्या के छ भने स्थानीयले धेरैजसो कच्चा रूपमा सस्तो मूल्यमा बेचिरहेका छन् । ठूलो नाफा व्यापारी र बाहिरी कम्पनीले लिन्छन् । यदि कर्णालीमै प्रशोधन र भण्डारण केन्द्र बने, उद्योग खुले, ब्रान्ड बने भने स्थानीयले नै ठूलो लाभ पाउने थिए ।

 

राष्ट्रगुरु योगी नरहरीनाथ र जडिबुटी चेतना

राष्ट्रगुरु योगी नरहरीनाथलाई नेपालमा राष्ट्रवादी चेतना, इतिहास संरक्षण, धार्मिक जागरण, सांस्कृतिक पुनर्जागरणका अभियन्ता भनेर चिनिन्छ । उहाँको योगदान केवल राजनीति वा धर्मसम्म सीमित छैन । उहाँले नेपालको मौलिक ज्ञान प्रणालीलाई पनि उठाउनुभयो ।

योगी नरहरीनाथको जीवनको मूल भावना थियो, ‘नेपालको आत्मा नेपाली संस्कृतिमा छ, नेपाली संस्कृतिको आत्मा आयुर्वेद, योग, साधना र मौलिक जीवनशैलीमा छ ।’ उहाँले धेरै पटक भन्नुभएको भावार्थ पाइन्छ– नेपाल विदेशी औषधिमा मात्र भर पर्नु हुँदैन । नेपालको आफ्नै जडिबुटी, आफ्नै उपचार, आफ्नै परम्परा छ।त्यसलाई जोगाउनु नै राष्ट्र जोगाउनु हो ।

कर्णाली–हिमाल यात्राबाट जडिबुटी पहिचानः योगी नरहरीनाथ कर्णाली, कालीकोट, दैलेख, जुम्ला, मुगु, हुम्ला, डोल्पा जस्ता ठाउँमा यात्रा गर्नुहुन्थ्यो । उहाँले ती यात्रामा धार्मिक स्थलको अध्ययन मात्र होइन, स्थानीय वनस्पति, जडिबुटी र परम्परागत उपचार पद्धति पनि बुझ्न खोज्नुभयो ।

स्थानीय वैद्य, पुजारी, गोठालो, जडिबुटी संकलकसँग भेटेर उहाँले यस्ता कुरा सुन्नुभयोः कुन बिरुवा कुन रोगमा प्रयोग हुन्छ, कुन समयमा जडिबुटी टिप्ने, कसरी सुकाउने, कसरी घरेलु औषधी बनाउने, कुन जडिबुटी दुर्लभ हुँदै गएको र मौलिक उपचारलाई राष्ट्रको आधार मान्ने दृष्टि । योगी नरहरीनाथको दृष्टिमा नेपाल ‘सामान्य देश’ होइन, नेपाल ऋषिमुनिको भूमि हो । ऋषि परम्परा भनेकै आयुर्वेद र योगको ज्ञान हो । त्यसैले नेपालले आयुर्वेदलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको सोच थियो ।

 

सांस्कृतिक संरक्षणसँगै प्राकृतिक सम्पदा संरक्षण

योगी नरहरीनाथले संस्कृतिको संरक्षण गर्दा प्राकृतिक सम्पदा जोगाउनुपर्ने सन्देश दिनुभयो । उहाँले मन्दिर, धर्मस्थल, तीर्थ जोगाउनु भनेको वन, पानी, जडिबुटी जोगाउनु पनि हो भन्ने बुझाउनुभयो । कर्णालीका धेरै तीर्थस्थल–छायाँनाथ, चन्द्रनाथ, भैरवनाथ, पञ्चकोशी क्षेत्र, मानसरोवर मार्ग आदि–यी सबै क्षेत्र जडिबुटीका धनी ठाउँ हुन् । उहाँले ती क्षेत्रको महत्त्व उजागर गर्दा स्वाभाविक रूपमा जडिबुटी संरक्षणको चेतना पनि फैलियो ।

