पर्यटनमार्फत समृद्धिको लक्ष्य
सुर्खेत: कर्णाली प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिएको छ । पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताको आधारमा निर्धारण गरिएको प्रदेश सरकारले जनाएको छ । रोजगारीमा आधारित उद्योगलाई प्रवद्र्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो ।
पर्यटन प्रवद्र्धनमा पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारलक्षित कार्यक्रम सञ्चालन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । प्रदेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवम् पर्यटकीय स्थलको संरक्षण गर्न पर्यटन गुरूयोजना कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले बताए । यो वर्ष भिन्न प्रकारका कार्यक्रम कार्यान्वयन गरिएको उनको भनाइ छ । सीपसँग सहयोग कार्यक्रम सञ्चालन गरी उद्यमशीलता विकास, रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरणमार्फत् उद्यमीहरूलाई उत्प्रेरित गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ ।
प्रमुख पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धन गर्नका लागि पर्यटन गुरुयोजना निर्माण गर्ने कार्य अघि बढाइएको छ । निजी क्षेत्रसमेतको सहभागितामा सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा रहेका कटकुवा, लादे, गोठीकाँडा तथा सिद्धपाइला क्षेत्रलाई हिलस्टेशनको रूपमा विकास गर्नेगरी काम अघि बढाइएको जनाइएको छ । पर्यटन प्रवद्र्धन तथा विकासका लागि चालु आर्थिक वर्षमा ४३ करोड बजेट विनियोजन गरिएको छ ।
मुगुको रारा ताल, सुर्खेतको काँक्रेविहार, बुलबुले उद्यान तथा चौघान पार्क र रूकुमपश्चिलमको स्यार्पु तालको संरक्षण र विकास गर्नका पर्यटन पूर्वाधार कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै मन्त्रालयले पर्यटकीय पूर्वाधार विकासको लागि बहुवर्षीय आयोजना स्वीकृत गरेको छ भने जडिबुटी निकासी, बिरुवा उत्पादन गरेर वृक्षारोपण, वन क्षेत्र संरक्षणलगायतका काम भएका छन् । मन्त्रालयका अनुसार प्रदेशमा तीन हजार पाँच सय ९७ वटा नयाँ उद्योग दर्ता भएका छन् भने उद्योगहरूबाट नौ करोड ७४ लाख कूल राजश्व संकलन भएको छ ।
डोल्पा जिल्लाको शे–फोक्सुन्डो तालको किनाराको बस्तीलाई विकास गर्न संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको छ । अघिल्ला आर्थिक वर्षहरूबाट नै उक्त बस्ती विकासको काम थालिएको हो । चालु आर्थिक वर्षमा पनि प्रदेश सरकारले उक्त कार्यक्रमलाई निरन्तरता दिइएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
शे–फोक्सुन्डो गाउँपालिका वडा नं. ७ र ८ को बस्तीलाई एकीकृत गरेर बस्ती विकासको काम थालिएको हो । पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको छ । प्रदेशकै गौरवको रूपमा रहेको शे–फोक्सुन्डो तालको संरक्षण र प्रवद्र्धनका लागि तालको किनाराको बस्तीलाई विकास गर्न लागिएको हो । त्यसका लागि ताल किनाराको ‘रिंग्मो बस्ती विकास’ कार्यक्रम सञ्चालन गरेर काम अघि बढाइएको छ । बस्तीलाई बौद्ध कला र संस्कृतिको अनुपम बस्तीको रूपमा रूपान्तरण गर्न लागिएको हो ।
यसैगरी हुम्लाको सिमकोट गाउँपालिका र खार्पूनाथ गाउँपालिकाको सिमानामा मानसरोवर प्रवेशद्वार नमुना एकीकृत पूर्वाधार निर्माण गर्न लागिएको छ । पर्यटन प्रवद्र्धन गर्नका लागि पूर्वाधार निर्माणको काम थालिएको पूर्वाधार विकास कार्यालय हुम्लाले जनाएको छ । संघ र प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माणको काम थालिएको हो । रिंग्मो बस्ती निर्माण र मानसरोवर प्रवेशद्वारका लागि पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरिएको छ । यो वर्ष दुईवटा पूर्वाधार निर्माणका लागि ३४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । मानसरोवर प्रवेशद्वारको पूर्वाधार निर्माण सिमकोट गाउँपालिकाको वडा नं. ५ र ६ तथा खार्पूनाथ गाउँपालिकाको वडा नं. ५ मा पर्यटन पूर्वाधार निर्माण थालिएको छ । केही वर्षअघि नै पूर्वाधार निर्माणको काम अघि बढेको हो । दश किलोमिटर सडकको स्तरोन्नति र कालोपत्रे गरिनेछ । यसैगरी तीन वटा विद्यालयको भवन निर्माण, खार्पुनाथमा रहेको शिवमन्दिरको समेत स्तरोन्नति गरिनेछ । कर्णाली प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक छ । त्यसैले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिएको छ । पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको लक्ष्य लिइएको छ ।
प्रकाशित मितिः २९ चैत्र २०८२, आईतवार ०५:०६
साझा बिसौनी ।