अपाङ्गता अधिकार सुनिश्चित गर्न माग

 

सुर्खेत: अपाङ्गता भएका व्यक्तिहरूका मागहरू अझै सम्बोधन हुन सकिरहेको छैन । राज्यका नीति र काम गर्ने परिपाटी अपाङ्गतामैत्री बन्न नसकेको अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएका कृष्ण जिसीले बताए ।

नेपालको संविधानमा अपाङ्गताको आधारमा कुनै भेदभाव, सेवासुविधा र अवसरबाट वञ्चित गर्न नपाइने र अपाङ्गता भएका व्यक्तिहरूलाई समावेशिताको सिद्धान्तका आधारमा राज्यका हरेक संरचनामा सहभागिता र प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख भएपनि राज्यको काम गर्ने तरीका त्यसो हुन नसकेको उनले सुनाए ।

सरकारले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारलाई सुनिश्चित गर्नुपर्ने अपाङ्गताका क्षेत्रमा पैरवी गर्दै आएकी संगीता बरालले बताइन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा नीति, सार्वजनिक संरचना, सेवा प्रणाली, यातायात तथा सञ्चार सेवाको पहुँचका लागि बाध्यकारी नीति कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानित जीवन बाँच्न, सक्रिय र उत्पादनशील बन्न, राज्यका सेवासुविधाहरू निर्बाधरूपमा उपयोग गर्न ऐन तथा कानुनहरू बने पनि ती ऐनमा भएका व्यवस्थाहरू पूर्ण कार्यान्वयन नहुँदा अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेको सहभागी प्रथमा श्रेष्ठको भनाइ छ । उनी पनि अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्दै आएकी छन् ।

हरेक सरकारी कार्यालय, भवन र सडकहरू अपाङ्गमैत्री हुनुपर्ने प्रावधान रहे पनि कर्णालीका अधिकांश जिल्लाका सरकारी कार्यालयहरू अझैसम्म अपाङ्गमैत्री हुन नसकेको उत्तम विकले बताए । उनका अनुसार पुराना भवन मात्रै नभइ नयाँ बनाइएका सरकारी कार्यालयसमेत अपाङ्गतामैत्री हुन नसकेका कारण अपाङ्गता भएकाहरू पीडित बनिरहेका छन् । सरकारी कार्यालयहरू अपाङ्गमैत्री नहुँदा थुप्रै अपाङ्गता भएका मानिसहरू प्रत्यक्षरूपमा कार्यालयको पहुँचसम्म पुग्न नसकेको भन्दै उनले राज्यले यस्ता विषयहरूमा गम्भीर भएर काम गर्नुपर्ने बताए ।

अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न सहज होस् भन्ने उद्देश्यले वीरेन्द्रनगरमा नेतृत्व तथा संस्थागत क्षमता अभिवृद्धि कार्यशाला गरिएको छ । भीएसओ नेपालको आयोजना तथा एक्टिभ परियोजना अन्तर्गत राष्ट्रिय अपाङ्ग महासंघको समन्वयनमा कार्यक्रम गरिएको हो । कर्णालीका आठ जिल्लाबाट अपाङ्गता भएका व्यक्तिहरूद्धारा सञ्चालित संघ संस्थाहरूका प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा मुख्य प्रशिक्षक राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष नन्दराज धिताल थिए भने सहायक प्रशिक्षक महासंघका म्यानेजर आनन्दबहादुर बिष्ट रहेका थिए । सहभागिहरूले सरकारी तवरबाट आफूहरूलाई काम गर्न निकै असहज भएको बताएका थिए । राज्यका नीति तथा भौतीक पूर्वाधारका काम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनहरूको जोड थियो ।

प्रकाशित मितिः   १४ चैत्र २०८२, शनिबार ०५:०१