दशौँ राष्ट्रिय खेलकुदः मन्त्री फेरिए, मिति तोकिएन

सुर्खेत: चुनावको नयाँ जनादेशसँगै नयाँ सरकार बनिसके पनि कर्णालीमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भने अझै टुँगो लागेको छैन । पटक–पटक मिति सर्दै आएको यो प्रतियोगिता आयोजना गर्ने विषयमा अहिलेको सरकारले कुनै निर्णय लिएको छैन ।

पछिल्लो पटक गत फागुन पहिले साता आयोजना गर्ने गरी मिति तय भएको थियो । तत्कालीन खेलकुदमन्त्री बब्बु गुप्ताको पहलमा चौथो पटक तोकिएको मितिमा पनि प्रतियोगिता हुन सकेन । फागुन २१ को चुनावका कारण तयारी नपुगेको भन्दै स्थगित गरियो । त्यसपछि चुनाव भएर नयाँ सरकार निसकेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । तर दशौँ राष्ट्रिय खेलकुदको विषयमा कुनै निर्णय भएको छैन ।

नवौं राष्ट्रिय खेलकुदको समापनकै क्रममा १०औं खेलकुद २०८१ मंसिरमा कर्णाली प्रदेशमा गर्ने घोषणा भएको थियो । पूर्वाधार तयार नभएको भन्दै उक्त समयमा खेल हुन सकेन । त्यसपछि २०८१ चैतमा सर्‍यो । आर्थिक अभाव देखाउँदै उक्त मितिमा पनि प्रतियोगिता भएन । फेरि जेठमा गर्ने निर्णय गरेको परिषद्ले त्यसमा पनि गर्न सकेन । त्यसपछि २०८२ फागुन पहिलो साताको मिति तोके पनि खेल हुन सकेन । एकातिर समयमै तयारीमा ध्यान नदिनु र त्यसमाथि राजनीतिक स्वार्थका कारण पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन ।

यसअघि नै १०औं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक समिति गठन, सचिवालय उद्घाटन, लोगो र मस्कट सार्वजनिक भइसकेको छ भने कर्णाली प्रदेश सरकारले पनि हालै मात्र प्रदेश खेलकुद विकास परिषद्को पदाधिकारी नियुक्त गरेको छ ।

दशाैँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ । दश हजार दर्शक क्षमताको प्याराफिटसहित फुटबल मैदान र एथ्लेटिक्सका खेलहरू एक साथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो ।

२०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले शिल्यान्यास गरेको यो आयोजना तीन वर्षको अवधिमा सतप्रतिशत काम सकिएको हो । कर्णाली प्रदेश सरकारले कुल एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का सम्झौता गरेको थियो । भिआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । रंगशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेटहरू निर्माण गरिएका छन् । भिआईपी पाराफिट मुनीको दुई तल्ला अफिसियल काम र खेलाडीहरूका लागि पर्याप्त हलहरू निर्माण गरिएका छन् । साथै दुई सय भन्दा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन राख्न मिल्ने अण्डरग्राउण्ड पार्किङ बनाइएको छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरू तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरू निर्माण गरिएका छन् । कर्णालीको परिचयकै रूपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ । रंगशालाको विभिन्न स्थानमा प्रयोग भएका ढुंगाहरू कर्णालीकै हुन् । विदेशबाट खरिद गर्नुपर्ने टायल प्रयोग नगरी पाराफिटदेखि सिँढी, पञ्चदेवल र वालहरूमा कर्णालीकै ढुङ्गा प्रयोग गरिएका छन् । करिब नौ बिघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ ।

यसैबीच कर्णाली प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहन गर्न बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि बजेट व्यवस्थापन गरेको हो । दशाँै राष्ट्रिय खेलकुद पूर्वतयारी कार्यअन्तर्गत अन्तर कप तयारी कार्य, अन्तर कप प्रतियोगिता सञ्चालन तथा प्रदेशबाट पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित प्रोत्साहनका लागि बजेट विनियोजन गरेको हो ।

खेलाडीलाई प्रोत्साहन गर्न यो वर्ष दश करोड बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा खेलाडीहरूको मनोवल वृद्धि गर्न प्रदेश सरकारले बजेट राखेको मन्त्रालयका सचिव धोलकराज ढकालले बताए । कर्णाली प्रदेश सरकारले खेलकुद पूर्वधार विकासलाई प्राथमिकता दिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित पूर्वाधार निर्माणमा सघाइरहेको प्रदेश सरकारले खेल पूर्वाधार निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मितिः   २३ चैत्र २०८२, सोमबार ०५:०५