गिद्ध संरक्षण गर्दै प्रदेश सरकार

सुर्खेत: कर्णाली प्रदेश सरकारले गिद्ध वासस्थान संरक्षणको योजना बनाएको छ । गिद्धको संख्या घट्न थालेपछि सरकारले गिद्ध संरक्षणको योजना बनाएको हो । गिद्ध संरक्षणका लागि स्थानीय तह तथा समुदायमा सचेतनाका कार्यक्रम गर्ने गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय विषाक्त औषधिको प्रयोग, सुरक्षित बासस्थान अभाव, विद्युतीय धराप, रुक कटान, मानवीय अज्ञानताका कारण गिद्धको संख्या दिनप्रतिदिन घटिरहेको छ । यो वर्ष पनि पन्छी संरक्षणका लागि विभिन्न कार्यक्रम गरिएको मन्त्रालयको वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाले जनाएको छ । गतवर्षको चैत १२ गते मुगुको गमगडीमा सचेतना कार्यक्रम गरिएको महाशाखा प्रमुख शेरबहादुर परियारले बताए । यो वर्षबाट प्रदेश सरकारले गिद्ध संरक्षणको योजना ल्याएको हो । पहिलो वर्ष गिद्धको बासस्थान धेरै भएको ठाउँमा विभिन्न सचेतनाका कार्यक्रम गरिएको परियारले बताए ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर पन्छी संरक्षणको योजना ल्याएको थियो । यो वर्ष कार्यक्रम कार्यान्वयनका लागि आठ लाख बजेट विनियोजन गरिएको छ । यो वर्ष अध्ययनका काम गरेर अर्को वर्ष कार्यक्रम कार्यान्वयन गरिने महाशाखा प्रमुख परियाले बताए । उनले भने, ‘गिद्ध विश्वभरि नै संकटमा परेको छ, नेपालमा कर्णाली प्रदेश गिद्धको प्रमुख बासस्थानको रूपमा विकास भएको छ, अहिले कुन ठाउँमा गिद्ध बढी बसोबास गर्छन् भन्ने सामान्य खाका निर्माणको काम भइरहेको छ, सोही अनुरूप आगामी वर्षको योजना निर्माण गरिनेछ ।’

आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी योजना निर्माण गरिएको मन्त्रालयले जनाएको छ । पन्छी विज्ञसँग राय सुझाव माग गरिएको छ । गिद्ध संरक्षणमा स्थानीय सरकारको सहभागितामा जोड दिनेगरी समुदायमा सचेतीकरण कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । तीन तहको सरकार र समुदाय मिलेर आहारा व्यवस्थापन, पूर्वाधार विकासमा जोड दिनेगरी योजना निर्माणको काम भइरहेको प्रदेश सरकारले जनाएको छ । केही जिल्लाहरूमा पुगेर यसको बारेमा सामान्य जानकारी लिने तथा सचेतना फैलाउने काम गरिएको महाशाखा प्रमुख परियाले जानकारी दिए । सामुदायिक वन र संरक्षणकर्ताको सक्रियताले मात्र गिद्धको सुरक्षित बासस्थान बन्न सक्छ । पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको प्रयोग न्यून भएपछि गिद्धको मृत्युदर घट्ने परियारले बताए । अहिले पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेकको अत्यधिक मात्रामा प्रयोग बढेको छ ।

यस्तै, पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत गिद्ध संरक्षणको योजना बनाएको छ । गिद्ध संरक्षण गर्ने उद्देश्यले (गौशाला) निर्माण गरिएको छ । अहिले चौकुनेमा रहेको गौसंरक्षण केन्द्र (गौशाला) गिद्धको जमघटस्थल बनेको छ । चौकुने गाउँपालिका–३ मा डेढवर्षदेखि संरक्षण केन्द्र सञ्चालनमा आएपछि ठूलो संख्यामा गिद्ध आउन थालेको गाउँपालिकाले जनाएको छ । किसानले बुढा भएका र बिरामी चौपाया छाडा छाड्ने क्रम बढ्दै गएपछि व्यवस्थापन गर्न गाउँपालिकाले गौसंरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ तर यही ठाउँमा पछिल्लो समय गिद्धको हुल भेटिने गरेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए । छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने र फोहोर बढ्न थालेपछि गाउँपालिकाको सक्रियतामा गत वर्षबाट गौसंरक्षण केन्द्र सञ्चालन गरिएको हो । केन्द्र मरेका गाईगोरु खाल्डो खनेर फाल्न थालेपछि वरपर गिद्ध आउने क्रम बढ्दै गएको छ ।

प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख चरा गिद्ध अहिले गौसंरक्षण वरपर ठूलो संख्यामा जमघट हुने गरेका छन् । सिनो खाने पर्खाइमा यस क्षेत्रमा करिब एक सय ५० हाराहारी गिद्ध देखा पर्ने गरेको चौकुने गाउँपालिकाका अध्यक्ष विकले बताए । कर्णाली नदीको किनारमा संरक्षण केन्द्र छ । गौशालाको पञ्चिमतर्फ कर्णाली नदी बग्छ भने नदीपारि विभिन्न प्रजातिका रुखसहितको ठूलो जंगल छ । गाउँपालिकाबाट सञ्चालित गौसंरक्षण केन्द्रमा हाल ८० गाईगोरु छन् । वातावरण प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने गिद्ध ठूलो संख्यामा देखिने गरेको जनाइएको छ । उनका अनुसार गौशालामा एकै दिनमा दुई÷तीन वटासम्म बुढा गाईगोरु मर्दा एक सय बढी गिद्ध आउने गर्छन् तर सिनो खाएर विश्रामका लागि अग्ला स्थान खोज्दै जंगलमा पुग्ने गरेका छन् । गौशालाआसपास निखर कालो, सेतो, घाँटीमा बाक्लो रौँ भएको, घाँटी खुइले, कान लामो भएको, राजलगायत सात प्रजातिका गिद्ध देखा परेको गाउँपालिकाले जनाएको छ ।

बुढापाकाका अनुसार केही वर्षपहिले पनि उक्त स्थानमा सोही प्रजातिका गिद्ध देखा पर्ने गरेका थिए । नेपालमा नौ प्रजातिका गिद्ध पाइने चराविद्ले बताउने गरेका छन् । यीमध्ये ६ प्रजातिका गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोरल्ने गर्छन् भने बाँकी तीन प्रजातिका गिद्ध बसाइँसराइ गरेर आउने गरेका छन् । गौसंरक्षण केन्द्रमा बसाइँसराइ गरी आएकामध्ये राज गिद्ध मङ्गोलिया र एसिया, खैरे गिद्ध युरोप र मध्यएसियामा प्रजनन् गर्छन् । बटुवा गिद्ध भनिने यिनीहरू गर्मीयाम सुरु भएसँगै फर्किन्छन् ।

प्रकाशित मितिः   १७ बैशाख २०८३, बिहीबार ०५:०५