अपाङ्गता भएकाको प्रश्नः विपद्मा हामी कसरी बच्ने ?
सुर्खेत: २०८० कार्तिक १७ गते गएको भूकम्पले जाजरकोट र रूकुम–पश्चिममा धनजनको ठूलो क्षति ग¥यो । भूकम्पमा परी एक सय ५४ जनाले ज्यान गुमाए । तीन सय ७२ जना घाइते भए । विद्यालय, स्वास्थ्य चौकीसहित सयौं निजी घर भत्केका छन् । विवरण अनुसार, भूकम्पमा परी ज्यान गुमाउनेहरूमा आधाजति बालबालिका थिए भने पुरुषका तुलनामा महिलाको संख्या बढी छ । अहिले ग्रामीण क्षेत्रमा धेरैजसो घरपरिवारको रेखदेखको जिम्मा महिलाकै भागमा परेको छ । अझ कर्णालीको कुरा गर्ने हो भने त यहाँका अधिकांश पुरुष कमाउनका लागि कि कालापहाड (भारत) वा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् । त्यसले गर्दा पनि भूकम्पबाट क्षति बेहोर्नेमा महिला र बालबालिकाको संख्या बढी छ ।
त्यस्तै, मृत्यु हुनेहरूमा दलित समुदायका सदस्यहरूको संख्या धेरै छ । मसिनोसँग केलाउँदा विपद्मा ज्यान गुमाउनेहरूमा अपाङ्गता भएका महिला र बालकालिका धेरै रहेको पाइएको छ । यो त भयो कर्णालीमा घटेको ठूलो विपद्को घटना । स–साना विपद्का घटनाहरूमा समेत महिला तथा बालबालिका त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू धेरै प्रभावित हुने गरेका छन् ।
भनिन्छ, विपद् बाजा बजाएर आउँदैन । अर्थात्, यो जुनसुकै दिन अनि जुनसुकै समयमा पनि निम्तिन सक्छ । कर्णाली प्रदेश विपद्को जोखिमयुक्त प्रदेशमध्यको एक भनेर विज्ञले औंल्याइरहेका छन् । प्राकृतिक र भौगोलिक हिसाबले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरू स्वतः जोखिममा पर्ने नै भए । त्यसमा पनि अपाङ्गता भएकाहरू सबैभन्दा बढी जोखिममा पर्ने गरेका छन् । किनकि अपाङ्गता नभएका मान्छे दौडिएर सुरक्षित स्थानमा पुगिसक्दा अपाङ्गता भएका व्यक्ति भने जहीँको त्यही हुने गर्छन् । यहाँ मानव निर्मित संरचना अपाङ्गतामैत्री छैनन् ।
अपाङ्गता भएकाहरू बढी जोखिममा पर्नुमा निर्मित संरचना दोषी रहेको सरोकारवालाहरूले बताएका छन् । सोमवार वीरेन्द्रनगरमा भएको विपद् न्यूनिकरण गर्न सरोकारवालाहरूको भूमिका विषयक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । ‘समावेशी विपद् जोखिम न्यूनीकरणसम्बन्धी’ छलफलमा बोल्दै शारीरिक अपाङ्गता भएकी बिमला बुढाले भनिन्, ‘यहाँका सरकारी कार्यालयमा पुग्दा वा होटलमा बैठक बसेको बेलामा भूकम्प गयो भने हामी कसरी बाँच्ने ?’ उनी त्यतिमा रोकिनन् र अगाडि भनिन्, ‘तपाईंहरू त दौडेर सुरक्षित स्थानमा पुग्नु होला, तर म कसरी निस्किन्छु ?’
