पर्यटन प्रवर्द्धन गर्न धार्मिक मेला

 

सुर्खेत: दैलेखमा पर्यटन प्रवर्द्धन गर्न धार्मिक पर्यटन मेला आयोजना गरिने भएको छ । यही वैशाख १३ देखि १९ गतेसम्म दैलेखको नाभिस्थानमा पञ्चकोशी धार्मिक पर्यटन मेला हुने भएको हो ।

पञ्चकोशी क्षेत्र विकास संस्था दैलेखको आयोजना तथा दैलेखी सेवा समाज सुर्खेतको सहजीकरणमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा मेलाबारे जानकारी गराइएको हो । दैलेखका स्थानीय तह, दानदाताबाट संकलित रकमले मेलाको सञ्चालन तथा व्यवस्थापन गरिने संस्थाका अध्यक्ष नविन योगीले बताए । उनका अनुसार मेलाबाट संकलित रकमले पञ्चकोशी क्षेत्रको इतिहास अभिलेख गरिनेछ । मेला अवधिभर स्कन्दनपुराण वाचन तथा विभिन्न धार्मीक समुहद्वारा प्रस्तुती गरिनेछ । पुराण वाचनका लागि २१ वर्षीया वाचिका माता जीः कीर्ति किशोरी जीलाई आमन्त्रण गर्ने तयारी भइरहेको योगीले जानकारी दिए ।

दैलेखमा अवस्थित पञ्चकोशी क्षेत्रको विकास तथा पर्यटन प्रवद्र्धन गर्न प्रचार–प्रसार गरिने जनाइएको छ । अनवरत रूपमा वर्षाैंदेखि ज्वाला बलिरहेको छ । ज्वाला हेर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यस क्षेत्रको व्यापक प्रचार–प्रसारका लागि धार्मिक पर्यटन मेला आयोजना गरिएको योगीले बताए । मेलाले जलजले क्षेत्रमा अन्वेषण सफल भएको पेट्रोलियम उत्खनन् कार्य सुरु गर्न सरकारलाई दबाबसमेत दिने जनाएको छ । सरकारले उक्त क्षेत्रको ऐतिहासिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यता र अस्तित्व नमेटिने गरी पेट्रोलियम उत्खनन्को काम तत्काल थाल्न दबाब स्वरूप मेला आयोजना गरिएको जनाइएको छ ।

यसैगरी संस्थाका सचिव बखतबहादुर नेपालीले नेपाल भारत नागरिकमैत्री संस्थाको समन्वयबाट मेलामा भारतीय पर्यटक भिœयाउने तयारी भइरहेको बताए । करिब चार भारतीय पर्यटकलाई नेपाल ल्याउनेगरी पहल तथा प्रचारका काम भइरहेको उनको भनाइ छ । दैलेखी सेवा समाज सुर्खेतका अध्यक्ष देवकुमार बिसीले पञ्चकोशी क्षेत्र दैलेख जिल्लामात्र नभइ कर्णाली र नेपालकै गौरव भएकाले उक्त क्षेत्रको पूर्वाधार विकास र पर्यटन प्रर्वद्धनका थुपै्र कामहरू गर्न आवश्यक रहेको बताए । यस धार्मिक मेलाले पञ्चकोशी क्षेत्रको थप गरिमा बढाउने उनको भनाइ छ ।

प्रकाशित मितिः   ४ बैशाख २०८३, शुक्रबार १०:४२