वैशाख १५ देखि भर्ना, २१ देखि पढाइ

सुर्खेत: नयाँ शैक्षिक सत्र वैशाख १५ बाट सञ्चालन हुने भएको छ भने २१ गतेदेखि विद्यालयहरूमा पठनापाठन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिवार र आइतवार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवम् सार्वजनिक बिदाअनुसार विद्यालयहरूलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।

केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ ।

यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना चलाउँथ्यो भने निजी विद्यालयहरूले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गराउँदै आएकामा अबदेखि सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र सुरु हुने भएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले पनि वैशाख १५ बाट भर्ना अभियान र २१ गतेबाट पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई अनुरोध गरेको छ । बुधवार सबै स्थानीय तहका शिक्षा शाखाका साथसाथै सबै सामुदायिक र संस्थागत विद्यालयहरूलाई पत्र पठाएर यस्तो अनुरोध गरेको हो ।

प्रकाशित मितिः   ३ बैशाख २०८३, बिहीबार ०५:०१