दुई करोडको अक्षयकोष

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयले दुई करोडको अक्षयकोष स्थापना गरेको छ । वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारीमा अक्षयकोषण स्थापना गरिएको हो । विश्वविद्यालय र वीरेन्द्रनगरबीच उच्च शिक्षा प्रवद्र्धनका लागि छात्रवृत्तिका लागि सम्झौता भएको छ ।

‘उच्च शिक्षा शैक्षिक छात्रवृत्ति अक्षयकोष–२०८३’ सम्बन्धी सम्झौतामा बिहीवार हस्ताक्षर गरिएको हो । विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम र नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनमाया ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार दुई करोड दुई लाख दुई हजार दुई सय दुई रूपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यो कोषबाट छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिनेछ ।

नगर प्रमुख ढकालले शैक्षिक उन्नयनका लागि यो एउटा महŒवपूर्ण कदम भएको बताइन् । उच्च शिक्षामा आम नागरिकको पहुँच स्थापित गर्न स्थानीय सरकारको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले अक्षयकोष स्थापना गरिएको उनको भनाइ छ । नगरपालिका क्षेत्रभित्र रहेको विश्वविद्यालयसँग सहकार्य गर्नु आवश्यक रहेको उल्लेख गरिन् । वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले सबै क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने दायित्व रहेको उनले बताइन् ।

उपकुलपति गौतमले विश्वविद्यालयलाई समुदायसँग जोड्ने प्रयास भइरहेको जानकारी दिए । उनले आफ्नो नेतृत्वकालमा स्थायी कोष निर्माणका लागि कार्यविधि पास गरिएको बताए । स्थानीय सरकारसँगको सहकार्यले शैक्षिक गुणस्तर सुधार हुने उनले विश्वास व्यक्त गरे ।

यो सम्झौताले स्थानीय तह र विश्वविद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । यसले दीर्घकालीन रूपमा छात्रवृत्ति व्यवस्थापन र शैक्षिक अवसर विस्तारमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मितिः   ११ बैशाख २०८३, शुक्रबार १३:४३