अभिमूखिकरणको आवश्यकता

बालबालिकाहरूमा अटिजम ठूलो समस्याका रूपमा देखा परेको छ । कर्णाली प्रदेशमा पनि पछिल्लो समय अटिजम प्रभावित बालबालिकाहरूको संख्या बढ्दो क्रममा देखिन थालेको छ । यसले अभिभावकहरूलाई चिन्तित बनाएको छ । अझ समयमै रोग पहिचान गर्न नसक्दा बालबालिकाको भविष्य नै अन्धकार बनिरहेको छ । कर्णालीमा यसको सहज उपचार नहुनु तथा अभिभावकमा जानकारी समेत नहुँदा बालबालिका उपचार तथा पढाइबाट वञ्चित हुन परिरहेको छ । विगत केही वर्षयता नेपालमै अटिजमको समस्या बढेको पाइएको छ तर धेरै अभिभावकहरूमा अझै पनि यससम्बन्धी उचित जानकारी नहुँदा समस्या बढ्दै छ ।

अटिजम भएका बच्चाहरूमा सञ्चार र सामाजिक अन्तरक्रियाको समस्या देखिएकाले यस्ता बच्चाहरूलाई विशेष स्याहार, शारीरिक थेरापी, स्पीच थेरापी र अक्युपेसनल थेरापीको उपचारमा जोड दिनेपर्ने विज्ञहरूको सुझाव छ । समयमै पहिचान गरी सचेतना फैलाउनुपर्ने आवश्यकता उनीहरूले औंल्याउने गरेका छन् । यद्यपि, यसतर्फ पर्याप्त ध्यान पुगेको पाइँदैन । अटिजम स्नायू र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगता हो । जन्मजात हुने नशा र तन्तुको विकासको क्रममा आएको असमानताको रूप हो । अटिजम भएका व्यक्तिहरूलाई सामाजिक रूपमा घुलमिल हुन, सञ्चारको विचलन, कल्पना शक्ति कम हुने र व्यवहार गर्नमा कठिनाई, खेलहरू खेल्न नजान्ने जस्ता समस्याहरू देखा पर्ने गरेको छ । अटिजम भएका बालबालिका इन्द्रीयहरूको उतारचढावको फलस्वरूप अटिजम भएका व्यक्तिले आफूसँगको वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया देखाउँने गर्दछन् तर अभिभवकमा जानकारी नहुँदा उपचारबाट वञ्चित भएका छन् । बालबालिकामा फरक खालको व्यवहार भए यस रोगको उपचारतर्फ लाग्नुपर्ने चिकित्सकहरूको सुझाव छ । कुनै पनि बालबालिकाको भाषा विकास हुनु अगावै १६ महिनादेखि तीन वर्ष अगाडि नै उसमा औँलाले संकेत गर्ने, हो वा होइन भनेर सोध्दा टाउको हल्लाउने अभिभावकले औंलाले देखाएको वस्तुमा आँखा लैजाने, चिनेको आवाज सुन्दा टाउको फर्काउने, चिन्ने व्यक्तिसँग आँखा जुध्दा मुसुक्क हाँस्ने जस्ता सञ्चार गर्ने सीपहरूको विकास भएको छैन भने त्यस्ता बालबालिकामा अटिजमको शंका गर्न सकिन्छ ।

अटिजमको उपचार भनेको थेरापी नै हो । समयमै पहिचान गरी प्रारम्भिक हस्तक्षेप नै सबैभन्दा महङ्खवपूर्ण थेरापी हो, अटिजम भएका बालबालिकालाई सञ्चार गर्न सामाजिक व्यवहार गर्न विभिन्न थेरापी र खेलका माध्यममार्फत सिकाउनुपर्छ । बालबालिकाको पहिलो गुरु नै अभिभावक भएकाले सर्वप्रथम अभिभावकले नै तालिम लिनु आवश्यक छ । यसबारेमा जनचेतना अभिवृद्ध गर्नु आजको प्रमुख आवश्यकता बनेको छ । अटिजमबारे सबै अभिभावक जानकार भएमा यो समस्याको समाधान पनि समयमै हुन सक्दछ । तर जानकारी नै नभएका कारण बालबालिकाहरू अटिजमले ग्रस्त हुने अवस्था बनिरहेको छ ।

प्रकाशित मितिः   ७ बैशाख २०८३, सोमबार ०५:०३