योगी नरहरीनाथको योगदानः जडिबुटी संरक्षणमा योगी नरहरीनाथको भूमिका र योगदान दुई किसिमले हेर्न सकिन्छः

– अप्रत्यक्ष योगदान (चेतना निर्माण)

उहाँले नेपालका मौलिक सम्पदाबारे लेख, भाषण, यात्राबाट जनमानसमा चेतना जगाउनुभयो । राष्ट्रवादी विचारले ‘विदेशीको भर होइन, आफ्नै स्रोतको प्रयोग’ भन्ने सोचलाई बलियो बनायो । यसले आयुर्वेद र जडिबुटीको मूल्य बढाउने वातावरण तयार ग¥यो ।

– प्रत्यक्ष योगदान (अध्ययन, अभिलेख, प्रेरणा)

उहाँले कर्णाली क्षेत्रको इतिहास, मठमन्दिर, संस्कृत ग्रन्थ, लिपि, भाषा खोजी गर्दै गर्दा औषधीय ज्ञान पनि अभिलेखित गर्न प्रेरित गर्नुभयो । स्थानीय वैद्य परम्परा सुरक्षित रहोस् भनेर उहाँले उनीहरूलाई सम्मान दिने, उनीहरूको ज्ञान लेख्न प्रेरित गर्ने काम पनि गर्नुभयो ।

 

कर्णालीको जडिबुटी भण्डारणमा देखिएका समस्या

कर्णालीमा जडिबुटी धेरै भए पनि यसको उचित भण्डारण नहुँदा ठूलो क्षति भइरहेको छ । मुख्य समस्याः
– नमी र फफूँदः उच्च हिमाली क्षेत्रमा हिउँ र वर्षाको कारण नमी धेरै हुन्छ। राम्रो गोदाम नहुँदा जडिबुटी बिग्रन्छ ।
– उचित गोदाम र प्रविधिको अभावः स्थानीय स्तरमा आधुनिक भण्डारण केन्द्र, ड्रायर, प्याकेजिङ प्रणाली कम छन् ।
– व्यापारीको नियन्त्रणः स्थानीयले जडिबुटी कच्चै सस्तोमा बेच्नुपर्छ । व्यापारीले स्टक राखेर महँगोमा बेच्छ ।

 

अवैज्ञानिक संकलनः अन्धाधुन्ध उखेलेर संकलन गर्दा बिरुवा नष्ट हुन्छ ।

कानुनी र व्यवस्थापन कमजोरीः कहिलेकाहीँ अनुमति प्रणाली झन्झटिलो हुन्छ, कहिलेकाहीँ चोरी तस्करी हुन्छ ।

 

समाधानका उपायः कर्णालीलाई आयुर्वेदिक केन्द्र बनाउने बाटो

कर्णाली प्रदेशलाई जडिबुटीको भण्डारण र आयुर्वेदको मौलिक उपचार केन्द्र बनाउन निम्न उपाय महत्त्वपूर्ण छन्ः

स्थानीय स्तरमै जडिबुटी भण्डारण केन्द्र

प्रत्येक जिल्लामाः वैज्ञानिक गोदाम, सुख्खा राख्ने सुविधा, नमी नियन्त्रण प्रणाली, कीरा नियन्त्रण व्यवस्था

प्रशोधन उद्योग स्थापना

कर्णालीमैः ड्राइङ युनिट, पिस्ने मेसिन, तेल निकाल्ने युनिट, चूर्ण बनाउने उद्योग, रस/काढा बनाउने उद्योग, समुदायलाई तालिम

स्थानीयलाईः सही समयमा संकलन, संरक्षण विधि, गुणस्तर सुधार, प्याकेजिङ, बजार मूल्य बुझ्ने ज्ञान, जडिबुटी खेतीको विस्तार

केही जडिबुटी जंगलबाट मात्र होइन, खेतीबाट उत्पादन गर्न सकिन्छ । जस्तैः तुलसी, घोडताप्रे, अश्वगन्धा, गुर्जो, सतुवा, एलोभेरा ।

