बेतन कर्णाली आयोजना: निर्माणपूर्वको तयारी तीव्र

 

सुर्खेत: बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको चरणमा अघि बढेको छ । आयोजना निर्माणको अध्ययनको काम सकिएको छ । सुर्खेत र अछाम जिल्लाको सिमानामा निर्माण हुने जलविद्युत आयोजनाको निर्माणपूर्वका सम्पूर्ण काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

विद्युत खरिद सम्झौता (पीपीए) को काम पनि अन्तिम चरणमा पुगेको बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडका आयोजना प्रमुख कृष्ण आचार्यले बताए । २०८२ असारमा आयोजना निर्माणका लागि उत्पादन अनुमति पत्र समेत पाइसकेको जनाइएको छ । मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा फाइल पेस गरिएको प्रमुख आचार्यले बताए । अब ऊर्जाबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा फाइल पठाउने प्रक्रिया अघि बढेको भन्दै उनले उक्त मन्त्रालयबाट मुआब्जा वितरणको स्वीकृति आए मुआब्जा वितरण गरिने जनाए ।

यो आयोजना निर्माण गर्दा सुर्खेत र अछाम जिल्लाको गरी करिब १८ रोपनी जग्गा आयोजनाबाट प्रभावित हुनेछ । अहिले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा रूख कटानको लागि प्रक्रिया पनि अघि बढाइएको छ । रूख कटानको अनुमतिका लागि मन्त्रालयमा प्रस्ताव गरिएको छ । आयोजना स्थलसम्म पुग्नका लागि पहुँचमाग निर्माणका कामका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । कर्णाली पुलमा पक्की पुल निर्माण गरिनेछ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । चार सय ३९ मेगावाट क्षमताको यो आयोजना निर्माण गर्न ८८ अर्ब बजेट लाग्ने अनुमान गरिएको छ तर हालसम्म लगानीको स्रोत सुनिश्चित भइसकेको छैन । कर्मचारी सञ्चय कोषले लगानी गर्ने सात अर्ब बजेट मात्रै सुनिश्चित भएको छ । कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताको अवकाशपछिको जीवनलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चयकर्ता हाइड्रोको अवधारणा अनुरूप कर्मचारी सञ्चय कोष, नेपाल विद्युत उत्पादन कम्पनी लिमिटेड तथा कोषका करिब ६ लाख सञ्चयकर्ता संस्थापक रहने गरी पब्लिक कम्पनीका रूपमा स्थापित रहेको छ ।

कम्पनीले आयोजनाका लागि रकम सुनिश्चितताको पहल सुरु गरेको आयोजना प्रमुख आचार्यले बताए । लगानी सुनिश्चितताका लागि विभिन्न बैंकसँग छलफल अघि बढाइएको छ । सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र विभिन्न वित्तीय संस्थासँग निरन्तर छलफल भइरहेको उनको भनाइ छ । उनले भने, ‘आयोजना निर्माणका लागि ८८ अर्ब बजेट लाग्ने छ, अहिले विभिन्न कमर्सियल बैंक तथा वित्तीय संस्थासँग लगानी जुटाउने विषयमा पहल गरिरहेका छौँ, केहीसँग लगभग सहमति पनि भएको छ, आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) को काम सम्पन्न भए सम्झौता गरेर अघि बढ्ने हो ।’

कर्णालीसँग जोडिएको अर्को ठूलो जलविद्युत आयोजना हो, यो । निर्माणपूर्वको तयारी भने करिब अन्तिम चरणमा छ । आयोजनाको मुख्य काम गर्नुअघि गर्नुपर्ने तयारी र पूर्वाधार विकासका काम सञ्चालन भइरहेका छन् । आयोजनास्थलसम्म पुग्न अछामतर्फबाट १८ किमी पहुँच सडक निर्माण पूरा भएको छ । बाँकी स्थानमा सडक स्तरोन्नतिको काम अघि बढाउन लागिएको छ । सुर्खेत खण्डमा १४ किमीमध्ये १० किमी पूरा भएको छ । सडक विस्तारको बाँकी काम अघि बढाइनेछ । सडक निर्माणपछि कर्णाली नदीमा पक्की पुल र बेलिब्रिज निर्माण गरिने छ । कैलालीको सुगरखालदेखि करिब ३० किमी दूरीमा ३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया अघि बढिसकेको छ ।

यो आयोजना सञ्चालन गर्न सन् २०१७ अक्टोबरदेखि नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको इन्जिनियरिङ कम्पनी लिमिटेडले अध्ययन सुरु गरेको थियो । आयोजनास्थल, अतिव्रmमित हुने क्षेत्र र लागत अनुमान पनि टुँगो लागेको छ । आयोजनाका लागि कर्णाली नदीमा एक सय ४० मिटर अग्लो बाँध बाँधेर सुरुङमार्फत विद्युतगृहमा पानी पु¥याइने छ । यसको जलाशयमा एक करोड २५ लाख घनमिटर पानी सञ्चय गर्न सकिने छ । यसरी जम्मा भएको पानी ६.६ किलोमिटर लामो हेडरेस टनेल र ३४५ मिटर लामो पेनस्टल पाइपबाट टरवाइनमा खसालिने छ । आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा विद्युतगृह, बेस क्याम्प हाउस, हेड टनेललगायतका मुख्य संरचना अछामको ढकारी गाउँपालिका–६ मा निर्माण हुने छन् । बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्दछ । ९० मिटर अग्लो बाँध निर्माणपश्चात् २१ किलोमिटर लामो जलाशय क्षेत्र बन्ने छ ।

यसैबीच सुर्खेत क्षेन नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश सापकोटाले आयोजना निर्माणको प्रगतिबारे जानकारी लिएका छन् । आयोजना प्रमुखसँग भेटेर आयोजनाको कामबारे जानकारी लिइएको सापकाले बताए । उनले भने, ‘आयोजनाको काम भइरहेको रहेछ, कसरी अगाडी बढ्न सकिन्छ भनेर छलफल भयो, आयोजना निर्माणको चरणमा प्रवेश गर्ने तरखरमा रहेछ, अब आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) को स्वीकृत भए काम अघि बढाउने कुरा छ । मैले पनि ऊर्जा मन्त्रालयमा यो विषयमा बुझ्नेछु ।’ आयोजनाको काम अघि बढाउन विभिन्न क्षेत्रसँग पहल थालिने सापकोटाले बताए ।

प्रकाशित मितिः   १९ चैत्र २०८२, बिहीबार ०५:०५