स्थिर सरकारको अपेक्षा
सुर्खेत: बालेन्द्र शाह ‘बालेन’ नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्यधिक बहुमत पाएपछि पार्टीको वरिष्ठ नेता शाह प्रधानमन्त्री भएका हुन् । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
२०४७ वैशाख १५ गते काठमाडौंमा जन्मिएका शाह मधेशी मूलका बुवा रामनारायण र आमा ध्रुवदेवी साहका छोरा हुन् । शाह नेपालको इतिहासमा मधेशी मूलको तर्फबाट पहिलोपटक र संसदीय लोकतान्त्रिक व्यवस्थाअन्तर्गत सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्न पनि सफल भएका छन् ।
काठमाडौंमा नै बाल्यकाल बिताएका शाहले काठमाडौंस्थित एलायन्स एकेडेमी काठमाडौंबाट एसएलसी र भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिए । साथै, उनले हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक तह पूरा गरेका थिए भने सन् २०१८ मा उनले भारतको कर्नाटक राज्यको बेङ्गलुरुस्थित निट्टे मीनाक्षी इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘स्ट्रक्चरल इन्जिनियरिङ’ मा स्नातकोत्तर (मास्टर्स) डिग्री हासिल गरेका थिए ।
अध्ययनकै क्रममा उनले आफूलाई आधुनिक ¥याप गीत संगीतको यात्रामा पनि सफल रूपमा अघि बढाउँदै आएका थिए । जसले गर्दा राजनीतिमा प्रवेश गर्नुअघि शाह नेपालमा एक चर्चित ¥यापरको रूपमा परिचित भइसकेका थिए । उनका गीतहरूले विशेषगरी भ्रष्टाचार, असमानता र सरकारी बेथितिजस्ता विषयहरू उठान गर्थे । उनको पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा रिलिज भएको थियो । सन् २०१३ मा युट्युबको ¥याप–ब्याटल श्रृंखला ‘रअ बार्ज’ मा सहभागी भएपछि उनले अझ बढी ख्याति कमाएका थिए ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा शाहले काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारको रूपमा लौरो चुनाव चिन्ह लिएर विजयी हासिल गरेका थिए । सो निर्वाचनमा उनले काठमाडौंको पहिचान तथा संस्कृति तथा पुराताŒिवक क्षेत्रको संरक्षण गर्दै मौलिक विकासको अवधारणा अघि सारेर सो निर्वाचनमा उनी थप लोकप्रियताका साथ विजयी हुन पनि सफल भएका थिए । साथै, उनले आफ्नो चुनावी अभियानमा परम्परागत पार्टीहरूले अपनाउने भन्दा फरक सामाजिक सञ्जालको प्रयोग र पोडकास्ट अन्तर्वार्ताहरूमार्फत आफ्ना विचारहरू मतदातासमक्ष पु¥याउने तरिका अवलम्बन गरेका थिए ।
काठमाडौंको महानगरको नेतृत्व सम्हाल्ने क्रममा गोप्य र निश्चित सम्बन्ध कायम गर्दै शिक्षा, स्वास्थ्य, वातावरण तथा सरसफाइ र सुशासनको क्षेत्रमा तुलनात्मक रूपमा राम्रो काम देखाउँदै उनी थप स्थापित बन्न पुगेका थिए । फागुन २१ गते निर्वाचन पूर्व केही समयअघि मात्रै रास्वपासँग प्रधानमन्त्रीको सर्तमा साझेदारी गरेका शाहले पूर्वप्रधानमन्त्री केपी ओलीलाई झापा–५ बाट नै हराएर प्रधानमन्त्रीको यात्रा तय गरेका हुन् ।
काठमाडौं महानगरको प्रमुखमा रहँदा फरक र तत्कालीन केन्द्रीय सरकारसँग प्रतिपक्षको पहिचानसहित राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गरेका शाह गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा अझ शक्तिशाली बन्न पुगेका थिए । विशेषगरी सुधारवादी छवि र युवापुस्ता माझको लोकप्रियताका कारण नेपाली राजनीतिमा उकालो यात्रामा सफल हुँदै आएका उनले मुलुकमा सुशासनको स्थापना गर्दै समृद्धिको यात्रा तय गर्नेछन् भन्ने धेरैको अपेक्षा छ ।
को–को भए मन्त्री ?