आयुर्वेद अस्पताल र वैद्य प्रणाली बलियो बनाउन कर्णालीका जिल्लामा आयुर्वेद अस्पताल, जडिबुटी अनुसन्धान केन्द्र, अम्ची केन्द्र स्थापना आवश्यक छ ।

 

नेपालको मौलिक उपचारलाई जोगाउन कर्णालीको भूमिका

नेपालको आयुर्वेद प्रणाली बचाउन कर्णालीले ठूलो भूमिका खेल्न सक्छ । किन कि कर्णालीमा दुर्लभ जडिबुटी धेरै छन् । कर्णालीको वातावरण शुद्ध छ । कर्णालीको जनजीवन अझै परम्परागत छ । वैद्य र अम्ची परम्परा अझै जीवित छ ।

यदि कर्णालीमा जडिबुटी संरक्षण र भण्डारण व्यवस्थित भयो भने नेपालले विदेशबाट औषधि आयात घटाउन सक्छ । नेपालले आफ्नै औषधि उत्पादन गर्न सक्छ।नेपालको मौलिक उपचार प्रणाली विश्वसामु पहिचान बनाउन सक्छ ।

राष्ट्रगुरु योगीनरहरीनाथको दृष्टिकोणः औषधि मात्र होइन, राष्ट्रको आत्मा

योगी नरहरीनाथले नेपालको मौलिक उपचारलाई केवल स्वास्थ्य प्रणाली होइन, राष्ट्रको आत्मा मान्नुभयो । उहाँको दृष्टिमा भाषा राष्ट्रियता हो । लिपि पहिचान हो । संस्कार सभ्यता हो । आयुर्वेद स्वास्थ्य मात्र होइन, राष्ट्रको मौलिक अस्तित्व हो । यदि नेपालले आयुर्वेद र जडिबुटी गुमायो भने नेपालले आफ्नो मौलिकता गुमाउँछ । त्यसैले उहाँले कर्णाली जस्ता क्षेत्रको इतिहास, संस्कृति, तीर्थ, साधना परम्परा उजागर गर्नुभयो । यसले जडिबुटीको महत्वलाई पनि राष्ट्रवादी चेतनामा जोडिदियो ।

निष्कर्षः कर्णाली, आयुर्वेद र राष्ट्रनिर्माण

कर्णाली प्रदेश नेपालका लागि केवल दुर्गम क्षेत्र होइन । कर्णाली नेपालका लागि प्राकृतिक औषधि भण्डार हो । कर्णालीका जडिबुटीले नेपालको आयुर्वेदिक पहिचान बचाउन सक्छ । जडिबुटीको उचित भण्डारण, प्रशोधन, संरक्षण र बजार व्यवस्थापन भयो भने स्थानीय जनताको आयस्तर बढ्छ । रोगको मौलिक उपचार सम्भव हुन्छ । आयुर्वेद उद्योग फष्टाउँछ । विदेश निर्भरता घट्छ ।

नेपालले विश्व बजारमा आयुर्वेदिक ब्रान्ड बनाउन सक्छ राष्ट्रगुरु योगीनरायणनाथ÷योगी नरहरीनाथले यही मौलिक चेतना जगाउने काम गर्नुभयो । उहाँको जीवनले हामीलाई एउटा सन्देश दिन्छ, ‘नेपालको शक्ति विदेशमा होइन, नेपालको आफ्नै माटो, वन, जडिबुटी, संस्कृति र आत्मामा छ ।’ कर्णालीका जडिबुटी जोगाउनु भनेको केवल व्यापार गर्नु होइन, यो नेपाललाई आत्मनिर्भर बनाउने राष्ट्रिय अभियान हो।यो आयुर्वेद बचाउने अभियान हो । यो मौलिक उपचार र मौलिक अस्तित्व बचाउने अभियान हो ।

 

