लोपोन्मुख समुदायको संरक्षण
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको चार वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञहरूसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताएका थिए । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो । तर, अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन । राउटेहरूमाथि गैरराउटे समुदायबाट असुरक्षा बढ्दै गएपछि उनीहरूको कला, संस्कृति र मौलिकता जोगाउँदै सामाजिकरण गर्ने र सुरक्षाको प्रत्याभूति दिलाउन एकीकृत नीति बनाइने सरकारले जनाएको थियो । यद्यपि, त्यसलाई पूर्णता दिन भने ढिलाइ भइरहेको छ ।
राउटे संरक्षण नीति निर्माणको काम भने भइरहेको सरकारको दाबी छ । नीतिको शैद्धान्तिक सहमतिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेस गरिएको छ । आर्थिक मामिला मन्त्रालयबाट सहमतिको प्राप्त भएपछि मन्त्रिपरिषद्मा पेस गरिने छ । नीति निर्माणको काममा ढिलाइ भएको स्वीकार्दै मन्त्रालयले अब भने नीति नै बनाएर राउटेको क्षेत्रमा काम गर्ने जनाएको छ । राउटेलाई स्थायी बसोबास गराउने, नागरिकताको प्रमाणपत्र प्रदान गर्ने, उनीहरूको भाषालाई लिपिबद्ध गर्दैै संस्कृति संरक्षण गर्नेलगायतका विषय नीतिको मस्यौदामा समेटिएको छ । फिरन्ते जीवन बिताइरहेका राउटेलाई स्थायी बसोबासदेखि नागरिकता प्रदान गर्ने योजनासहितको नीति निर्माण गर्न लागिएको हो । यस्तै, मन्त्रालयले राउटे समुदायको सशक्तीकरणका लागि पनि विभिन्न कार्यक्रम गरेको छ । शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा सचेतना फैलाउनका लागि कार्यक्रम गरिएको हो । सरकारले राउटे करिडोर योजना पनि अघि सारेको छ । चालु आर्थिक वर्ष २०८२/२०८३ मा कर्णाली प्रदेशको राउटे नीति, राउटे समन्वय समितिको अध्ययन प्रतिवेदन, विभिन्न संवैधानिक आयोगको सिफारिस तथा राउटेको विगत १० वर्षको बसोबासस्थलको नक्सांकनका आधारमा करिडोर बन्ने विषय समावेश गरेको हो ।
नीति नबनेका कारण उक्त योजना पनि कार्यान्वयन भएको छैन । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यानलगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर राउटे बसोबास गर्छन् । राउटे बसाइँ सर्ने क्षेत्र समेटेर बनाइने करिडोर अवधारणामा राउटे समन्वय समितिको निर्णयका आधारमा प्रोफाइल प्रकाशन गर्ने, विकास साझेदारको समन्वयमा पोषणयुक्त खाद्य सामग्री प्रदान गर्ने, राउटेका लागि प्रादेशिक तथा अन्य सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने लगायतका विषय समावेश गरिएको छ । यसबोहक राउटे समुदायका बालबालिकालाई शिक्षाको अवसरतर्फ अग्रसर गराउन आवश्यक सामग्री विकास गरी वितरण गर्नेदेखि क्षमता विकासका कार्यक्रम राउटे करिडोरमार्फत गर्नेगरी योजना निर्माण गरिएको छ । जीवनस्तर सुधारका विभिन्न कार्यक्रममार्फत उनीहरूलाई समावेश गर्न प्रयास गरिएको भए पनि उनीहरूको परम्परा तथा स्वतन्त्रताको सम्मान गरी विकासको मार्ग तय गर्न चुनौतीपूर्ण देखिएको छ ।
प्रकाशित मितिः १५ बैशाख २०८३, मंगलवार ०५:०३
सम्पादकीय ।