पूर्वाधारमा प्रगति
कर्णाली प्रदेशमा बर्सेनि पूर्वाधार विकासमा प्रगति भएको छ । विशेष गरेर सडक पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको छ । नयाँ सडक निर्माण, पुरानोको मर्मत र स्तरोन्नतिका काम हरेक वर्ष भइरहेका छन् । प्रदेश सरकारले हालसम्म तीन सय किलोकिलोमिटर भन्दा बढी सडक कालोपत्रे गरेको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म तीन सय दुई दशमलव ८४ किलोमिटर सडक कालोपत्रे गरिएको छ । चालु आर्थिक वर्षमा मात्र ५३.२६ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो वर्ष एक सय ६१ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको थियो ।
सरकारले हालसम्म सात सय ७४.७ किलोमिटर सडक ग्रावेल गरेको छ । चैत मसान्तसम्मको वितरणमा उल्लेख गरिएअनुसार यो वर्ष मात्र ६१.०६ किलोमिटर सडक ग्रावेल गरिएको हो । यो प्रगति लक्ष्यभन्दा कम हो । सरकारले यो वर्ष एक सय ३९.७० किलोमिटर सडक ग्रावेल गर्ने लक्ष्य राखेको थियो । तथ्यांकअनुसार तीन हजार दुई सय ७६ किलोमिटर माटे सडक निर्माण गरिएको छ । यो वर्ष एक सय ८४ किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य राखिएको भएपनि एक सय १३.९८ किलोमिटर मात्र माटे सडक निर्माण गरिएको छ । अहिलेसम्म नालालगायतका अन्य पूर्वाधार सात सय ४५.५९ वटा निर्माण भएका छन् । यो वर्ष ९६.८० वटा निर्माण गर्ने लक्ष्य राखिएकोमा १००.८४ वटा निर्माण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले अहिलेसम्म एक सय ५१ वटा झुलुङ्गे पुल निर्माण गरेको छ । यो वर्ष मात्र ६३ वटा झुलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा २६ वटा मात्र निर्माण भएका छन् । सरकारले हालसम्म ६२ वटा सडक पुल निर्माण गरेको छ । यो वर्ष मात्र ४४ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको प्रदेश सरकारले नौ वटा सडक पुल मात्र निर्माण गरेको हो ।
अहिलेसम्म प्रदेश सरकारले २६ वटा सार्वजनिक भवन निर्माण गरेको छ । यो वर्ष ५१ वटा निर्माण गर्ने लक्ष्य लिएकोमा सात वटा मात्र निर्माण गरिएको छ । संघीय सरकारको जनता आवास कार्यक्रमअन्तर्गत तीन हजार पाँच सय ६८ वटा घर निर्माण भएका छन् । यो वर्ष एक सय ५३ वटा घर निर्माण गर्ने लक्ष्य राखिएकोमा ३८ वटा मात्र निर्माण भएका छन् । सोही कार्यक्रमअन्तर्गत प्रदेश सरकारले छुट्टै घर निर्माणको काम गरिरहेको छ । यसरी पूर्वाधार विकासका कामले गति लिन थालेको छ । यद्यपि, अझै पनि लक्ष्य अनुरूप काम हुन सकेको छैन ।
प्रकाशित मितिः २० बैशाख २०८३, आईतवार ०५:०३
सम्पादकीय ।