कर्णालीका ५०+ जडिबुटीः नाम, गुण र प्रयोग

१. यार्सागुम्बा

गुणः बलवर्धक, रोग प्रतिरोधात्मक शक्ति बढाउने
प्रयोगः थकान, कमजोरी, श्वास समस्या, यौन शक्ति, दीर्घ रोगपछि शरीर बलियो बनाउन

२. जटामासी

गुणः स्नायु शान्त गर्ने, तनाव घटाउने
प्रयोगः अनिद्रा, मानसिक तनाव, टाउको दुखाइ, रक्तचाप नियन्त्रण

३. कुटकी

गुणः कलेजो शुद्ध गर्ने, पित्त घटाउने
प्रयोगः ज्वरो, पित्त रोग, कलेजो समस्या, पाचन कमजोर हुँदा

४. पाँचऔंले (पञ्चऔंले)

गुणः शक्ति बढाउने, पौष्टिक
प्रयोगः कमजोरी, यौन दुर्बलता, सुत्केरीपछि बल बढाउन

५. अतिस

गुणः पेट सफा गर्ने, संक्रमण घटाउने
प्रयोगः झाडापखाला, पेट दुखाइ, ज्वरो, अपच

६. पदमचाल

गुणः सुजन घटाउने, जोर्नी बलियो बनाउने
प्रयोगः बाथ, जोर्नी दुखाइ, शरीर सुन्निने समस्या

७. भोजपत्र

गुणः छाला रोग कम गर्ने, पिसाब समस्या सुधार
प्रयोगः छाला रोग, घाउ, पिसाब पोल्ने

८. सतुवा

गुणः बलवर्धक, पौष्टिक
प्रयोगः कमजोरी, शरीर तागत बढाउन, सुत्केरी र वृद्धलाई

९. गुर्जो

गुणः ज्वरो घटाउने, प्रतिरोध शक्ति बढाउने
प्रयोगः ज्वरो, टाइफाइडजस्ता समस्या, रोग प्रतिरोधात्मक शक्ति कमजोर हुँदा

१०. हर्रो

गुणः पेट सफा गर्ने, कब्जियत हटाउने
प्रयोगः कब्जियत, ग्यास, पेटको समस्या

११. बर्रो

गुणः पाचन सुधार, कफ नियन्त्रण
प्रयोगः खोकी, कफ, पाचन कमजोर हुँदा

१२. अमला

गुणः भिटामिन ऋ भरपूर, शरीर चिसो बनाउने
प्रयोगः आँखा कमजोरी, रुघाखोकी, छाला चम्काउने

१३. त्रिफला (हर्रो+बर्रो+अमला)

गुणः शरीर शुद्ध गर्ने, पेट र आँखा सुधार
प्रयोगः कब्जियत, आँखाको समस्या, पाचन सुधार

१४. तुलसी

गुणः कफ हटाउने, संक्रमण रोक्ने
प्रयोगः रुघाखोकी, घाँटी दुखाइ, ज्वरो

१५. अदुवा

गुणः शरीर तातो बनाउने, पाचन बलियो
प्रयोगः चिसो, खोकी, ग्यास, अपच

१६. बेसार

गुणः घाउ निको पार्ने, संक्रमण घटाउने
प्रयोगः चोटपटक, घाउ, रगत सफा, छाला रोग

१७. टिमुर

गुणः पाचन सुधार, पेट दुखाइ कम
प्रयोगः दाँत दुखाइ, पेट ग्यास, रुघाखोकी

१८. जिरा

गुणः पाचन बलियो बनाउने
प्रयोगः पेट फुल्ने, ग्यास, सुत्केरीको पेट समस्या

१९. मेथी

गुणः रक्त शुद्ध, मधुमेह नियन्त्रणमा सहयोगी
प्रयोगः ग्यास, सुजन, मधुमेहमा सहयोग

२०. लसुन

गुणः रक्तचाप घटाउने, शरीर तातो बनाउने
प्रयोगः चिसो, उच्च रक्तचाप, कोलेस्ट्रोल घटाउन

