सुत्केरीको ज्यान जोगाउनै मुस्किल

सुर्खेत: कालीकोटको नरहरिनाथ गाउँपालिका–८ की २७ वर्षीया भावना विष्टको उपचारका क्रममा मृत्यु भयो । प्रदेश अस्पताल सुर्खेतमा चैत ३० गते शल्यक्रिया (सिजेरियन) मार्फत सुत्केरी भएकी उनको पहिलो अप्रेशन सफल भए पनि वैशाख २ गते रगत जमेको भन्दै गरिएको दोस्रो शल्यक्रियापछि अवस्था अटिल बन्यो । अवस्था बिग्रँदै गएपछि आफन्तले करिब आठ लाख ६० हजार रूपैयाँ खर्च गरेर हवाई एम्बुलेन्समार्फत काठमाडौं लगेका थिए । परिवारले वैशाख ४ गते चिकित्सकसहितको हेलिकोप्टर चार्टर गरी उनलाई काठमाडौं लगेका थिए । काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरे ।

यस्तै, २०८० भदौ ३१ गते सुर्खेतको पञ्चपुरी नगरपालिका–२ की जानकी रेग्मीको पनि अस्पतालमै मृत्यु भयो । उनलाई सुत्केरी व्यथाले च्यापेपछि प्रदेश अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो । अन्य समस्या नदेखिए पनि सुत्केरी भएको दुई दिनपछि उनको मृत्यु भएको अस्पतालले घोषणा ग¥यो । यी दुवै घटना एउटै प्रकृतिका हुन् ।

यसरी कर्णालीका कैयन् सुत्केरीको अस्पतालमै ज्यान जाने गरेको छ । हरेक वर्ष कर्णालीमा सुत्केरी महिलाहरूको मृत्यु भएको घटना सञ्चारमाध्यममा समाचार बनिरहन्छन् । कतिपय स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् । यो श्रृंखला बर्सेनि दोहोरिरहन्छ ।

आमाहरूको मात्रै होइन, शिशुको मृत्यु पनि उस्तै भयावह छ । कर्णालीमा मातृ–शिशु मृत्युदर डरलाग्दो छ । प्रदेशमा बर्सेनि विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् । ज्यान गुमाउनेहरूको संख्या घट्नुको साटो बढ्दै गएको छ ।

राष्ट्रिय जनगणना–२०७८ को तथ्यांकका अनुसार कर्णाली नेपालमा सबैभन्दा धेरै मातृ मृत्युदर भएको प्रदेश हो । कर्णालीमा अझै पनि राष्ट्रिय र अन्य प्रदेशको तुलनामा मातृ मृत्युदर एक सय ७२ (प्रति एक लाखमा) रहेको जनगणनाको तथ्यांकले देखाएको छ । दीगो विकासको लक्ष्यअनुसार सन् २०३० सम्ममा कर्णालीको मातृ मृत्युदर ७० प्रतिशमा झार्ने गरी सरकारी तथा विभिन्न गैरसरकारी संस्थाहरूले काम गरिरहेको दाबी गरिरहेका छन् । तर, प्रदेशमा भौगोलिक रूपले मात्रै होइन, सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति उपलब्ध भएको भनिएको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमै सुत्केरी हुन पुग्ने ठूलो संख्यामा महिलाले ज्यान गुमाउने गरेको तथ्य सार्वजनिक भएको छ ।

 

अस्पतालमै मृत्यु हुने कारण

स्वास्थ्य संस्थामा ब्लड बैंक र आइसीयू सुविधा नभएकाले डेलिभरीको समयमा सुत्केरीको ज्यान जाने गरेको छ । रगतको व्यवस्थापन तुरुन्तै नहुँदा सुत्केरीको ज्यान जाने गरेको छ । कैयौ अस्पतालमा सुत्केरीको पाठेघर खुम्च्याउने औषधि अभाव हुँदा पनि रक्तश्राव रोक्न कठिन हुन्छ । सुत्केरी र गर्भवती महिलाका लागि नेपाल सरकारले पनि आमा सुरक्षा कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, बाटो खर्च र न्यानो झोला कार्यक्रम सञ्चालन गरेको छ । तर, त्यसको प्रभावकारिता शंकारहित छैन । घरमै, अस्पताल लैजाँदा बाटामै र एउटा स्वास्थ्य संस्थाबाट अन्यत्र रेफर गर्दागर्दै गर्भवती र सुत्केरीको मृत्यु हुने गरेको छ ।

अचेल गर्भवती महिला परीक्षणका लागि अस्पताल धाउने क्रम बढेको छ । सहरबजार मात्र होइन, गाउँमा पनि गर्भवतीहरू नियमित परीक्षण र सुत्केरी गराउन अस्पताल जाने गर्छन् । यसरी अस्पताल आउने सबैको जोखिमको पहिचान गर्न कठिन हुन्छ । सुत्केरी जोगाउन अस्पतालहरूले आइसीयु र ब्लड बैंक तयारी अवस्थामा राख्न जरुरी हुन्छ । कैयौ अस्पतालमा औषधीको अभाव, विशेषज्ञ चिकित्सक पर्याप्त नहुनु, चिकित्सक तथा नर्सलाई पर्याप्त तालिम नदिइनु, सुविधासम्पन्न प्रसूतिगृह नहुनुलगायत कारणले सुत्केरीको अकालमै मृत्यु हुने गरेको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । समुदायस्तरमा सुरक्षित प्रसूति सेवाका बारेमा आवश्यक जनचेतना नभएकाले पनि जटिल अवस्था आएपछि मात्र अस्पताल पु¥याइँदा सुत्केरीको ज्यान जाने गरेको उनको भनाइ छ । तर, गर्भवती तथा सुत्केरीका आफन्तले भने अस्पतालको लापर्वाहीले सुत्केरीको ज्यान गएको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मितिः   ७ बैशाख २०८३, सोमबार ०५:०५