भाडा वृद्धिको मार

सरकारले यात्रु तथा मालवाहक सवारी साधनको भाडा वृद्धि गरेको छ । इन्धनको मूल्यवृद्धिको कारण देखाउँदै लामो दूरीमा चल्ने यात्रु र मालवाहक सवारी साधनको भाडादर बढाइएको हो । यातायात व्यवस्था विभागले जारी गरेको नयाँ भाडादरअनुसार, सार्वजनिक यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत, पहाडमा चल्ने मालवाहक सवारी साधनका लागि २१.६८ प्रतिशत, मालवाहक सवारीसाधन तराईका लागि १५.७५ प्रतिशत भाडावृद्धि भएको छ । यो नयाँ मूल्य चैत २५ देखि नै लागू गरिएको छ । बढाइएको भारा लामो दूरीको सवारीसाधन र अन्तर प्रदेश सडकका लागि मात्र हो । तर भाडा वृद्धिले यात्रुहरूमा मारमा परेका छन् ।

केही दिनअघिसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट संघीय राजधानी काठमाडौं जाने एयर बसको नियमित भाडा दुई हजार पाँच सय ९४ रूपैयाँ थियो । तर अहिले तीन हजार रूपैयाँ भन्दा कममा एयर बस चढ्न पाइँदैन । सरकारले एक्कासी सार्वजनिक यातायातको भाडा बढाएपछि नागरिक भने अलमलमा परेका छन् । मूल्यवृद्धिको कारण देखाउँदै यातायातको भाडादर बडाइएको छ । अहिले अन्तरप्रदेशको रात्रीकालीन यातायात सेवाको भाडादर बढाइएको छ । सुर्खेतबाट काठमाडौं, पोखरा, चितवन, विराटनगरलगायतका ठाउँमा जाने रात्रीकालीन बसहरूको भाडा बढेपछि यात्रु मारमा परेका हुन् । मध्यपूर्वमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पद्धार्थको अभाव र आपूर्ति प्रभावित भएको छ । भारतबाट निर्यात हुने पेट्रोलियम पदार्थ मूल्य बढेर आएका कारण सवारीभाडासमेत समायोजन हुनुपर्ने यातायात व्यवसायीहरूले माग गर्दै आएका थिए । नेपाल सरकारले हालै इन्धनको मूल्यमा भएको उतारचढाव र अन्य प्राविधिक पक्षलाई आधार मानी सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले स्वचालित भाडा प्रणाली लागू गर्दै लामो दूरीका सवारी साधनका साथै मालवाहक सवारीको भाडादरमा परिमार्जन गरेको हो ।

विभागले तय गरेको ‘वैज्ञानिक भाडा दर’ अनुसार इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटबढ भएमा मात्रै भाडा समायोजन गर्ने प्रावधान छ । इन्धनको भारी मूल्यवृद्धि भएसँगै यातायात व्यवसायीले भाडा बढाउन सरकारसँग माग गरेका थिए । उनीहरूले सरकारले भाडा समायोजन नगरेमा आफैं बढाउने चेतावनी पनि दिएका छन् । यातायात व्यवसायीको चेतावनीपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालको सहमतिमा भाडा बढाइएको हो । मध्यपूर्वको तनाव पूर्णरूपमा अन्त्य भइसकेको छैन । जसले गर्दा तत्कालै र सहजै इन्धन आपूर्ति पनि सहज हुने देखिदैन । त्यसैले अझै लामो समय यो समस्या कायम रहन सक्नेछ । जसले गर्दा सार्वजनिक यातायातको भाडा वृद्धिको मार पनि उपभोक्ताले अझै लामो समय खेप्नुपर्ने हुनसक्दछ ।

प्रकाशित मितिः   २९ चैत्र २०८२, आईतवार ०५:०३