२१. बोझो

गुणः घाँटी सफा गर्ने, स्वर खुलाउने
प्रयोगः घाँटी दुखाइ, टन्सिल, खोकी

२२. पुदिना

गुणः पेट शान्त गर्ने, वान्ता रोक्ने
प्रयोगः वान्ता, ग्यास, पेट दुखाइ

२३. चिराइत

गुणः ज्वरो घटाउने, रगत शुद्ध गर्ने
प्रयोगः ज्वरो, छाला रोग, रगत बिग्रिएको समस्या

२४. सिस्नो

गुणः रगत बढाउने, पौष्टिक
प्रयोगः रक्तअल्पता, जोर्नी दुखाइ, शक्ति बढाउन

२५. घोडताप्रे

गुणः स्मरण शक्ति बढाउने
प्रयोगः दिमाग कमजोर, घाउ चाँडो निको पार्न

२६. बकाइनो

गुणः कीरा मार्ने, छाला रोग हटाउने
प्रयोगः छाला रोग, घाउमा संक्रमण रोक्न

२७. नीम

गुणः रगत शुद्ध, छाला रोग हटाउने
प्रयोगः खुजली, फोका, घाउ सफा

२८. असुरो

गुणः कफ हटाउने, श्वास सहज बनाउने
प्रयोगः दम, खोकी, ब्रोंकाइटिस

२९. बेल

गुणः पेट शान्त गर्ने
प्रयोगः झाडापखाला, पेट दुखाइ, गर्मीको समस्या

३०. धतुरो (सावधानी आवश्यक)

गुणः पीडा कम गर्ने तर विषालु पनि हुन्छ
प्रयोगः जोर्नी दुखाइमा बाहिरी लेपन (वैद्यको निगरानीमा मात्र)

३१. गाईजत्रो (गुर्जा जस्तै प्रयोग हुने केही स्थानीय नाम)

गुणः ज्वरो घटाउने
प्रयोगः घरेलु काढामा प्रयोग

३२. काफल

गुणः पाचन सुधार, भोक बढाउने
प्रयोगः भोक नलाग्ने, शरीर कमजोरी

३३. चिउरी

गुणः घिउरतेल औषधीय
प्रयोगः छाला सुख्खा, घाउ, चिसोमा शरीर मालिस

३४. रिठ्ठा

गुणः प्राकृतिक साबुन, कपाल सफा
प्रयोगः कपाल झर्ने, टाउकोको फुस्रोपन, छाला सफाइ

३५. अम्बा पात

गुणः झाडापखाला रोक्ने
प्रयोगः पेट खराब, रक्तश्राव हुने झाडा

३६. दालचिनी

गुणः शरीर तातो बनाउने, मधुमेह नियन्त्रणमा सहयोग
प्रयोगः चिसो, खोकी, मधुमेहमा काढा

३७. तेजपत्ता

गुणः पाचन सुधार
प्रयोगः ग्यास, अपच, स्वाद र औषधि मिश्रण

३८. सर्पगन्धा

गुणः रक्तचाप घटाउने, निद्रा ल्याउने
प्रयोगः उच्च रक्तचाप (वैद्य÷चिकित्सकको सल्लाहमा)

३९. नागबेली

गुणः पेटको कीरा हटाउने
प्रयोगः पेट दुखाइ, कीरा समस्या

४०. गन्धक (खनिज औषधी)

गुणः छाला रोगमा उपयोगी
प्रयोगः खुजली, फोका (विशेष प्रशोधनपछि मात्र)

४१. शिलाजित

गुणः बलवर्धक, स्नायु बलियो
प्रयोगः कमजोरी, थकान, यौन दुर्बलता

४२. कपुर

गुणः सास खुलाउने, संक्रमण घटाउने
प्रयोगः रुघाखोकी, सुगन्ध, घाउ सफा

४३. चन्दन

गुणः शरीर चिसो बनाउने
प्रयोगः टाउको दुखाइ, गर्मी, छाला जलन

४४. रुद्राक्ष

गुणः मानसिक शान्ति, तनाव घटाउने
प्रयोगः ध्यान साधना, मन शान्त पार्न

४५. बबूल

गुणः दाँत मजबुत बनाउने
प्रयोगः मसुडा सुन्निने, दाँत दुखाइमा कुल्ला

४६. कागती

गुणः पाचन सुधार, भिटामिन
प्रयोगः अपच, रुघाखोकीमा घरेलु रस

४७. फापर (फापरको पिठो पनि औषधीय)