प्रधानमन्त्री शाहले शुक्रवार नै मन्त्रिमण्डल विस्तार गरेका छन् । उनीसँगै अन्य १४ जना मन्त्रीले पनि शपथ लिएका हुन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि आफै सम्हालेका छन् ।
त्यसबाहेक मन्त्रिपरिषद्मा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । परराष्ट्र मन्त्रीमा शिशिर खनाल छन् भने सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
यसैगरी विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व पाएका छन् । खड्कराज पौडेल (गनेश)लाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ । सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन् । विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन् । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, दीपक साह (महोत्तरी)ले श्रम मन्त्रीको र सोविता गौतमले कानुन मन्त्रालय, जिम्मेवारी पाएका छन् । सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन् ।
किनाराबाट ‘केन्द्र’मा पुगेकी सिता
वीरेन्द्रनगर–११ स्थित झुप्रा खोलाको किनारामा एउटा सानो बस्ती छ । जहाँ वादी समुदायको बसोबास छ । उनीहरू खोलाको किनारा खोज्दै यहाँ पुगेका होइनन्, समाजबाट किनारीकृत हुँदै खोला किनारमा पुगेका हुन् । यही खोला किरानामा हुर्किएकी सिता वादी अब भने नेपाली राजनीतिको ‘केन्द्र’मा पुगेकी छिन् । वादी समुदायबाट प्रतिनिधिसभा सदस्य बन्ने नेपालको इतिहासमा पहिलो व्यक्ति बनेकी उनी मन्त्री भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले उनलाई महिला तथा बालबालिका मन्त्री बनाएको छ । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी थिइन् ।
उनको जन्म वीरेन्द्रनगर–१० नयाँ गाउँमा भएको हो । बुबाआमा मजदुरी गर्दथे । बाल्यकाल निकै संघर्षपूर्ण रह्यो । अभावै अभावमा बित्यो । घरको आर्थिक अवस्था निकै कमजोर थियो । खान लाउनकै दुःख थियो । अरुको काम गरेर कमाएको पैसाले एक छाक खान र एक सरो लाउनपनि धाैँ–धाैँ पुग्थ्यो ।
सानै उमेरमा सिता पनि बुवाआमासँगै काममा जान थालिन् । ‘खेलौना खेल्न उमेरमा मैले खोलामा गिट्टी कुट्ने काम गर्थें’ उनी सम्झिन्छिन् । झुप्रा खोलामा गिट्टी कुट्ने र बालुवा संकलन गर्ने काम गरेको उनको अनुभव छ ।
नयाँ गाउँमा जन्मिएपनि त्यहाँ पर्याप्त काम नपाइने भएपछि सिताका बाबुआमा झुप्रा खोलमा सरेका थिए । त्यहाँ प्राथमिक विद्यालय छ, सिता त्यहीँ भर्ना भएर विद्यालय जान थालिन् । विद्यालय भर्ना भएपनि घरको आर्थिक अवस्था कमजोर भएका कारण नियमित विद्यालय जान पाइएन् । कहिलेकाँही मात्रै जान्थिन्, कैयौपटक परीक्षाको बेलामा मात्र विद्यालय जाने गरेको उनी बताउँछिन् ।
एकारित कमजोर आर्थिक अवस्थाका कारण बाल्यकालदेखि नै जीवन संघर्षपूर्ण थियो । त्यसमाथि जातीय विभेद निकै भोग्नुपर्यो । समुदायदेखि विद्यालयसम्म उनले यस्ता अनेकौ विभेद झेल्नुप¥यो । तै पनि उनले पढाइ भने छोडिनन् ।
कक्षा तीनसम्म झुप्रास्थित विद्यालयमा पढिन् । त्यसपछि जनसेवा माध्यमिक विद्यालय घुस्रामा पढिन् । कक्षा नौदेखि भने काठमाडौंमा पढ्न पाइन् ।
वादी समुदायका बालबालिकाको पढाइमा समस्या भएको थाहा पाएपछि ‘ज्योतीको घर नेपाल’ संस्थाले उक्त समुदायका २९ जना बालबालिकालाई राम्रो शिक्षा दिने भनेर काठमाडौं लग्यो । त्यसमा सिता पनि परिन् । त्यसपछि सोही संस्थाको सहयोगमा उनले काठमाडौंमा बसेर स्नातक तहसम्मको अध्ययन पूरा गरिन् । पछि आफैले राजनीति शास्त्रमा स्नातकोत्तर तहको अध्ययन सकिन् ।
वादी समुदायकी पहिलो सांसद र पहिलो मन्त्री
पढाइ सँगसँगै सामाजिक सेवामा पनि सिताले सक्रियता देखाइन् । सुरुमा आफू रहेको संस्था ज्योतीको घरमा नै बालबालिकाको स्याहार–सुसार लगायतका काम गरिन् । पछि आफैले वादी समुदायका बालबालिकाको पठनपाठन सहितको सेवा दिने भनेर ‘वादी सस्टेन्स मल्टीप्रपोज’ संस्था स्थापना गरेर काम थालिन् । जसबाट ३० जना वादी समुदायका बालबालिकालाई विभिन्न सहयोग गरेको उनी बताउँछिन् । अहिले पनि २० जना बालबालिकालाई संस्थाले हेरिरहेको छ ।
उनलाई राजनीतिमा पनि रुचि थियो । तर सक्रिय रूपमा लागेकी भने थिइनन् । फागुन २१ मा प्रतिनिधिसभा सदस्यको चुनाव हुने भएपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आवद्ध भइन् । पार्टीले उनलाई समानुपातिक सूचिमा समावेश गर्यो । सांसद पनि बनिन् । त्यसपछि उनी मन्त्रीसमेत बन्न सफल भइन् ।
सांसद र मन्त्री बन्दा अझ धेरै जिम्मेवारी बोध भएको उनी सिता बताउँछिन् । ‘सुरुमा त कर्णालीको विकासका लागि काम गर्छु । कर्णालीमा अवसर भएका तर पछाडि पारिएका पक्ष धेरै छन् । त्यस्ता विषय उजागर गर्छु’ उनले भनिन् ।
प्रकाशित मितिः १४ चैत्र २०८२, शनिबार ०५:०५


साझा बिसौनी ।