इनिसा हत्या प्रकरणः आइतवार अदालत पेस हुने
सुर्खेत: १६ वर्षीया इनिसा विक हत्या प्रकरणको मुद्दा अब अदालत जाने भएको छ । प्रहरीले अनुसन्धान टुँग्याएर सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतवारसम्म अदालत पेस गर्ने तयारी गरेको छ ।
दुई साता लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार प्रतिवेदन बुझाएको हो । जसमा घटनास्थलबाटै पक्राउ परेका युवकलाई मुख्य अभियुक्तका रूपमा जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका अन्य तीन जनाको हकमा ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको छ । यद्यपि, प्रहरीले प्रतिवेदनबारे सार्वजनिक रूपमा जानकारी दिन अस्वीकार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको बताए । सबै अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको भन्दै उनले अनुसन्धान प्रक्रिया सकेको अब बाँकी कानुनी प्रक्रिया अघि बढ्ने जनाए ।
प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइसकेको भएपनि मृतकको डिएनए रिपोर्ट, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी सम्बन्धी रिपोर्ट भने आइसकेको छैन । यी रिपोर्ट आएमा इनिसाको मृत्युको कारण स्पष्ट रूपमा खुल्न सक्दछ । तर रिपोर्ट आउन ढिलाई भएको छ ।
प्रहरीले बुझाएको प्रतिवेदन अध्ययन गरेपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र तयार पारेर अदालतमा पेस गर्नेछ । प्रतिवेदन चित्तबुझ्दो नलागेमा कार्यालयले थप अनुसन्धानका लागि फिर्ता पनि गर्न सक्दछ । अभियोगपत्र आइतवार मात्र अदालत पेस हुने सरकारी वकिलको कार्यालय सुर्खेतले जनाएको छ । दुईदिन सार्वजनिक बिदा परेरकाले आइतवार मात्र अदालत पेस गरिने जिल्ला न्यायाधिवक्ता कर्णबहादुर महतले बताए । उनले अब अभियोग तयार गरेर अदालतमा पेस गरिने जनाए ।
घटना फागुन २३ गतेको हो । ट्युसन पढ्न भनेर इनिसा बिहानै घरबाट निस्किएकी थिइन् । तर त्यही दिन उनी वीरेन्द्रनगर–४ स्थित वनमा अचेल अवस्थामा फेला परिन् । उनलाई अस्पताल पु¥याउँदा मृत्यु भइसकेको थियो । घटनामा संलग्न भएको हुनसक्ने आशंकामा प्रहरीले चारजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । चारैजना इनिसासँगै पढ्ने किशोरहरू छन् ।
इनिसाको मृत्युपछि उनको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै आएको छ । न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएको छ । इनिसाको शव २० दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ ।
बढ्दो बलात्कारका घटना
कर्णाली प्रदेशमा पछिल्ला पाँच वर्षमा बलात्कारका घटना बढ्दो क्रममा देखिएका छन् । प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार कर्णालीका दश जिल्लामा पाँच वर्षको अवधिमा आठ सय ५२ वटा बलात्कारका घटना भएका छन् भने बलात्कारपछि आठ जनाको हत्या भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ भानुचोककी २४ वर्षीया रिचा पुन मगरको अपहरणपछि बलात्कार गरी हत्या गरिएको घटना यसैको एक उदाहरण हो । २०७८ साल असोज २६ गते प्यूठानका ४० वर्षीय वीरेन्द्र गिरीले रिचालाई वीरेन्द्रनगरबाटै अपहरण गरी शरीर बन्धक बनाएर बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले रिचाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए । यस्तै सुर्खेतको लेकवेशी नगरपालिका–१ ढावखर्ककी सात वर्षीया मनिषा सुनारलाई स्थानीय तीन जना युवकले सामूहिक बलात्कारपछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गर्नेमा लेकवेशीकै प्रकाश सुनार, सन्तोष सुनार र विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । तीनै जनालाई प्रहरीले अनुसन्धान तथा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रहरी तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १५५, २०७९/०८० मा २०७, २०८०/०८१ मा २०९, २०८१/०८२ मा १७४, २०८२/०८३ मा १०७ वटा बलात्कारका घटना दर्ता भएका छन् भने ६ जनाको बलात्कारपछि हत्या भएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण यस्ता घटनाहरू धेरै समयसम्म लुकेर बस्न नसक्ने हुँदा उजुरीको संख्या बढेको देखिएको छ ।
प्रकाशित मितिः १२ चैत्र २०८२, बिहीबार ०५:०५
साझा बिसौनी ।