गुणः मधुमेह नियन्त्रणमा सहयोगी
प्रयोगः पेट सफा, चिल्लो घटाउने आहार

४८. अलैंची

गुणः मुखको दुर्गन्ध हटाउने, पाचन सुधार
प्रयोगः ग्यास, मुख सफा, खोकीमा सहयोग

४९. धुपी (जुनिपर)

गुणः श्वास नली सफा, कीटाणु नाशक
प्रयोगः धूप, सर्दी, छाती भारी हुँदा

५०. बाँसको टुसा

गुणः पाचन सुधार
प्रयोगः ग्यास, कब्जियतमा खानपान

५१. बन तुलसी (जंगली तुलसी)

गुणः संक्रमण रोक्ने
प्रयोगः ज्वरो, रुघाखोकी

५२. जंगली प्याज (वन प्याज)

गुणः शरीर तातो बनाउने
प्रयोगः चिसो, खोकी, शक्ति बढाउन

५३. भुइँअमला

गुणः कलेजो सुधार, पिसाब समस्या
प्रयोगः जन्डिस, पिसाब पोल्ने

५४. कालमेघ

गुणः रगत शुद्ध, ज्वरो घटाउने
प्रयोगः ज्वरो, छाला रोग

५५. अर्जुनको बोक्रा

गुणः मुटु बलियो बनाउने
प्रयोगः मुटुको कमजोरी, रक्तचाप सन्तुलन

५६. अश्वगन्धा

गुणः स्नायु बलियो, बलवर्धक
प्रयोगः तनाव, कमजोरी, अनिद्रा

५७. गिलोय/गुर्जोको रस (विशेष रूपमा)

गुणः प्रतिरोध शक्ति बढाउने
प्रयोगः लामो ज्वरो, एलर्जी, रोग प्रतिरोध

५८. नागकेसर

गुणः रक्त रोक्ने, सुजन घटाउने
प्रयोगः नाकबाट रगत आउने, घाउ

५९. बयर (बेर)

गुणः पेट सफा, रगत बढाउने
प्रयोगः कब्जियत, कमजोरी

६०. कालीदाना (कालो जिरा)

गुणः प्रतिरोध शक्ति बढाउने
प्रयोगः खोकी, चिसो, पाचन
विशेष नोट (महŒवपूर्ण चेतावनी)

 

कर्णालीका केही जडिबुटी अत्यन्त शक्तिशाली हुन्छन् । जस्तै धतुरो, सर्पगन्धा, गन्धक, शिलाजित, केही विषालु जरा । यी वैद्य÷आयुर्वेद चिकित्सकको सल्लाह विना सेवन गर्नु हुँदैन ।

कर्णालीमा जडिबुटी प्रयोग हुने मुख्य रोग क्षेत्र (सरल वर्गीकरण)

 ज्वरो र संक्रमणः गुर्जो, चिराइतो, कुटकी, तुलसी
 पाचन समस्याः हर्रो, बर्रो, अमला, जिरा, मेथी
 श्वासरखोकीः असुरो, तुलसी, अदुवा, बोझो
 जोर्नीरबाथः पदमचाल, सिस्नो, जटामासी
 छाला रोगः नीम, बेसार, रिठ्ठा
 बलवर्धकः यार्सागुम्बा, सतुवा, पाँचऔंले, शिलाजित
 मानसिक तनावरनिद्राः जटामासी, सर्पगन्धा (सावधानी)

 

(लेखक धर्मराज शाही योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान कर्णाली प्रदेशका संस्थापक अध्यक्ष हुन् ।)

प्रकाशित मितिः   २२ बैशाख २०८३, मंगलवार ०५:०४