प्रदेश राजधानी संरक्षण योजनाः बुलबुले क्षेत्र व्यवस्थापन कार्यक्रम
सुर्खेत: कर्णालीमा नदी नियन्त्रणको काम सुरु गरिएको छ । विगतका वर्षहरूमा योजनामा राखिएको नदी नियन्त्रणको काम यो वर्षदेखि सुरु गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रदेश राजधानी संरक्षण योजनाअन्तर्गत नदी नियन्त्रणको काम अघि बढाइएको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । यो योजनाअन्तर्गत अहिले बुलुबले क्षेत्रको पानी व्यवस्थापन गर्न लागिएको छ । ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएको निर्देशनालयका इन्जिनियर उत्तम चौलागाईंले जानकारी दिए ।
२०८२ चैत महिनादेखि सम्झौता गरेर नदी नियन्त्रणको काम सुरु गरिएको उनले जानकारी दिए । १७ करोड १५ लाख ६७ हजारमा ठेक्का सम्झौता भएको छ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय र जलजला जीपी, अभ्नेश एन्फा जेभीबीच दुई वर्षमा काम सक्नेगरी सम्झौता गरिएको छ । २०८४ चैतसम्ममा निर्माणको काम सम्पन्न गर्नुपर्नेछ । अहिले सम्झौता भइ निर्माणको काम धमाधम सुरु भएको इन्जिनियर चौलागाईले बताए ।
यो योजनाअनुसार बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटरमा नदी नियन्त्रणको काम गरिनेछ । बुलबुले तालबाट आएको पानीलाई बुलबुले तालको किनारबाटै काँक्रेविहार जंगलको किनारसम्म पु¥याउने गरी निर्माणको काम अघि बढाइएको आयोजनाले जनाएको छ । सम्झौता भइ काम सुरु गरेको दश दिन मात्र भएको छ ।
जथाभावी रूपमा बगिरहेको पानीलाई व्यवस्थापन गर्नका लागि योजना कार्यान्वयन गरिएको प्रदेश सरकारले जनाएको छ । पानी नियन्त्रण नहुँदा किसानले उत्पादन गर्ने खेतबारीमा समेत असर पर्नुका साथै बुलबुले आसपासका क्षेत्रका स्थानीयलाई समेत बस्तीमा पानी पस्दा समस्या हुनेगरेको थियो ।
कर्णाली प्रदेश सरकारले विशेष गुरुयोजना निर्माण गरेर प्रदेश राजधानी संरक्षण योजना कार्यान्वयन गरेको हो । उक्त योजनाअन्तर्गत यो वर्ष एक किलोमिटर बुलबुले क्षेत्रको पानीमा पलम वाल निर्माणको काम गर्न लागिएको हो । बुलबुलेलाई थप सुन्दर बनाइ पर्यटन प्रवद्र्धन गर्ने योजनाअन्तर्गत ताल निर्माणको काम सुरु गरिएको छ । उक्त योजनाअन्तर्गत नदी नियन्त्रणको काम सुरु गरिएको हो ।
मानिसहरूलाई बुलबुलेदेखि काँक्रेविहारसम्म सहज रूपमा पुग्नका लागि समेत यस योजनाले सहयोग पु¥याउनेछ । पैदल यात्रीले बुलबुलेदेखि काँक्रेविहारसम्म छिट्टै पुग्नेछन् । मानिसहरूको सहज आवातजावतका लागि उक्त क्षेत्रमा दुईवटा साना पुल निर्माण गरिने इन्जिनियर चौलागाईले बताए ।
यस्तै, नयाँ ताल निर्माणको काम धमाधम रूपमा भइरहेको छ । चरा र पानी संरक्षणको लागि भन्दै वीरेन्द्रनगर गुरुयोजना कार्यान्वयन अन्तर्गत ताल निर्माण गर्न लागिएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एक करोड १२ लाख ३६ हजारमा ताल निर्माण गर्न लागिएको हो । कम्पनीले कम्पाउण्ड वाल, नालालाई व्यवस्थित बनाउनुका साथै ताल वरिपरि मान्छे हिँड्ने फुटपात बनाइने लगायतका काम गर्नेछ । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेखर चपाईका अनुसार अहिले पानीको स्रोत भएपनि लिकेज भइरहेको छ । त्यसलाई संरक्षण गर्नु पनि उद्देश्य रहेको छ ।
कर्णाली आउने हरेक पर्यटकको रोजाइँमा बुलबुले पनि पर्ने गरेको छ । बुलबुलेमा बिदाका दिनमा बढी पर्यटक आउने गर्दछन् । दैनिक औसत पाँच सय पर्यटकले बुलबुले अवलोकन गर्ने जनाइएको छ । वि.सं. २०२९ देखि सरकारी तवरबाट बुलबुलेको संरक्षण हुन थालेको हो । बुलबुले क्षेत्रको विकास तथा विस्तारमा प्रदेश सरकारका साथै संघीय सरकार र वीरेन्द्रनगर नगरपालिकाको पनि साझेदारी रहेको छ । बुलबुलेको मुख्य आकर्षण जमिनमुनिबाट बुलबुल भएर आउने पानीको संकलन गरी बनाइएका कलात्मक धारा र पार्क हुन् । तालको पूर्वतर्फ महिला तथा दक्षिणतर्फ पुरूषका लागि पाँच÷पाँच वटा धारा छन् । अहिले बुलबुलेका धाराहरूलाई आधुनिक शैलिमा निर्माण गरिएको छ ।
प्रकाशित मितिः ३० चैत्र २०८२, सोमबार ११:३५




साझा बिसौनी ।