उनले विपद्का बेला बाहिर निस्किने आकस्मिक ढोकासमेत सरकारी कार्यालय वा होटल, अस्पतालमा नभएको भन्दै गुनासो गरिन् । शारीरिक अपाङ्गता भएकी धनसरा शाहीले अपाङ्गतामैत्री भवन निर्माण नहुँदा विपद्का बेला आफूहरू थप जोखिममा परेको बताइन् ‘संविधान र कानुनमा अपाङ्गमैत्री भवन, भवन संहिता होलान् तर हामीलाई विपद्का बेला तत्काल बाँच्नका लागि वातावरण छैन,’ उनले भनिन् । दुवै कान नसुन्ने पुष्पा रेग्मीले सूचना पहुँचयुक्त नहुँदा अपाङ्गता भएकाहरू जोखिमबाट बच्न समस्या परेको बताइन् । ‘विपद् सम्बन्धी सूचनाहरू अपाङ्गता नभएका व्यक्तिका लागि मात्र बनाइन्छन्,’ उनले भनिन्, ‘हामी बहिराले कसरी थाहा पाउने ?’ सूचना सांकेतिक भाषामा पनि निर्माण गरेर प्रसारण गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रमका सहभागीहरूमध्य अपाङ्गता भएका व्यक्तिको तर्कले सबैको ध्यान खिचेको थियो ।
वीरेन्द्रनगरको विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले विपद् पूर्वतयारीमा जोड दिएको बताए । ६० लाखको विपद् कोष निर्माण गरिएको भन्दै उनले कार्ययोजना निर्माण गरेर विपद् न्यूनिकरणका काम लागेको जनाए । विपद्का क्षेत्रमा काम गर्दै आएकी माया सापकोटाले मानव अधिकार सुरक्षित गर्नु राज्यको दायित्व भएको बताइन् । उनले भनिन्, ‘समावेशी जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न राज्य जिम्मेवार हुनुपर्छ, विपद् प्रतिकार्य योजना निर्माण गर्दा लक्षित वर्गका सवाल अनिवार्य रूपमा समेटिनुपर्छ ।’
वीरेन्द्रनगर पालिकाका योजना महाशाखा प्रमुख प्रकाश पौडेलले पालिकाले अपाङ्गमैत्री नीति निर्माण गरेको बताए । विपद् प्रतिकार्य योजना निर्माण गर्दा लक्षित वर्ग समेटिने गरी योजना निर्माण गरिएको उनको भनाइ छ । ‘संविधान र कानुनमा अपाङ्गता भएकाको अधिकार सुनिश्चित गर्नेगरी पालिकाले कार्ययोजना निर्माण गरेको छ,’ उनले भने, ‘अब बन्ने भौतिक संरचना अपाङ्गमैत्री नभएका बन्दैनन् ।’
वीरेन्द्रनगर नगरपालिका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको पाइएको छ । नगरपालिकाले निर्माण गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनमा यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको औंल्याइएको हो । नगरमा १६ वटै वडामा रहेका २९ हजार दुई सय १६ घरधुरी मध्य १७ हजार नौ सय ४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका हुन् ।
नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिमा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । नगरका कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुवानलगायतको जोखिम उच्च रहेको छ । नगरको वडा नं. १२ को खोरिया, १३ को अधिकांश भू–भाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडाहरूमा बसोबास गर्ने एक हजार तीन सय ३५ घरधुरीमध्य ६ सय ६७ घर पहिरोका कारण पूर्ण क्षति हुन सक्ने प्रतिवेदनले औंल्याएको छ । ती वडाका ६ सय ६८ घरधुरीमा आंशिक क्षति पुग्न सक्ने अध्ययनले देखाएको छ । वीरेन्द्रनगर नगरपालिकाका योजना शाखाका प्रकाश पौडेलका अनुसार नगरका १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् । त्यस्तै, वडा नं. ९ र १० डुबानको उच्च जोखिममा रहेका छन् । बाढी र डुुबानबाट आंशिक र पूर्णरूपमा गरी एक हजार दुई सय बढी घरधुरी प्रभावित हुने देखिएको छ । वीरेन्द्रनगरका कतिपय बस्तीमा आगलागीको समेत जोखिम छ । नगरका दुई सय २५ घरधुरी आगलागीको जोखिममा छन् । नगरले तयार पारेको यो प्रतिवेदन विपद्को अनुमानित अवस्थाको अध्ययन भएको पौडेलले बताए ।
प्रकाशित मितिः ८ बैशाख २०८३, मंगलवार ०५:०५

साझा बिसौनी ।